कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आइसोलेसनमै भाइटीका

लीला श्रेष्ठ

भक्तपुर — विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणले यस वर्षको भाइटीका कयौं दिदीबहिनी/दाजुभाइका लागि सहज भएन । कोरोना संक्रमित दाजुभाइलाई सयपत्री, मखमली फूल र सप्तरङ्गी टीकाले सजाउने सपना धेरैका लागि अधुरो भयो ।

आइसोलेसनमै भाइटीका

तर, नेता तथा सामाजिक अभियन्ता विष्णुराज कार्कीकी दिदीबहिनीको मनले भने संक्रमित भाइको निधार खाली गर्न मानेन । अस्पतालको आइसोलेसनमा स्वास्थ्यलाभ गरिरहेका कार्कीलाई चार दिदीबहिनीले स्वास्थ्य सुरक्षा अपनाउँदै भाइटीका लगाइदिएका छन् । ‘तीन दिदीबहिनीले तेलको धाराले छेक्ने, भाइटीकाको तयारी गर्ने गर्नुभयो,’ उनले भने,‘स्वास्थ्यकर्मी समेत रहेकी बहिनीले भने पीपीई लगाएरै सप्तरङ्गी टीका र फूलको माला लगाई दिइन् ।’ सहज अवस्थामा जस्तो समय लगाएर टीका नगलाए पनि भाइटीकाकै साइतमा विधि पुर्‍याएर टीका लगाएको उनले बताए । ‘चिकित्सककै सल्लाहमा स्वास्थ्य सुरक्षा अपनाएर दिदीबहिनीको हातबाट दीर्घायूको आशीर्वाद लिएँ,’ उनले भने ।

ज्वरो, सुख्खा रुघाखोकी, शरीरमा दुखाई बढ्दै गयो । शरीरमा अक्सिजनको मात्रा घट्यो । कोरोना भाइरस संक्रमितको दर उच्च भइरहेको अवस्थामा सूर्यविनायक नगरपालिका–३ बालकोट निवासी कांग्रेसका नेता कार्कीलाई पनि कोरोनाको शंका लाग्यो । मध्यपुर अस्पतालका अध्यक्षसमेत रहेका कार्की ज्वरो खप्न नसकेर १० दिनअघि अस्पताल आइपुगे । मध्यपुर अस्पतालका चिकित्सकले निमोनिया भएको र आइसीयूमा उपचार गर्नुपर्ने सुझाए । कोरोना संक्रमण परीक्षणका लागि पीसीआर गरियो । रिपोर्ट पोजिटिभ आयो । निमोनिया भइरहेको अवस्थामा कोरोना संक्रमण पुष्टि भएपछि कार्कीको मनमा भयले बास गर्‍यो । ‘भेन्टिलेटरमा उपचार गर्नुपर्ने हुनसक्ने आशंकामा चिकित्सकले भेन्टिलेटरको तयारी गर्न थाले,’ उनले भने, ‘मनमा डर बढ्यो । धन्न दुई दिनको आईसीयू कक्षको उपचारपछि स्वास्थ्यमा नसोचेको सुधार आयो ।’

अस्पतालको ‘कोभिड वार्ड’ को आइसोलेसनमा स्वास्थ्यलाभ गरिरहेका कार्कीको स्वास्थ्यमा सुधार भइसकेको छ । कोरोना भाइरसको उच्च जोखिमको अवस्थामा स्वास्थ्य सुरक्षा अपनाउँदै सामाजिक दुरी कायम गर्दै हिन्दुहरुको चाड बडादशैंको दौडधूप, नित्यपूजा लागेका उनलाई कुन बेला कोरोना भाइरसले छोयो पत्तो भएन । उनको परिवारमा थप दुई जना कोरोना संक्रमित छन् । उनीहरु होम आइसोलेसनमा स्वास्थ्यलाभ गरिरहेको उनी बताउँछन् ।

पाँच वर्षको नातीलाई मामाघर र ७० वर्ष कटेकी आमालाई संक्रमणको जोखिमबाट बचाउन अर्कै घरमा राखेको उनले बताए ।

प्रकाशित : मंसिर २, २०७७ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?