कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१२ वर्षमा १९ किलोमिटर मात्रै कालोपत्र

ज्योति कटुवाल

दैलेख — मध्यपहाडी लोकमार्गको १ सय २६ किलोमिटर भाग दैलेखमा पर्छ । आयोजनाले काम थालेको १२ वर्ष भयो, कालोपत्र जम्मा १९ किलोमिटरमात्रै भएको छ । मुआब्जा र जग्गा विवादका कारण काममा ढिलाइ भएको हो । दैलेख खण्डमा भएको काम देखेर स्थानीय निराश छन् ।

१२ वर्षमा १९ किलोमिटर मात्रै कालोपत्र

लोकमार्गले जिल्लाका ६ वटा स्थानीय तहलाई छुन्छ । अहिलेसम्म दैलेख खण्डमा ४ अर्ब २७ करोड रुपैयाँ खर्च भएको लोकमार्ग निर्माण आयोजनाले जनाएको छ । ‘अधिकांश ठाउँमा ग्राभेलको काम पनि सकिएको छैन,’ भैरवीका गणेश थापाले भने, ‘यस्तै अवस्था रहे अबको २० वर्षमा पनि दैलेख खण्ड कालोपत्र हुँदैन ।’ उनले लोकमार्गमा अधिकांश काम गुणस्तरहीन हुँदा यात्रा सहज बन्न नसकेको गुनासो गरे । अहिलेसम्म जाजरकोट सीमास्थित भगवतीमाई गाउँपालिकाको लोहोरेदेखि मनघरसम्मको १९ किमिमा मात्र कालोपत्रको काम सकिएको आयोजनाले जनाएको छ । २०६४ देखि सडक निर्माण थालिएको हो ।

आयोजनाले ४ वर्षअघि गरेको ग्राभेल निकालेर पुनः ग्राभेल गर्न लागेको स्थानीय पवन केसीले बताए । ‘आलटालमै १२ वर्ष बित्यो, अब कसरी ३० महिनामा काम सकिन्छ ?,’ उनले भने, ‘विभिन्न बहानामा बर्सेनि बजेट खेर गइरहेको छ ।’ उनका अनुसार राजमार्गको अधिकांश खण्ड हिलाम्मे र धुलाम्मे छन् । सामान्य ग्राभेल र नाला मात्र गराएर छोड्दा सवारीसाधन चलाउन तथा यात्रा गर्नै मुस्किल भएको उनले बताए ।

लोकमार्गमा मुआब्जा विवाद र नयाँ ट्र्याक कुन ठाउँबाट लैजाने भन्ने विवाद लामो समयदेखि कायमै छ । सदरमुकामस्थित नारायण नगरपालिकामा देखिएको विवाद अझै हल नभएको आयोजनाका इन्जिनियर मनीष सिंहले बताए । ‘कतै गाउँलेको विरोध छ, कुनै ठाउँमा मुआब्जाको व्यक्तिगत विवाद,’ उनले भने, ‘अवरोधै अवरोधका कारण कालोपत्र गर्ने मिति धकेलिएको हो ।’ उनले जाजरकोटको सुवाडादेखि दैलेखको राकमकर्णालीसम्मको सडक स्तरोन्नतिको कामलाई तीव्रता दिइएको बताए ।

विभिन्न ठाउँमा ग्राभेल गर्ने, मेसिनरी वाल र ग्याबिन जाली भर्ने, सडक चौडा बनाउने, नाला निर्माणलगायत काम भइरहेको उनको भनाइ छ । चालु आर्थिक वर्षमा १ अर्ब ६४ करोड रुपैयाँका १३ वटा ठेक्का खोलिएको आयोजना कार्यालयका प्रमुख अर्जुन बमले बताए । उनका अनुसार यो वर्ष खोलिएका सबै ठेक्काको अवधि ३० महिनाको हो ।

प्रकाशित : मंसिर ५, २०७७ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?