बलात्कारविरुद्धको कानुन कडा पार्ने अध्यादेश मन्त्रिपरिषद‌्‌बाट पारित- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलात्कारविरुद्धको कानुन कडा पार्ने अध्यादेश मन्त्रिपरिषद‌्‌बाट पारित

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले बलात्कारविरुद्धको कानुनलाई थप कडा बनाउने भएको छ । बलात्कारसम्बन्धी कानुनलाई कडाइ गर्नेसम्बन्धी अध्यादेश मन्त्रिपरिषद् बैठकले पारित गरेको हो ।

मन्त्रिपरिषद्‌को आइतबारको बैठकबाट पारित उक्त अध्यादेश जारी गर्न राष्ट्रपति कार्यालय शीतल निवास पठाइएको एक मन्त्रीले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि बलात्कारसम्बन्धी कानुन कडा बनाउने बताएका थिए ।

कानुन मन्त्रालयले अध्यादेश तयार पारेर मन्त्रिपरिषद्‍मा पेस गरेको थियो । राष्ट्रपतिबाट आजै उक्त अध्यादेश जारी हुन सक्ने पनि ती मन्त्रीले जानकारी दिए ।

प्रकाशित : मंसिर ७, २०७७ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्

रानाथारु बस्तीमा ‘चाकर’ र ‘भर्रा’

भवानी भट्ट

कञ्चनपुर — ६० वर्षीय कालीचरण राना गाउँ डुल्दै खबर सुनाइरहेका थिए– ‘साँझ जिम्दारको घरमा मन्दिरको जग्गा किन्ने विषयमा छलफल छ, आउनुहोला ।’ त्यही खबर सुनेर साँझपख जिम्दारको घरमा गाउँले जम्मा भए । 

गाउँमा कुनै समस्या होस् वा चाडपर्व मान्ने विषयमा छलफल गर्नुपरोस्, कालीचरण यसै गरी कटुवालको काम गर्दै हिँड्छन् । त्यति मात्रै होइन गाउँमा कुनै समस्या पर्दा धामीझाँक्री (भर्रा) बोलाएर झरफुक गराउने काम पनि उनैले गर्छन् । भीमदत्त नगरपालिकाका वडा नं. १४ र १६ मा रहेका नयाँ कटानमा ४० परिवार रानाथारु समुदायको बसोबास छ । यिनै ४० परिवारमा खबर पुर्‍याउने जिम्मा कालीचरणको हो । गाउँलेहरू उनलाई ‘चाकर’ भनेर बोलाउँछन् । ‘दुई वर्षदेखि चाकरको काम गरिरहेको छु,’ कालीचरणले भने, ‘गाउँलेलाई छलफलका लागि बोलाउने र अन्य जानकारी दिने जिम्मा मेरै हो ।’

सञ्चारक्षेत्रको बढ्दो विस्तार र सुविधासँगै रानाथारु समुदायका युवा पुस्ता सबैका हातमा एन्ड्रोइड फोनहरू छन् । सबैका घरमा विभिन्न स्तरका मोबाइल प्रयोग भइरहेका छन् । तर पनि परम्परादेखि चलिआएको चलन निरन्तर छ । युवा पुस्ताले यसको आवश्यकता महसुस नगरे पनि पुरानो पुस्ताले जस्तोसुकै सुविधा आए पनि परम्परा छाड्न नहुने भन्दै चाकर राख्ने चलनलाई निरन्तरता दिइरहेका छन् । ‘अहिले त फोनबाट पनि खबर गर्न सकिन्छ,’ नयाँ कटानका पर्शुराम रानाले भने, ‘परम्परादेखिको चलन भएकाले छाड्न सकेका छैनौं ।’

कालीचरणले चाकरको काम गरेबापत आफ्नो समुदायका हरेक घरबाट वार्षिक १५ किलो धान (खरेक) पाउँछन् । यही नै उनको ज्याला हो । यसबाहेक उनी ज्याला–मजदुरी पनि गर्छन् । कालीचरणका छिमेकी हरिकिसन राना छिमेकी नयाँ गाउँमा भर्राको काम गर्छन् । दुई वर्षअघिसम्म नयाँ कटानकै भर्रा रहेका उनी हाल नयाँ गाउँमा सरेका हुन् । गाउँका कुनै मानिस वा गाईबस्तु बिरामी भए उनी झारफुक गर्छन् । जडीबुटीलगायत औषधीमुलो पनि दिन्छन् । त्यति गरेर पनि निको नभए बिरामीलाई अस्पताल लगिन्छ ।

‘चाकरले खबर गर्नासाथ म गाउँमा गइहाल्छु,’ हरिकिसनले भने, ‘मान्छेदेखि गाईबस्तु सबै झारफुक गर्छु ।’ चाडपर्वका बेला पूजापाठ पनि उनैले गर्छन् । उनी भर्रा भएको भीमदत्त नगरपालिका–१६ को नयाँगाउँमा २९ परिवार रानाथारु समुदायको बसोबास छ । तिनै २९ परिवारको घरमा हुने समस्या समाधानका लागि हरिकिसन दौडिन्छन् ।

भर्राले हरेक परिवारबाट वर्षमा ३० किलोग्राम धान पाउँछन् । चाकरभन्दा बढी खटिनुपर्ने भएकाले उनले बढी धान पाउने गर्छन् । ‘रात–विरात भन्न पाइँदैन,’ हरिकिसनले भने, ‘जति बेला खबर पायो, त्यति बेलै दौडिनुपर्छ ।’ चाकर र भर्राले पाउने धान जिम्दारकै घरमा जम्मा गरिन्छ । त्यसका लागि तोकिएको मितिमा जम्मा गर्न चाकरले नै खबर गर्छन् ।

रानाथारु गाउँमा हरेक वर्ष जेठमा वर्षे पूजापछि चाकर र भर्रा फेर्ने चलन छ । गाउँमा सबैभन्दा विपन्न र आम्दानीको स्रोत कम भएकोलाई चाकर बनाइन्छ । भर्राका लागि भने झारफुक गर्न सक्नेलाई नै छनोट गरिन्छ । समुदायले पुरानै चाकर र भर्रालाई निरन्तरता दिने वा नयाँलाई पनि तोक्न सक्ने हरिसिंह रानाले बताए । ‘बेरोजगारलाई रोजगारी हुने, गाउँमा खबर आदानप्रदान पनि हुने,’ उनले भने, ‘यो हाम्रो पुर्खादेखिको चलन हो ।’

प्रकाशित : मंसिर ७, २०७७ १३:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×