कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वीर अस्पतालका स्वास्थ्यकर्मी एक महिनादेखि आन्दोलनमा

फातिमा बानु

काठमाडौँ — गुणस्तरीय सुरक्षा सामग्री, तलब र जोखिम भत्ताको माग राखेर वीर अस्पतालका स्वास्थ्यकर्मी एक महिनादेखि आन्दोलनमा छन् । न्याम्सअन्तर्गत खटिएका खासगरी ज्यालादारी र करार सेवाका स्वास्थ्यकर्मीले अघिल्लो वर्षदेखि तलब पाएका छैनन् ।

वीर अस्पतालका स्वास्थ्यकर्मी एक महिनादेखि आन्दोलनमा

अस्पतालकै स्वास्थ्यकर्मीले पनि गुणस्तरीय सुरक्षा सामग्री र जोखिम भत्ता नपाएको बताएका छन् । देशभरका मेडिकल कलेज, प्रतिष्ठान, निजी र सामुदायिक अस्पतालमा यस्तो समस्या छ ।

एक महिनादेखि धर्ना दिँदा पनि आफ्ना मागलाई बेवास्ता गरिएको भन्दै वीरका स्वास्थ्यकर्मीले बिहीबार पदाधिकारीलाई अस्पताल प्रवेशमा रोकसमेत लगाएका थिए । स्वास्थ्यकर्मी पालो मिलाएर आन्दोलनमा उत्रिएकाले सेवा भने प्रभावित भएको छैन ।

सुरक्षा सामग्री नदिएकै कारण कोरोना संक्रमणका बिरामीबाट आफू संक्रमित हुनुपरेको र परिवारमा समेत रोग सारेर बस्नुपरेको आन्दोलनरत स्वास्थ्यकर्मीको भनाइ छ । वीरमा हालसम्म करिब पाँच सय स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् । मास्क, पन्जालगायत सुरक्षाका लागि आवश्यक सामग्री आफैं किनेर लगाउनुपरेको नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले बताए । ‘सेवा विस्तार भत्ता, औषधि खर्च, तलब केही दिएको छैन, अस्पतालको आम्दानी नभएको बहानामा तलब काटिएको छ,’ उनले भने ।

उनले भने, ‘विपन्न गरिबको अस्पतालमा चार सय बेड खाली राखेर एक सय बेडमा कोरोनाका बिरामी राखेपछि आम्दानी कहाँबाट हुन्छ त ?’ सेवामूलक संस्थाले नाफा भएन भन्दै स्वास्थ्यकर्मीको तलब काट्न नहुने उनको भनाइ छ । अस्पतालका सबै सेवा सञ्चालन गरेर स्वास्थ्यकर्मी खटाए आफूहरू काम गर्न तयार रहेको उनले बताए ।

विपन्न वर्ग, ज्येष्ठ नागरिक, महिला स्वास्थ्यकर्मी, जनयुद्धका घाइतेको निःशुल्क उपचार कार्यक्रम सञ्चालन हुने अस्पताललाई कोरोना अस्पतालमा सीमित गर्दा बिरामी र स्वास्थ्यकर्मी दुवैलाई मर्का पारेको अध्यक्ष आचार्यले बताए । ‘फ्रन्टलाइनमा खटिएर स्वास्थ्यकर्मी संक्रमणको उच्च जोखिममा छन् । राज्यले उनीहरूको पीसीआर परीक्षण र उपचार निःशुल्क गरेको छैन,’ उनले भने, ‘यस्तो अवस्थामा स्वास्थ्यकर्मीको मनोबल गिरेको छ, पेसा नै छाड्ने मनस्थितिमा समेत पुगेका छन् ।’ एक स्वास्थ्यकर्मी बचाए सयौं संक्रमित बचाउन सकिने भएकाले महामारीका बेला राज्यले उनीहरूलाई बेवास्ता गर्न नहुने उनले बताए । स्वास्थ्यकर्मीलाई गुणस्तरीय सुरक्षा सामग्री दिनुपर्ने, तलब र जोखिमभत्ता नियमित गर्नुपर्ने आन्दोलनरत स्वास्थ्यकर्मीहरूको माग छ ।

नेपाल स्वास्थ्यकर्मी संघलगायत स्वास्थ्यसम्बन्धी अन्य सात संगठनले पनि वीर अस्पतालको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । सबै संगठन एकजुट भएर स्वास्थ्य मन्त्रालय घेर्नेसमेत तयारी रहेको उनीहरूले बताए । आन्दोलनरत स्वास्थ्यकर्मीका माग जायज भए पनि पूरा गर्न नसकिएको वीर अस्पतालका निर्देशक डा. केदारप्रसाद सेञ्चुरीले बताए । दैनिक १३ लाख आम्दानी हुने वीरमा अहिले दुई लाख पनि आम्दानी नभएकाले तलबभत्ता जुटाउन समस्या भएको उनको भनाइ छ ।

‘मन्त्रालयले अड्कलेर बजेट पठाउँछ, त्यही रकमबाट सुरक्षा सामग्री खरिद गर्नुपर्छ, स्वास्थ्यकर्मीको होटलमा क्वारेन्टाइन राखिएको छ, त्यो खर्च पनि चाहियो,’ उनले भने, ‘कोभिड र ननकोभिड दुवै बिरामी हेर्दा पीपीई लगाउनुपर्छ । पीपीई मात्रै दैनिक दुई सयवटा खर्च हुन्छ, भत्ता दिनका लागि बजेट पुगेको छैन ।’

वीरलाई कोभिड अस्पताल मात्रै भनेर सीमित गर्दा अस्पतालको आम्दानी घटेको जनाउँदै उनले अन्य बिरामीका लागि पनि खुला गरिदिने हो भने न्याम्सका स्वास्थ्यकर्मीको आन्दोलनका माग पूरा गर्न सकिने उनको भनाइ छ । वीरलाई कोभिड अस्पताल नै बनाइराख्ने हो भने स्वास्थ्यकर्मीलाई भत्ता दिन पुग्ने गरी सरकारले बजेट पठाउनुपर्ने उनले बताए । वीर अस्पतालमा एक हजार पाँच सय स्वास्थ्यकर्मी छन्, जसमध्ये आधा कर्मचारी न्याम्सबाट खटिएका छन् ।

न्याम्सबाट खटाइएका स्वास्थ्यकर्मीको तलब र भत्ताको जिम्मेवारी मन्त्रालयले नलिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । मन्त्रालयले पठाएको बजेट अस्पतालले व्यवस्थापन गर्न नसकेको र कहिले बजेट फ्रिज गरेको उनले बताए । ‘वीरमा अहिले कोभिडबाहेक अन्य बिरामी कम छन्, बिरामी कम भएपछि स्वास्थ्यकर्मीको कामै छैन, किन सबैलाई तलबभत्ता दिइराख्नुपर्‍यो,’ उनले भने, ‘कोरोनामा खटिने स्वास्थ्यकर्मीका लागि हामीले गनेर बजेट पठाएका छौं, त्यहीबाट मिलाएर आफ्ना कर्मचारीलाई अस्पतालले तलबभत्ता दिनुपर्छ ।’ अस्पतालका निर्देशक सेन्चुरीले भने न्याम्सका कर्मचारीलाई बिदा गरेर अन्य सेवा दिन नसकिने बताए ।

वीर अस्पतालका मात्रै होइन, देशभरका स्वास्थ्यकर्मीले पनि कोरोना जोखिमभत्तालगायत अन्य सुविधा पाएका छैनन् । मेडिकल कलेज, प्रतिष्ठान, निजी अस्पताल र सामुदायिक अस्पतालमा यस्तो समस्या रहेको नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरेले बताए । ‘संस्था धराशायी भए पनि, जे भए पनि संक्रमण ऐनअनुसार महामारीमा स्वास्थ्यकर्मीको सेवासुविधा कटौती गर्नै मिल्दैन, महामारीमा खटिएका स्वास्थ्यकर्मीले तलबकै लागि एक महिना आन्दोलन गर्नु भनेको लज्जास्पद हो,’ उनले भने, ‘यस्तै रहे देशभरका स्वास्थ्य संस्थामा आन्दोलन हुन्छ, काम छोडेर धर्नामा बस्न हामी बाध्य हुनेछौं ।’

समुदायमा संक्रमण फैलिसकेको अवस्थामा पनि सुरक्षा सामग्री कोभिड अस्पतालमा मात्रै पुर्‍याउनु विभेदकारी भएको उनले बताए । ‘अहिले विशेष गरी हेल्थपोस्टलगायत साना स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी बढी जोखिममा छन् । सबैभन्दा पहिले बिरामी पुग्ने ठाउँ पनि त्यही हो,’ उनले भने, ‘सुरक्षा सामग्री दिएका ठाउँमा पनि गुणस्तरीय छैन, दिए पनि एउटै सामग्री धेरै पटक प्रयोग गरिन्छ ।’

नियमअनुसार कोरोना संक्रमितको उपचारका लागि फ्रन्टलाइनमा खटिनेले तलबको शतप्रतिशत भत्ता, दोस्रो लाइनमा खटिनेले ७६ र तेस्रो लाइनमा खटिनेले ५० प्रतिशत भत्ता पाउनुपर्छ । यो लागू नहुँदा देशभरका स्वास्थ्यकर्मी आन्दोलन गर्ने मानसिकतामा पुगेका छन् ।

तस्बिरहरु : केशव थापा

प्रकाशित : मंसिर ५, २०७७ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?