कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रौतहटमा आली काटेको निहुँमा एकको हत्या

–दुई दिनमा दुईको हत्या
शिव पुरी

रौतहट — खेतको आली काटेको निहुँमा विवाद हुँदा काठको चिर्पटले हानेर बुधबार एक जनाको हत्या भएको छ । हत्यामा संलग्न एक जना पक्राउ परेका छन् । अन्य दुई फरार छन् ।

गरुडा नगरपालिका–७ भिमडाबर गाउँमा बुधबार जग्गाको विषयलाई लिएर दुई पक्षबीच विवादपछि झडप हुँदा चिर्पटले हानेर ५० वर्षीय फतिंगा ठाकुरको हत्या भएको हो । भिमडाबरका रामअसय ठाकुरले गाउँकै ध्यानी ठाकुर लोहारको खेतको आली काटेको विषयलाई लिएर बिहान दुबै पक्षबीच विवाद भएको थियो । प्रहरीका अनुसार विवाद बढ्दै गएपछि आवेगमा आएका ध्यानी ठाकुर, नागेन्द्र ठाकुर र ज्ञानी ठाकुर समेतले चिरान काठले ५० वर्षीय फतिंगा ठाकुरको टाउकोमा प्रहार गरेका थिए । ध्यानी, नागेन्द्र र ज्ञानी तीनै जना दाजुभाइ हुन् । प्रहरीका अनुसार चिर्पटले लागेर फतिंगा भूइँमा ढलेका थिए ।

इलाका प्रहरी गरुडाका डिएसपी रबी रावलले झडप र मानिस घाइते भएको खबर पाउनासाथ टोली पठाएका थिए । घटनास्थल पुगेर प्रहरीले घाइते फतिंगालाई उपचारका लागि गरुडास्थित सिटी अस्पताल ल्याएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको डिएसपी रावलले बताए । प्रहरीले कुटपिटमा संलग्नमध्ये ध्यानी ठाकुरलाई पक्राउ गरेको छ ।

घट्नास्थलबाट भागेका ध्यानीलाई भिमडाबरस्थित परालको भुसभित्र लुकेको अवस्थामा पक्राउ गरिएको डिएसपी रावलले जनाए । ‘हत्यामा संलग्न अन्य फरारको खोजी भइरहेको छ,’ उनले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

प्रहरीका अनुसार चिर्पट प्रहार गर्ने तीनै जना दाजुभाइले फतिंगाको जमिनलाई आफ्नो भएको दाबी गर्दै आएका थिए । जग्गा विवादले उग्ररुप लिएपछि दुवै पक्षबीच कुटाकुट भएको थियो । मृतकको शव पोष्टमार्टमका लागि गौर अस्पताल पठाइएको छ ।

जिल्लामा दुई दिनयता दुई जनाको हत्या भएको छ । बृन्दावन नगरपालिका ७ सखुवा धमौरा गाउँका विकास पासवानले मदिरा सेवन गरी गाउँकै ५० वर्षीय अमिरि पासवानको हत्या गरेका छन् । घटनापछि प्रहरीले विकास पासवान र विन्द पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सिद्धीविक्रम शाहले बताए । ‘दुबैले मृतक अमिरीलाई गाली गलौजपछि कुटपिट गर्ने क्रममा धकेल्दा लडेर चोट लागेर मृत्यु भएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ उनले भने, ‘दुबैलाई पक्रेर सोधपुछ गरिरहका छौं । सत्यतथ्य चाँडै खुल्छ ।’

सोमबार साँझ अत्यधिक मदिरा सेवन गरेका विकास घर फर्कने क्रममा बाटोमा भेट्टिएका अमिरीलाई गालीगलौज र कुटपिट गर्दै धकेलेर लडाएका थिए । भूइँमा लडेका अमिरीको टाउकोमा गम्भीर चोट लागेको थियो । गरुडास्थित सिटी अस्पतालमा उपचारको क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ । विवाद हुँदा नजिकै रहेका विन्द पासवानसमेत आएर कुटपिट गरेको विकासले प्रहरीसमक्ष बताएका थिए । घटनालगत्तै इलाका प्रहरी कार्यालय गरुडा र प्रहरी चौकी हर्षाहाबाट खटिएको टोलीले दुबैलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनायो ।

प्रकाशित : मंसिर १०, २०७७ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?