कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुर्घटनाको डिलमा नेकपा

दाहालको दस्ताबेज औपचारिक रुपमा पार्टी विभाजनका लागि आएको बालुवाटारको विश्लेषण
दुर्गा खनाल

काठमाडौँ — तीन वर्षअघि विपरीत ध्रुवमा रहेका तत्कालीन एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धनसहित पार्टी एकताको सैद्धान्तिक सहमति भएको थियो । त्यो सहमतिका मुख्य योजनाकार थिए– केपी शर्मा ओली र पुष्पकमल दाहाल ।

दुर्घटनाको डिलमा नेकपा

त्यही सहमतिको जगमा ‘कमान्ड’ गरेर उनीहरूले प्रतिनिधिसभा र प्रदेशसभामा दुई तिहाइ मतसहित गठबन्धनलाई जिताए र पार्टी एकता पनि गरे । एकताका क्रममा उनीहरूले आफूहरूलाई जेट विमानका दुई क्याप्टेनको संज्ञा दिएका थिए । तर उनीहरूले हाँकेको नेकपाको जेट उनीहरूकै व्यक्तिगत महत्त्वाकांक्षा र कार्यशैलीका कारण ‘पिक अप’ नलिँदै ‘क्रयास’ हुन लागेको छ ।

दुई अध्यक्षबीच बिहीबार र शुक्रबार आदानप्रदान भएका आपसी ‘आरोपपत्र’ र दाहालका नाममा सचिवालय बैठकमा पेस भएको एकल दस्ताबेजले नेकपालाई दुर्घटनाको डिलमा पुर्‍याएको छ । यसअघि पोहोर मंसिर, गत वैशाख र असारमा पनि अन्तरसंघर्ष चुलिँदा एकीकृत पार्टीको भविष्यमाथि आशंका नउब्जिएको होइन, तर विगतमा भन्दा पछिल्लो घटनाक्रम भिन्न र दुर्घटनाउन्मुख छ ।

यसअघि मौखिक रूपमा एकअर्काप्रति आरोप–प्रत्यारोप हुने गरेकामा यस पटक लिखित दस्ताबेजकै रूपमा आएको छ । कम्युनिस्ट पार्टीको इतिहासमा जब एकअर्काप्रतिको आक्षेप व्यक्तिगत र तल्लो तहमा झर्न थाल्छ, पार्टी फुटेका उदाहरण छन् । त्यसैले यस पटक ओली र दाहालबीचको अन्तरसंघर्ष कम्युनिस्ट फुटको इतिहास सम्झाउने गरी प्रकट भएका छन् । विगतका धेरै चरणका अन्तरसंघर्षलाई व्यवस्थापन गरेको गत भदौ २६ को स्थायी कमिटी बैठकले नेकपालाई गति दिने अपेक्षा थियो । तर त्यही स्थायी कमिटीको निर्णय कार्यान्वयन गर्ने विषयमा अर्को अन्तरसंघर्ष चुलिँदा ओली र दाहाल लिखत रूपमा व्यक्तिगत आक्षेप लगाउने तहमा पुगेका हुन् । सचिवालयका बहुमत सदस्यको बलमा अध्यक्ष दाहालसहितका असन्तुष्ट नेताहरूले बैठक बोलाउन माग गर्दै ओलीमाथि गत साता लिखित पत्र बुझाए ।

त्यही पत्रको जवाफमा ओलीले बिहीबार दाहालले जिम्मेवारीअनुसार काम नगरेको उल्लेख गर्दै नयाँ पुस्तालाई अब नेतृत्व दिनुपर्ने प्रस्ताव गरेका थिए । ओलीको पत्रको जवाफमा दाहालले ‘इनफ इज इनफ’ भन्ने शब्द मात्र उल्लेख गरेका छैनन्, यस्तो स्थिति क्षम्य हुन नसक्ने भन्दै चेतावनी दिएका छन् । ओलीमाथि दाहालले राजनीतिक कार्यक्रम, घोषणापत्र र पार्टीको मार्गनिर्देशन अबज्ञा गरेको आरोप लगाएका छन् । जुन आरोप लगाउने हैसियत दाहालमा नरहेको ओली निकटहरूको बुझाइ छ ।

दाहालले सचिवालय बैठकमा ओलीमाथि आरोपित गर्दै १९ पेजको प्रतिवेदन पेस गरेपछि बालुवाटारमा त्यसको प्रारम्भिक समीक्षा भएको छ । स्रोतका अनुसार ओलीले दाहालको कदमविरुद्ध आफूले अर्को कठोर कदम चाल्ने बताएका छन् । तर कदम के हुन्छ खुलाइएको छैन ।

शुक्रबार सचिवालयमा पेस भएको दस्ताबेज दाहालको नामबाट आए पनि यसभित्र नेकपाका असन्तुष्ट नेताहरूका धारणासमेत समेटिएका छन् । असन्तुष्ट नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठले पनि अहिले दाहालले जे–जे विषयमा ओलीमाथि आक्षेप लगाएका छन् ती विषयबारे सार्वजनिक रूपमा बोल्ने गरेका थिए । यो दस्ताबेज आउनुअघि पनि दाहालले व्यक्तिगत रूपमा उनीहरूसँग छलफल गरिरहेकै थिए ।

त्यसैले ओलीविरुद्ध दाहालबाट व्यक्त आरोपमा उनीहरूको पनि धारणा कतै न कतै समेटिएको छ । उनीहरूसमेतको ढाडसमा दाहालले दस्ताबेज पेस गर्ने आँट गरेका हुन् । दाहाल र नेपालनिकट एक नेताका अनुसार ओलीको स्वेच्छाचारी कार्यशैलीले हद नाघेपछि पार्टीभित्र छलफलको विषय बनाउने गरी दाहालले दस्ताबेज ल्याएका हुन् । तर फुटका लागि भन्दा पनि पार्टीभित्र वैचारिक बहस होस् भन्ने ढंगले यो दस्ताबेज पेस गरिएकाले यसबाट आत्तिन नहुने ती नेताको तर्क छ । तर ओलीनिकट नेताहरू आरोपै आरोपले भरिएको दस्ताबेज पार्टीभित्र कुनै छलफलको एजेन्डा बन्न नसक्ने बताउँछन् । बरु बालुवाटारमा दाहालले पेस गरेको यो दस्ताबेज औपचारिक रूपमा पार्टी विभाजनका लागि आएको विश्लेषण गरिएको छ ।

दाहालले सरकारका कुनै पनि कामलाई जस दिएका छैनन् । भारतले अतिक्रमण गरेको नेपालको भूमि जोडेर नक्सा जारी गरेको विषयमा समेत दाहालले ओलीलाई नै दोषी देखाउन खोजेका छन् । यो हदसम्म आरोपित गर्ने कुराले अब एउटै पार्टीका रूपमा अघि बढ्ने ढोका साँघुरिँदै गएको ओलीपक्षीय नेताहरूको बुझाइ छ । दाहालको दस्ताबेज सचिवालयका सदस्यहरूलाई अध्ययनका लागि भन्दै वितरण गरिएकाले नेताहरूले औपचारिक रूपमा बोलेका छैनन् ।

ओली र दाहालबीचको यो झगडा र यसभित्र अभिव्यक्त शब्दको भाव हेर्दा एकअर्काबीच विधि–पद्धतिभन्दा पनि पद प्रतिष्ठा र कार्यशैलीका समस्या ज्यादा छन् । दुवैले एकताको ‘स्पिरिट’ लाई नबोकेको र एकअर्कामध्ये को शक्तिशाली भन्ने अहम्ले नै विवाद यो तहमा आइपुगेको दस्ताबेजमा झल्किन्छ । विगतमा कम्युनिस्ट पार्टीमा यस्ता विवाद निरूपण गर्नका लागि एकअर्काले आत्मसमीक्षा र आत्मआलोचना गरेका उदाहरण पनि छन् । तर ओली र दाहाल दुवैको शैली आत्मआलोचनाभन्दा आफ्नो निर्णयमा अरूलाई हिँडाउन जोरजबर्जर्स्ती गर्ने खालको छ । त्यसैले अबका बैठकमा दाहालले ओलीमाथि आरोप लगाउँदै पेस गरेको दस्ताबेजमा छलफल गराउने कोसिस गर्न सक्छन् । आफैंविरुद्धको दस्ताबेज पार्टीको बैठकमा औपचारिक छलफल गराउन ओलीले कुनै हालतमा चाहँदैनन् ।

त्यसैले योबीचमा मध्यमार्गी भूमिका खेल्ने नेताहरूले गर्ने पहल कस्तो हुन्छ, त्यसैमा पार्टी कसरी अघि बढ्छ भन्ने निर्भर हुनेछ । त्यस्तै ओलीविरुद्धको गठबन्धनमा सामेल भए पनि पार्टी फुटको अवस्थाबाट जोगाउन वरिष्ठ नेता नेपालको निर्णायक भूमिका के हुन्छ, त्यसमा पनि नेकपाको ठूलो पंक्तिले उनीमाथि नजर लगाइरहेको छ । किनकि फुटको अवस्था आयो भने नेपालले ओली कि दाहालको पक्ष लिन्छन्, त्यसले निकै ठूलो अर्थ राख्छ । ओली र दाहालबीचको दूरी घटाउने र पछिल्लो आरोप–प्रत्यारोपको पत्राचारलाई सहजीकरण र समन्वय गर्ने कोही निस्केन भने डिलमा पुगेको नेकपाको एकता दुर्घटनामा परे आश्चर्य हुनेछैन ।

प्रकाशित : कार्तिक २९, २०७७ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?