दाहालले नेम्वाङसँग भने–‘एकता जोगाउन मेरो तर्फबाट सकारात्मक भूमिका रहन्छ’- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाहालले नेम्वाङसँग भने–‘एकता जोगाउन मेरो तर्फबाट सकारात्मक भूमिका रहन्छ’

कान्तिपुर संवाददाता

काठमाडौँ — दस दिन सचिवालय बैठक स्थगित गरेर सत्तारुढ नेकपाका नेताहरुले पार्टी विवाद सुल्झाउन फेरि संवाद थालेका छन् ।  शुक्रबार पार्टी मुख्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष पुष्पकल दाहाल र महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङबीच छुट्टाछुट्टै संवाद भएको छ । 

अध्यक्ष दाहालसँग छुट्टै संवाद गरेका नेता नेम्वाङले पार्टी एकताको डोरी चुँडिनसकेको र एकता जोगाउन आफ्नो तर्फबाट सकारात्मक भूमिका रहने बताएको प्रतिक्रिया दिए ।

भेटपछि नेम्वाङले इकान्तिपुरसँग भने, ‘अध्यक्ष प्रचण्डले भेट्न बोलाउनु भएको थियो । मैले सचिवालयमा भएका पछिल्ला घटनाक्रमले कार्यकर्ता, जनतामा चिन्ता छाएको छ । यसलाई मिलाउनु पर्छ । तपाईंहरु दुई अध्यक्षको सहमतिबाट त्यतिबेला सचिवालय हुँदै स्थायी कमिटीबाट एउटा निर्णय भएको थियो । त्यसैलाई कार्यान्वयन गर्दै पार्टीलाई एकढिक्का, एकजुट बनाएर अगाडि बढ्नु पर्‍यो । त्यसको विकल्प छैन भन्ने सुझाव दिएको छु ।’

त्यसपछि अध्यक्ष दाहालले एकता जोगाउन आफूले सकारात्मक भूमिका खेल्न तयार रहेको जवाफ दिएको नेता नेम्वाङले बताए ।

‘उहाँले ठीकै हो म सकारात्मक छु । सचिवालयमा जे जे भएका छन् मेरो विचारमा डोरी चुँडिएका छैनन् । केही प्रश्न भने उठेका छन् । तर, मैले प्रस्तुत गरेको प्रस्तावको अन्तिम जुन निष्कर्ष छ त्यसमा मेरो जोड हो । त्यो निष्कर्षमा डोरी चुँडाल्ने काम गरेको छैन,’ नेता नेम्वाङले भने, ‘एकताको सन्दर्भमा सकारात्मक छु । मेरो तर्फबाट सकारात्मक भूमिका रहन्छ । त्यसरी नै अगाडि जानुपर्छ भन्ने उहाँको भनाइ थियो ।’

नेता नेम्वाङसँग छलफलअघि दाहालले पार्टी मुख्यालयमै महासचिव विष्णु पौडेलसँग पनि संवाद गरेका थिए ।

प्रकाशित : मंसिर ५, २०७७ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्

राउटे युवा दोधारमा

राउटे बस्तीमा कुखुरा, भ्याकुर, खसीबोका, खाद्यान्न र बीउबिजन दिएर सहानुभूति दिने त धेरै आए तर जीविकोपार्जन गर्ने दीर्घकालीन योजना ल्याएर युवालाई आत्मनिर्भर बनाउने काम कसैले पनि गरेन ।
डीआर पन्त

जोगबुढा, डडेलधुरा — डडेलधुराको परशुराम नगरपालिका–१२ मा स्थित जोगबुढा आमपानीका ६/७ जना राउटे युवा चिया पसलमा गफिँदै थिए । उनीहरूसँग कुरा गर्न खोज्दा एकएक गर्दै जुरुक्क उठेर गए । कसैले कुरा गर्न खोज्यो कि राउटे युवा यसरी नै रिसाएर हिँड्छन् ।

‘धेरैलाई अन्तर्वार्ता दिइसकेर थाकेका हुन्,’ तिनैमध्येका हरिसिंह राउटेले भने, ‘जंगलबाट पुनःस्थापना भएपछि राउटे समुदायको तेस्रो पुस्ता पनि हुर्कन थालिसक्यो । अहिले पनि हामीमाथि अचम्मको जन्तु देखे जस्तो व्यवहार हुने गरेको छ ।’

भित्री मधेस क्षेत्रमा पर्ने परशुराम नगरपालिकाका दुई गाउँ आमपानी र रज्यौडामध्ये आमपानीमा मात्र करिब ४० राउटे युवा छन् । उनीहरू प्रायः सबै बेरोजगार छन् । न जीविकोपार्जन गर्ने कुनै सीप छ न खेतीपाती गर्ने जमिन । चार दशकअघि जंगलबाट पुनःस्थापित गराइएपछि जन्मेको यो पुस्ताका लागि समाजको मूल धारमा रहेर जीविकोपार्जन गर्न निकै कठिन भएको छ । हरिसिंहले भने, ‘जंगलमै हुर्केको पुस्ताले लालनपालन गरेर युवा भएका हाम्रासामु पहाड जस्तो जिन्दगी मात्र छ ।’ बुबाआमाले समाजमा पुनःस्थापना भए पनि जंगली युगमै आफ्ना दिन बिताएको उनी बताउँछन् । ‘हामीले न शिक्षा पायौं न त पुस्तैनी सीप सिक्न सक्यौं । पुनःस्थापना हुँदा सरकारले दिएको जग्गाजमिन पनि सकिएपछि हामी युवा यता न उता मझधारमा उभिएका छौं,’ उनले भने ।

जंगलबाट समाजमा पुनःस्थापित भएको चार दशक बितिसक्दा समेत राउटे समुदाय समाजको मूल प्रवाहमा आउन सकेको छैन । राउटे समुदायको युवा पुस्ता समाजसँग राम्ररी घुलमिल त भएको छ तर आर्थिक दुरवस्थाका कारण मूल प्रवाहमा अझै मिसिन सकेको छैन ।

अर्का राउटे युवा प्रेम रजवारकै शब्दमा राउटे बस्तीमा कुखुरा, भ्याकुर, खसीबोका, खाद्यान्न र बीउबिजन दिएर सहानुभूति दिने त धेरै आए तर जीविकोपार्जन गर्ने दीर्घकालीन योजना ल्याएर युवालाई आत्मनिर्भर बनाउने काम कसैले पनि गरेन । ‘पुनःस्थापित हुँदा सरकारले दिएको खेतीयोग्य जग्गा राउटेबाट विभिन्न बहानामा धेरै अगाडि अरूले नै लिइसके । हामी युवा नहुँदै अशिक्षित र अचेतन बुबाआमाबाट कमाइखान सकिने जग्गा अरूले लिइसकेका थिए,’ उनले भने, ‘बुबाआमा र परिवार पाल्नुपर्ने समयमा हामीसँग केही पनि छैन ।’ सरकारले मासिक रूपमा दिने सामाजिक सुरक्षा भत्ताबाहेक आयस्रोतको अन्य विकल्प मजदुरी मात्रै भएको प्रेमले बताए । राउटे समुदायलाई सरकारले प्रतिव्यक्ति मासिक दुई हजार भत्ता दिँदै आएको छ ।

परशुराम नगरपालिकाको केन्द्रदेखि ३ किलोमिटर समदूरीमा रहेका राउटे बस्ती आमपानी र रज्यौडामा सरकारले राउटेका लागि चिटिक्क परेका एकैखाले घर निर्माण गरिदिएको छ । गाउँमै उनीहरूका बालबालिकालाई लक्षित गरी विद्यालय पनि खोलिएका छन् । राउटे गाउँसँगै जोडिएको तराईको कञ्चनपुर जोड्ने दैजी–जोगबुढा राजमार्ग छ । बाहिरबाट हेर्दा कुनै सम्पन्न गाउँजस्तो देखिने राउटे बस्तीको भित्री कथा भने निकै कहालीलाग्दो छ । धेरैजसो राउटे परिवारले बिहानको छाक टारेपछि साँझको छान टार्न समस्या भोगिरहेका छन् । ‘सधैं मजदुरी पाइएन भने भोकभोकै सुत्नुपर्ने बाध्यता रहेको छ,’ प्रेमले भने ।

राउटेको वृत्तिविकासका लागि सरकारी र गैरसरकारी क्षेत्रबाट टुक्राटाक्री रूपमा धेरै कार्यक्रम सञ्चालन गरिए पनि दीर्घकालीन रोजगारका कार्यक्रम हुन नसकेको राउटे युवाको गुनासो छ । हरिसिंह भन्छन्, ‘काठको काम गर्ने परम्परागत सीपलाई नै आधुनिकीकरण गर्न सहयोग भयो भने धेरै युवा आत्मनिर्भर हुन सक्थे ।’ स्थानीय तहले दिने टुक्राटाक्री योजनाका सट्टामा कम्तीमा पनि ६ महिनासम्म सीपमूलक तालिम दिइए सहज रूपमा सीप सिकेर जीविकोपार्जन गर्न सकिने उनी बताउँछन् ।

राटेका दुवै गाउँमा ६० भन्दा बढी युवा छन् । उनीहरूको रोजगार र सीप आधुनिकीकरण गर्न धेरै ठूलो समस्या पनि छैन । प्रायः सबै युवाले सामान्य प्राथमिक तहको शिक्षा पनि पाएका छन् । स्थानीय सामाजिक अगुवा वीरबहादुर ठगुन्नाले भने, ‘युवाले चाहेको सीपको प्रशिक्षण दिएर रोजगारीमा लगाउन स्थानीय तहका लागि पनि त्यति धेरै ठूलो विषय होइन ।’ सीपको आधुनिकीकरणसँगै उनीहरूलाई लक्षित गरी रोजगारको व्यवस्था गर्नसके राउटे समुदायको आउने पुस्ताको पालनपोषण र शिक्षा दिन सहज हुन सक्ने ठगुन्नाको भनाइ छ ।

परशुराम नगरपालिकाका मेयर भीमबहादुर साउद पनि राउटेको विकासका लागि दीर्घकालीन योजना बनाएर काम गर्ने तयारी गरिरहेको बताउँछन् ।

प्रकाशित : मंसिर ५, २०७७ १५:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×