२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नेकपाको किचलोले लोकतान्त्रिक प्रणालीमाथि नै आशंका बढायो : सहमहामन्त्री महत

काठमाडौँ — प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले सत्तारूढ नेकपाको आन्तरिक किचलोका कारण लोकतान्त्रिक प्रणालीमाथि नै आशंका पैदा हुन थालेको बताएका छन् । निर्वाचित भएर आएकाहरूले नै विश्वासघात गरेकाले जनतालाई लोकतान्त्रिक प्रणाली नराम्रो हो भन्ने भ्रम परेको उनको भनाइ छ । 

नेकपाको किचलोले लोकतान्त्रिक प्रणालीमाथि नै आशंका बढायो : सहमहामन्त्री महत

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै सहमहामन्त्री महतले प्रणालीमाथि नै आक्रमण गरेर धमिलो पानीमा खेल्न खोजिए पनि देश त्यो बाटोमा जान नसक्नेसमेत स्पष्ट पारेका छन् ।

‘प्रणालीको कुरा होइन । निर्वाचित भएर आएकाहरूले जनतामाथि विश्वासघात गरेकाले जनतामा प्रणालीको नराम्रो हो कि भन्ने परेको छ । तर त्यो होइन । जनताले अर्को निर्वाचनमा अर्को विकल्प खोज्ने हो,’ उनले भने, ‘सरकार रहँदासम्म सरकारलाई सच्चिनका लागि बाध्य पार्न सबैले आवाज बुलन्द गर्नुपर्छ ।’

महतले सरकार संवेदनशील नबनेका कारण कोरोना महामारी नियन्त्रणबाहिर गएको आरोपसमेत लगाए । ‘सरकार संवेदनशील भएको भए कोभिड सहजै नियन्त्रण गर्न सकिन्थ्यो । सुरुमा आइसोलेसन, क्वारेन्टिन, परीक्षण र अस्पताल सुव्यवस्थित गर्ने सरकारले तयारी गरेको भए यो वर्ष आउने थिएन,’ उनले भने, ‘अहिले सरकार औषधि खरिद र राहत वितरणका रूपमा फाइदा उठाउने अभियानमा लागेको छ ।’

जनतामाथि विश्वासघात गरेर नेकपा नेतृत्वको सम्पूर्ण ध्यान सत्ता कसरी जोगाउने भन्नेमा केन्द्रित रहेको आरोपसमेत महतले लगाए । संघ, प्रदेश र स्थानीय तहका तीनवटै सरकारप्रति जनताको विश्वास टुट्दै गएको उनको दाबी छ ।

‘नेकपाको झगडाले जनतालाई ठूलो असर परेको छ । यो सरकार निर्वाचित भएर आएदेखि नै आन्तरिक सत्ता संघर्षमा नेताहरू देखिन्छन्,’ महतले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओली जसरी भए पनि सत्ता टिकाउने र उहाँको ठाउँमा जान चाहने नेताहरूले त्यहाँ पुग्न गरिरहेको लडाइँले नेपाली जनता मारमा परेका छन् ।’

प्रकाशित : मंसिर ३, २०७७ १३:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?