इन्जिनियरिङ कलेजको अनियमिततामा न्यौपाने पक्राउ- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इन्जिनियरिङ कलेजको अनियमिततामा न्यौपाने पक्राउ

ठगीको हिस्सा ३ करोड ७१ लाख रूपैयाँ रहेको प्रहरी अनुमान, अझै बढ्न सक्ने
कृष्ण ज्ञवाली

काठमाडौँ — नेपाल इन्जिनियरिङ कलेजमा भएको अनियमितताको योजनाकार मानिएका लम्बोदर न्यौपाने पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले न्यौपानेलाई ठगीको उजुरी अनुसन्धानका सिलसिलामा पक्राउ गरेको हो । अन्य अनियमिततामा पनि मुछिएका उनी नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष हुन्  ।

ब्युरोका प्रमुख डीआईजी सहकुल थापाले रकम हिनामिना गरेको र ठगी गरेर कलेजको सम्पत्ति नोक्सान गरेको आरोपमा परेको उजुरीका छानबिनका क्रममा उनलाई पक्राउ गरिएको बताएका छन् । स्रोतका अनुसार उक्त प्रकरणमा रामरत्न उपाध्याय, उपेन्द्र गौतम, लवराज भट्टराई र कांग्रेस सांसद सूर्यबहादुर केसीविरुद्ध समेत उजुरी परेको थियो । केसी भने केही साताअघि दिवंगत भइसकेका छन् ।

ब्युरोको प्रारम्भिक अनुसन्धानअनुसार ८ करोड २१ लाख रुपैयाँ हिनामिना गरेर ठगेको भेटिएको छ । त्यसमा अरू व्यक्तिको पनि हिस्सा छ । प्रहरीले न्यौपानेले गरेको ठगीको हिस्सा ३ करोड ७१ लाख रुपैयाँ रहेको खुलाएको छ । ब्युरो प्रमुख थापाले अनुसन्धान प्रारम्भिक चरणमा मात्रै रहेकाले बिगोको रकम अझै बढ्ने अनुमान गरिएको बताए । लेखापरीक्षणबाट भने यी आरोपितहरूले २३ करोड १० लाख रुपैयाँ हिनामिना गरेको खुल्छ । न्यौपाने २०५६ सालमा करिब १८ महिना र २०७० देखि २०७५ सालसम्म ५ वर्ष कलेजको अध्यक्ष थिए ।

कसरी बदमासी भयो ?

शिक्षा मन्त्रालय स्रोतबाट कान्तिपुरलाई प्राप्त कागजातअनुसार सामाजिक संस्थाबाट विभिन्न व्यक्तिका नाममा २३ करोड १० लाख २३ हजार रुपैयाँ अनियमित भुक्तानी भएको थियो । ‘जी पौड्याल एन्ड एसोसिएट्स’ नामक चार्टर्ड एकाउन्टेन्सी फर्मले कलेज सञ्चालक तथा पदाधिकारीले गरेको ३३ करोड ७६ लाख ७३ हजार ४९ रुपैयाँ खर्चलाई गैरकानुनी भनेको थियो । त्यसबाहेक विद्यार्थीको धरौटी फिर्ता गरेको भनी २ करोड २२ हजार ५ सय १५ रुपैयाँ खर्च देखाइएको थियो । कलेजको खातामा स्रोत नखुलेको ३१ करोड ८६ लाख ४९ हजार १ सय ६८ रुपैयाँ जम्मा भएको थियो ।

कलेजका तत्कालीन अध्यक्ष न्यौपानेले सबैभन्दा बढी गैरकानुनी रूपमा रकम झिकेका थिए । उनले ८ करोड ५८ लाख रुपैयाँ लेखाको रेकर्डमा रहने गरी रकम निकालेका थिए भने लेखा प्रणालीको सूचनाबिनै ४ करोड ७४ लाख रुपैयाँ झिकेको प्रतिवेदनमा उल्लेख थियो । उनले लिएको गैरकानुनी भुक्तानीको कुल अंक १३ करोड ३२ लाख रुपैयाँ हुन्छ । समग्रमा २३ करोड १० लाख २३ हजार रुपैयाँको अनियमित भुक्तानीमध्ये १२ करोड ३ लाख रुपैयाँ लेखा शाखाको जानकारीमा थियो । ११ करोड ६ लाख रुपैयाँ लेखाको सूचनाबिना निकालिएको थियो ।

न्यौपानेसँग अत्यन्त निकट रहेका सञ्चालक रामरत्न उपाध्यायका नाममा झन्डै ८० लाख रुपैयाँ हिनामिना गरेको आरोप थियो । अर्का सञ्चालक सूर्यबहादुर केसीका नाममा २ करोड १८ लाख रुपैयाँ र लवराज भट्टराईका नाममा २ करोड ४३ लाख रुपैयाँ बेरुजु छ । यस्तै उपेन्द्र गौतमका नाममा १ करोड ७८ लाख रुपैयाँ बेरुजु देखिन्थ्यो । छानबिन प्रतिवेदनमा मुनाफारहित संस्थाका रूपमा स्थापित कलेजमा निजी स्वार्थ हावी रहेको उल्लेख थियो ।

आयुक्तलाई घूस खुवाउने पात्र

नेपाल सरकारको जग्गा भोगचलन गरेर सञ्चालन भएको नेपाल इन्जिनियरिङ कलेजमा भएको अनियमितताबारे सुरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । उजुरी छानबिनको साटो अख्तियारका आयुक्त राजनारायण पाठकले न्यौपानेसँग सम्पर्क अघि बढाए र अनियमितताको फाइल बन्द गरिदिने प्रलोभनमा ७८ लाख रुपैयाँ घूस लिए । घूस लिइसकेपछि फाइल बन्द नगरेपछि विवाद बढ्दै जाँदा रकम लिएको भिडियो बाहिरियो र पाठकले पदबाट राजीनामा दिए । केही महिनामा अख्तियारले पूर्वआयुक्त पाठक र घूस खुवाउने न्यौपानेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्‍यो । विशेष अदालतमा विचाराधीन भ्रष्टाचार मुद्दामा न्यौपाने र पाठक दुवै ७८/७८ लाख रुपैयाँ धरौटी तिरेर थुनामुक्त भएका छन् ।

फर्जी कम्पनीको खेल

तत्कालीन अध्यक्ष न्यौपानेको समूहले नै स्वामित्व हत्याउन सामाजिक संस्था स्थापना गरी त्यसमार्फत सञ्चालन भइरहेको कलेजको नामसँग हुबहु मिल्ने गरी कम्पनी स्थापना गरेको थियो । कम्पनी रजिस्ट्रारको कार्यालयबाट १६८१६०–२०७३/७४ दर्ता नम्बर उल्लेख गरी २०७४ वैशाख २५ गते ‘नेपाल इन्जिनियरिङ कलेज’ नामको प्राइभेट कम्पनी दर्ता गरिएको थियो ।

कम्पनीका सञ्चालक न्यौपानेले निजी कम्पनी भए पनि कलेज सञ्चालन र सम्पत्ति खरिदबिक्रीमा ‘नेपाल इन्जिनियरिङ कलेज’ मात्रै उल्लेख गरिने सूचना कम्पनी रजिस्ट्रारको कार्यालयलाई दिएका हुन् । कलेजको अधिकृत पुँजी १० करोड रुपैयाँ देखाई सञ्चालक न्यौपानेले ७ करोड रुपैयाँको सेयर हालेका थिए ।

दर्ता प्रक्रियामा संलग्न कर्मचारीको नाम भने खुलेको छैन । निजी कम्पनीका रूपमा दर्ता भएको कलेजको प्रबन्धपत्रमा हालको गैरनाफामूलक कलेजको सम्पत्ति हत्याउन खोजेको स्पष्टै देखिन्छ । प्रबन्धपत्रमा ‘यसअघि कम्पनी ऐनअनुसार दर्ता नभई पोखरा विश्वविद्यालयको सम्बन्धनमा मात्र सञ्चालन भएका सम्पूर्ण शैक्षिक कार्य आजको मितिदेखि कम्पनी ऐनअनुसार सञ्चालन भएको मानिनेछ’ भन्ने उल्लेख थियो । प्रबन्धपत्रमा उक्त कलेजले खरिद वा निर्माण गरेका सम्पूर्ण चल/अचल सम्पत्ति स्वतः यस कलेजको हुनेछ’ भनिएको छ ।

उक्त कलेजको लेनदेनसमेत दर्ता भएको कम्पनीको जिम्मेवारीमा सर्ने उल्लेख थियो । कम्पनी दर्ताका क्रममा समेत कम्पनी रजिस्ट्रारको कार्यालयमा मिलेमतो भएको थियो । अन्य कुनै व्यक्तिको सम्पत्ति अब दर्ता हुने कम्पनीको स्वामित्वमा आउने भन्ने व्यवस्थामा सम्बन्धित व्यक्तिको समेत स्वीकृति र उपस्थिति आवश्यक पर्छ । त्यो प्रक्रियाबिनै विवादास्पद विषयवस्तु समावेश भएको प्रबन्धपत्र र नियमावली स्वीकृत गरिएको थियो । स्रोतका अनुसार सर्भर डाउन भएको भन्दै उक्त दिन आवश्यक कागजातसमेत स्क्यान गरी राखिएको थिएन । यो अनियमिततामा संलग्न कर्मचारीमाथि कारबाही नभएको स्रोतले जनाएको छ ।

इन्जिनियरिङ कलेजका लागि कुनै पूर्वाधार र स्रोतसाधन नभएको फर्जी कम्पनी दर्ता भएपछि शिक्षा मन्त्रालयले त्यसलाई आशयपत्र दियो । पूर्वाधार र स्रोतसाधन निरीक्षण नगरी मन्त्रालयका उपसचिव लक्ष्मी खड्काले तयार पारेको प्रतिवेदनलाई उच्च शिक्षा हेर्ने तत्कालीन सहसचिव सूर्य गौतमले सम्बन्धन र मनसायपत्रका लागि सिफारिस गरेका थिए । उनीहरूले भक्तपुरमा सामाजिक संस्थाका रूपमा रहेको नेपाल इन्जिनियरिङ कलेजको निरीक्षण गरेका थिए । त्यही सिफारिसका आधारमा तत्कालीन शिक्षामन्त्री गोपालमान श्रेष्ठले निर्णय गरी आशयपत्र जारी गरेका थिए ।

कलेजले २०७४ साउन २९ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट इन्जिनियरिङ शिक्षाका लागि सम्बन्धन पायो । त्यसका लागि सामाजिक संस्थाको खाताबाट ७ लाख ५० हजार रुपैयाँ निकासा गरी २०७४ असार १८ गते विश्वविद्यालयको खातामा जम्मा गरिएको थियो । उक्त निर्णयमा विश्वविद्यालयका तत्कालीन उपकुलपति उपेन्द्र कोइराला र रजिस्ट्रार महेन्द्र मल्ल जोडिएका थिए । तर यो उजुरीमाथि अख्तियारले छानबिन गरेन किनभने कोइराला अख्तियारका तत्कालीन प्रमुख नवीन घिमिरेका साढुदाइ थिए । विवाद बढेपछि सम्बन्धन खारेज भयो ।

अख्तियारले अनुसन्धान सुरु गर्नासाथ फरार भएका न्यौपाने पछि अदालतमा उपस्थित भएर धरौटीमा छुटेका थिए । उनीलगायत उनको समूहमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत अनुसन्धान गरिरहेको छ । त्यही अनुसन्धानको दायराबाट जोगिन उनी लुक्दै आएका थिए ।

प्रकाशित : मंसिर १०, २०७७ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्

ललितपुर महानगरभित्र तीन ठाउँमा पारदर्शी हरियो बार

पुल्चोक क्याम्पसको उद्घाटन
कान्तिपुर संवाददाता

ललितपुर — ललितपुर महानगरपालिकाले महानगरभित्र तीन ठाउँमा जीर्ण र अग्लो पर्खाल भत्काई पारदर्शी हरियो बार लगाएको छ । जसमध्ये नेपाल इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको पश्चिमतर्फ (मूल सडकपट्टि ) लगाइएको वारको बुधबार महानगरका प्रमुख चिरीबाबु महर्जन र क्याम्पस प्रमुख प्रा. लक्ष्मण पौडेलले संयुक्त रुपमा उद्घाटन गरे ।

आर्थिक वर्ष २०७५/२०७६ को नगर गौरवको आयोजनाअन्तर्गत पुल्चोक क्याम्पस हातामा उक्त वार लगाइएको महानगरले जनाएको छ । ललितपुर महानगरका मेयर महर्जनले क्याम्पस परिसरमा रहेको कलात्मक राणाकालीन पुरानो आनन्द निकेतन दरबार र हरियालीयुक्त बगैंचाको सुन्दरता सबैलाई देखाउन यस्तो बार लगाएको बताए । ‘अग्लो र जीर्ण भवनले सहरको सुन्दरतामा आँच पुगेको थियो,' उनले भने, `भूकम्पको दृष्टिले समेत यी पर्खाल जोखिमपूर्ण थिए ।’पुल्चोक क्याम्पसको यो योजना सम्पन्न गर्नका लागि मूल्य अभिवृद्धि करसहित ५५ लाख २ सय १६ रुपैयाँ लागेको छ ।


उद्घाटन कार्यक्रममा क्याम्पस प्रमुख प्रा. पौडेलले सहरलाई सुन्दर बनाउन अघि सारेको योजनाको प्रशंसा गरे । उनले क्याम्पस परिसरमा रहेको बगैंचालाई अझै व्यवस्थित बनाउने बताए ।

महानगरभित्र अन्य दुई ठाउँ सदर चिडियाखाना अगाडिको फुटबल मैदान वरिपरि करिब एक करोड १२ लाख रूपैयाँ र महालक्ष्मीस्थान नजिकै रहेको राजदल गणसँगैको खेल मैदान वरिपरि करिब ७० लाख रूपैयाँमा र लगाएको महानगर प्रमुख महर्जनले जानकारी दिए ।

प्रकाशित : मंसिर १०, २०७७ १५:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×