कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालुवाटारमा ओली-देउवा खासखुस

काठमाडौँ — नेकपामा आन्तरिक विवाद चुलिइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दल कांग्रेसका नेता शेरबहादुर देउवाबीच शनिबार भएको भेटघाटलाई लिएर राजनीतिक बजारमा विभिन्न अड्कलबाजी सुरु भएको छ ।

बालुवाटारमा ओली-देउवा खासखुस

प्रधानमन्त्री र विपक्षी दलका नेता भेट्नु नौलो नभए पनि सत्तारूढ दलभित्र विवाद चुलिएका बेला भेट भएको हो । ओली र देउवा पक्षका नेताहरूले भेटबारे स्पष्ट खुलाएका छैनन् । भेटमा नेकपा नेता सुवास नेम्वाङ, कांग्रेस नेता रमेश लेखक पनि सहभागी दिए । उनीहरूले नियमित रूपमा हुने भेटकै निरन्तरता भनेका छन् ।

नेकपा वृत्तमा ओलीले पार्टी फुटिहाल्यो भने देउवासँग सत्ता साझेदारी गर्न कुरा गरेको आशंका गरिएको छ । कांग्रेस वृत्तमा भने नेकपा विवादमा ओलीलाई साथ दिएर संवैधानिक नियुक्तिहरूमा देउवाले हिस्सा लिन खोजेको आशंका गरिएको छ । यसअघि पनि देउवाले संकटमा ओलीलाई ढाडस दिएर आफ्नो दुनो सोझ्याउन गरेको आरोप कांग्रेसभित्रै लाग्दै आएको छ ।

ओलीसँग शनिबार भएको भेटमा बाहिर आएजस्तो सत्ता साझेदारीको विषयमा कुरा नभएको उनका स्वकीय सचिव भानु देउवाले बताए । स्वकीय सचिव देउवाका अनुसार बालुवाटारमा प्रधानमन्त्री ओलीसँग विश्वविद्यालयका उपकुलपति नियुक्तिलगायतका विषयमा कुरा भएको थियो । लामो समयदेखि थाती रहेको संवैधानिक आयोगहरूको नियुक्तिबारे पनि कुराकानी भएको छ ।

ओली र देउवाबीच बाहिर सत्ता साझेदारीसम्मका कुराकानी आएको प्रचार भएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गरेका छन्, ‘भ्रम, कोही कसैलाई छ भने, ५ वर्ष विपक्षमा बस्ने प्रस्ट जनादेश छ कांग्रेसलाई, कुनै पनि भड्कावबाट टाढा छौं, रहनेछौं । नेकपाको द्वन्द्वसँग बिलकुल निरपेक्ष छौं । अतः यता वा उताको जोड–घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस्, सजग गराउँछौं ।’

प्रकाशित : मंसिर ८, २०७७ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?