कांग्रेस महामन्त्रीको प्रश्‍न- अमेरिकामा चुनाव हुने कांग्रेसको हुन नसक्ने ?- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस महामन्त्रीको प्रश्‍न- अमेरिकामा चुनाव हुने कांग्रेसको हुन नसक्ने ?

नारायण शर्मा

नवलपरासी — नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अमेरिका र बिहारमा निर्वाचन हुने तर नेपाली कांग्रेसको चुनाव हुन नसक्ने अवस्थाले आफू चकित भएको बताएका छन् ।

उनले कांग्रेस सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै नेपाली कांग्रेस पार्टीको निर्वाचन सार्ने नेतृत्वको मनसायले पार्टी जीवन समाप्त हुने बताए ।

हरेक निर्वाचनले परिवर्तन दिने चर्चा गर्दै उनले अमेरिका र बिहारमा सम्पन्न आम निर्वाचनले नेपाली कांग्रेसको अधिवेशन समयमै गर्न सकिन्छ भन्ने सन्देश दिएको सुनाए । पार्टी अधिवेशन कुनै बहानामा पनि सार्न नहुने उनले जिकिर गरे ।

कोरोना अस्थायी अस्पताल रजहर (प्राकृतिक चिकित्सालय)मा आयोजित रेडियो मध्यबिन्दु एफएमको १२ औं वार्षिकोत्सव कार्यक्रममा डा. कोइरालाले उक्त कुरा बताएका हुन् । कार्यक्रममा काेइरालाले चिकित्सालयलाई स्वास्थ्य सामाग्री पनि हस्तान्तरण गरे ।

प्रकाशित : मंसिर ८, २०७७ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्रीसँग सभापति देउवाको भेटलाई सत्ता साझेदारीसँग नजोड्न कांग्रेसको आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सभापति शेरबहादुर देउवाको भेटलाई सत्ता साझेदारीसँग नजोड्न आग्रह गरेको छ । 

लोकतान्त्रिक व्यवस्थालाई सुसंस्कृत बनाउन प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताबीच भेटघाट र संवाद हुनु सकारात्मक भएकाले सत्ता साझेदारीसाग नजोड्न कांग्रेसले आग्रह गरेको हो । पार्टीभित्र द्वन्द चलिरहेका बेला प्रधानमन्त्रीले विपक्षी दलका नेतासाग भेट गरेको विषयमा भइरहेको टिप्पणीलाई लक्षित गर्दै कांग्रेसले अहिले सरकारमा सहभागी हुने कुनै सम्भावना नरहेको बताएको हो ।

शनिबार प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता भएको थियो । सोमबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संसदीय प्रणालीमा प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताको बीचमा हुने भेटघाटका निश्चित विषयवस्तु र कार्यसूची हुनैपर्छ भन्ने नभएको बताए । उनले भने, ‘सामान्यतया संसदीय प्रणालीमा प्रधानमन्त्री र प्रतिपक्षी दलको नेताको बीचमा भेटघाट हुनका लगि यो विषयवस्तु र त्यो विषयवस्तु भनेर सूचीका साथ हुनुपर्छ भन्ने कुरा उचित जस्तो लाग्दैन । लोकतान्त्रीक व्यवस्थालाई सुसंस्कृत बनाउने हो भने निरन्तर भेटघाट र संवाद हुनु राम्रो कुरा हो ।’

उनले प्रधानमन्त्रीले सत्तामा सहभागी गराउने ‘अफर’ कांग्रेसलाई गरेको हो की भन्ने आशंका नगर्न पनि आग्रह गरे । अहिले सरकारमा सहभागी हुने कांग्रेसको रुचीको विषय नभएको प्रवक्ता शर्माको भनाइ छ । जनताले ५ वर्ष प्रतिपक्षी भूमिकामा बस्न आदेश दिएकाले सत्ताका लागि आफूहरु लालयित नभएको उनले बताए ।

उनले नेकपाभित्रको द्वन्दमा आफ्नो पार्टी पुरै निरपेक्ष रहेको समेत बताए । उनले भने,‘५ वर्षका लागि प्रतिपक्षीमा रहने जनादेश छ । हामी सत्ताका लागि लालायित छैनौं । नेकपाभित्रको द्वन्दमा हामी पुरै निरपेक्ष छौं । उहाँहरुको कुनै प्रकारको जोर घटाउ हुँदै गर्दा प्रतिपक्षी टाउको गणना गर्ने काम कतैबाट नहोस भन्ने हो ।’

विगत अढाइ वर्षको अवधिमा कुनै पनि महत्वपूर्ण निर्णय गर्दा पार्टी सभापति एक्लैले नगरेको स्मरण गराउँदै शर्माले पहिले पदाधिकारी तहमा छलफल गरेर केन्द्रिय कार्यसमितिको निर्णय अनुसार अगाडी बढ्ने बताए । भोलिको दिनमा नेकपा एउटै बाटोमा जान्छ भन्ने टुंगो नभएको उल्लेख गर्दै शर्माले भने, ‘उनीहरु एउटा निश्चित टुंगोमा नपुग्दा सम्म नेपाली कांग्रेसले टिप्पणी गरिराख्नुपर्ने, धेरै चासो राख्नुपर्ने र सत्तारुढ दलमा केही द्वन्द भयो भन्दैमा कांग्रेसले सत्ताका लागि खुट्टा उचालिहालेको वा अलिकति उज्यालो अनुहारका साथ सिंहदरबारतिर हेरेको नसोच्न आग्रह गर्दछु ।’

प्रकाशित : मंसिर ८, २०७७ १७:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×