कक्षा १२ को परीक्षा तयारी पूरा, परीक्षार्थीले आफू पढेकै विद्यालय केन्द्र रोजे- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कक्षा १२ को परीक्षा तयारी पूरा, परीक्षार्थीले आफू पढेकै विद्यालय केन्द्र रोजे

गणेश राई

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डको आगामी मंसिर ९ गतेबाट १६ गते हुने कक्षा १२ को परीक्षा तयारी पूरा भएको जनाएको छ । परीक्षामा सबैगरी १ सय १५ विषयको जाँच लिइनेछ । 

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले परीक्षार्थीले आफ्नो पायक पर्ने ठाउँबाटै जाँच दिलाउन बोर्डलाई निर्देशन दिएका थिए । तर परीक्षार्थीको उत्तरपुस्तिका क्षेत्रीय बोर्डमा जाँचिने र प्रयोगात्मक परीक्षा दिन सम्बन्धित विद्यालयमै पुग्नु पर्ने भएपछि विद्यार्थी आफूले पढेको विद्यालय नै रोजेका छन् । गत वैशाख ८ गतेबाट हुनुपर्ने कक्षा १२ को परीक्षा कोभिड–१९ का कारण रोकिएको थियो ।

परीक्षाको तयारी पूरा भएको परीक्षा बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले बताए । परीक्षार्थी संख्या ४ लाख ३ हजार १ सय ८० जना रहेका छन् । तीमध्ये १२ हजार ४ सयभन्दा बढी परीक्षार्थीले आफूलाई पायक पर्ने विद्यालयबाट परीक्षा दिन आवेदन दिएको अर्यालले जनाए । ‘सबैभन्दा राम्रो आफू पढेकै विद्यालयबाट जाँच दिनु सहज हुन्छ,’ अर्यालले भने, ‘पायक पर्ने विद्यालय केन्द्रबाट जाँच दिंदा उत्तरपुस्तिका हराउने, हाजिरी, प्राप्तांक, रजिस्ट्रेसन नम्बर, सिम्बोल नम्बरजस्ता पक्षमा गडबडी भएमा विद्यार्थीले दु:ख पाउँछन् । त्यसैले भरसक आफ्नै विद्यालयबाट परीक्षा दिनु उपयुक्त हुन्छ ।’ देशभरि ११ र १२ कक्षा पढाइ हुने ४ हजार १ सय ५ विद्यालयमा परीक्षा केन्द्र (होम सेन्टर) तोकिएको छ ।

‘हामीले कक्षा ११ को आंशिक परीक्षा कलेजमै लियौं,’ ललितपुरका आइन्सटाइन एकेडेमीका प्राज्ञिक संयोजक यामनाथ भण्डारीले भने, ‘कक्षा १२ को नियमित परीक्षार्थीलाई प्रवेशपत्र वितरण गरिसक्यौं । प्राक्टिल परीक्षा दिन कलेजमै आउनु पर्ने भयो । त्यसैले उपत्यका बाहिर रहेका अधिकांश विद्यार्थी प्रवेशपत्र लिएर गए पनि फेरि आफ्नै कलेजमा आउने भएका छन् ।’ परीक्षाका निम्ति होम सेन्टरको ‘सिट प्लानिङ’समेत गरिसकेको उनले जनाए ।

बोर्डले ‘माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) को विद्यार्थी मूल्यांकन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरणसम्बन्धी कार्यविधि, २०७७’ जारी गरेको छ । त्यसअनुसार यो पटक पढेकै विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । सम्बन्धित विद्यालयको प्रधानाध्यापक परीक्षा केन्द्रको केन्द्राध्यक्ष रहन्छ । उपत्यका बाहिर वा टाढा रहेका परीक्षार्थीले सक्कल प्रवेशपत्र लिएर आफू नजिकको विद्यालयको परीक्षा केन्द्रबाट जाँच दिन पाउँने व्यवस्था छ । ती परीक्षार्थीको उत्तरपुस्तिका बोर्डको सम्बन्धित कार्यालयमार्फत जाँचिने छ ।

यो परीक्षाको सैद्धान्तिक अङ्कभार ४० प्रतिशत र आन्तरिक मूल्यांकन २० प्रतिशत कायम गरिएको छ । सम्बन्धित विद्यालयले आफ्नो विद्यार्थीको परीक्षा लिएर विषय शिक्षकले उत्तरपुस्तिका जाँच्न पाउने छन् । कार्यविधिअनुसार जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गर्ने गरी प्रत्येक विद्यार्थीको कम्तिमा २/२ मिटरको दुरी कायम गरी एउटा परीक्षा हलभित्र बढीमा २० परीक्षार्थी राख्न सक्ने छन् । स्थानीय तह, स्वास्थ्य संघ संस्थाहरूसँग समन्वय गरी ‘हेल्थ डेस्क’को व्यवस्था गर्नुपर्ने छ ।

प्रकाशित : कार्तिक २७, २०७७ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्

ट्रम्प पराजयका पाठ

लोकतन्त्रमा जनता अत्यन्तै चनाखा हुन्छन् । यसमा कसो न कसो सामूहिक विवेकले काम गरिरहेको हुन्छ । अतिवादलाई केही मानिसले एउटा हदसम्म सहे पनि सबै मानिसले सधैं सहँदैनन् । 
श्रीकृष्ण अनिरुद्ध गौतम

काठमाडौँ — संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि ह्वाइट हाउसको उच्चासनमा बस्ने अनुमति पाएनन् । २० जनवरी २०२१ मा उनी राष्ट्रपति निवासबाट बाहिरिने र त्यो स्थानमा राष्ट्रपति–निर्वाचित (प्रेजिडेन्ट–इलेक्ट) जो बाइडेन अर्थात् जोसेफ आर बाइडेनको पदस्थापन र प्रवेश हुनेछ ।

नियमानुसार बाइडेन भित्रिनु र ट्रम्प बाहिरिनुपर्नेछ । तर यी हरफ लेखिँदै गर्दाको बेलासम्म ट्रम्पले आफ्नो पराजय स्विकारिरहेका छैनन् । अमेरिकामा राष्ट्रपति बनेको व्यक्ति एकै कार्यकालमा बाहिरिने घटना विरलै हुन्छ तर चुनाव हारेर पनि हार नस्विकार्ने धृष्टता सन् १८००–०१ ताका त्यहाँका दोस्रा राष्ट्रपति जन एडम्सले गरेका थिए । त्यसयता पनि असन्तुष्टिका अवसर नआएका होइनन् तथापि परिणाम प्रस्टै हुँदासमेत हार नस्विकार्ने अशोभनीय कार्य यसरी उद्दण्डतापूर्वक अरूले गरेका थिएनन् । ठूलै विवाद हुँदा न्यायालयले निरूपण गरेका प्रसंगहरू नभएका होइनन् । तर जबर्जस्ती नै गर्ने हदसम्मको घटना एडम्सपछि भएको थिएन भनिन्छ । त्यसैले यसपाला २२० वर्षपछि ट्रम्पबाट एडम्स शैलीकै जबर्जस्ती हुन सक्ने आशंका गरिँदै छ । यद्यपि आशा गरौं, पद हस्तान्तरणको मितिसम्ममा ट्रम्पमा सद्बुद्धिको उदय हुनेछ ।

हेर्दा–बुझ्दा के लाग्छ भने, ट्रम्पलाई आफू हार्छु भन्ने फिटिक्कै लागेको थिएन । त्यसैले पराजय प्रस्टै हुँदा पनि अझै उनी हार स्विकार्न सकिरहेका, मानिरहेका छैनन् । उनी आफू विजयी हुनेमा ढुक्क थिए, भलै त्यो उनको कल्पनाकै विजय किन नहोस् । निश्चय नै तानाशाहीमा यस्ता मानिस मनग्गे हुन्छन्, लोकतन्त्रमा विरलै । तिनै विरलैमध्ये ट्रम्प पर्न गएका छन् । त्यसैले उनले परिणाम स्विकार्न सकिरहेका छैनन् । साथै के पनि मननीय छ भने, लोकतन्त्रलाई जीवनमूल्यका रूपमा आत्मसात् नगरेका छद्मवेशी जनोत्तेजकहरू हारेको जनादेश सहज स्विकार्दैनन् । आफूले जित्दा मात्र परिणाम स्विकार्ने गर्छन्, त्योचाहिँ तिनका लागि निःशंक सही हुन्छ तर हार्‍यो कि गलत । हार्‍यो कि त्यसमा धाँधली देख्छन् । यद्यपि अमेरिका जो आफैं लोकतन्त्रको मार्गदर्शक हो, त्यहीँ यस्ता क्रियाकलाप हुँदा उदेकै चकित हुनुपर्ने अवस्था उपस्थित भएको छ, तर गर्ने के ? किनभने देश जतिसुकै उन्नत भए पनि उद्दण्ड व्यक्ति–प्रवृत्तिले पद्धतिलाई नै नराम्री बदनाम गरिदिन्छन् । बदनाम गरिदिन्छन्, किनभने हारेर पनि हार नस्विकार्ने ट्रम्पका क्रियाकलाप त्यतै उन्मुख छन् र यसले अमेरिका मात्र होइन, विश्वभरका जनोत्तेजक नेताहरूलाई प्रोत्साहित गर्ने सम्भावना पनि त्यत्तिकै छ ।

ट्रम्प जर्ज बुस सिनियरपछि पहिलो कार्यकालमै बाहिरिने अर्को राष्ट्रपति बन्न पुगेका र एक्काइसौं शताब्दीका अमेरिकी राष्ट्रपतिहरूको लिस्ट बन्दा राष्ट्रपति पदबाट उनी नै एक कार्यकालमा बाहिरिने शताब्दीकै पहिलो व्यक्तिका रूपमा चिनिनेछन् । यसले पनि उनलाई नराम्ररी पोलेको हुन सक्छ । अहंकारीहरूलाई प्रायः यस्ता विषयमा असह्य हुने गर्छ । प्रायशः ट्रम्प प्रवृत्तिका मानिसमा यस्तो रोग बिछट्टैसित हुन्छ । अर्थात्, आफ्नो नाम लगातार दोस्रो कार्यकालको अनुमति नपाउने नामहरूको लाममा दर्ता हुन पुगेको यथार्थ उनी सहन सकिरहेका छैनन् । साथै के पनि स्मरण रहोस् भने, यस प्रवृत्तिका मानिस पराजयमा आफ्नै मुख्य भूमिका रहेको स्विकार्दैनन् । पराजयमा प्रमुख अरू होइन, कारक आफैं हो भन्ने मान्नै चाहँदैनन् । कसले भन्दिने ट्रम्पलाई, चार वर्ष लामो आफ्नै उपद्रोका कारण जनताले उनलाई अस्वीकार गरेर दण्डित गरेका हुन् ! जस्तै, जोसुकैले भने पनि उनी मान्ने होइनन् । मनाए, समयले नै मनाउँछ ।

म यहाँ ट्रम्प पराजयको चर्चा अमेरिकी चुनाव परिणाममा मेरो अभिरुचि भएर मात्र गरिरहेको छैन, बरु परिणामले दिएको सन्देशमाथि नेपाली नेताहरूले मनन गरून्, दलहरूका कार्यकर्ता र सदस्यहरूले स्वयंतिर फर्केर हेरून् भनेर गरिरहेको छु । यस पालाको अमेरिकी राष्ट्रपति निर्वाचनको सन्देश लोकतन्त्रमा जनता अत्यन्तै चनाखा हुन्छन् भन्ने हो । यसमा कसो न कसो सामूहिक विवेकले काम गरिरहेको हुन्छ । अतिवादलाई केही मानिसले एउटा हदसम्म सहे पनि सबै मानिसले सधैं सहँदैनन् । जनताले नेताका काम हेर्छन् । अनुहारको भावभंगिमा हेर्छन् । नेताका सल्लाहकार, सहयोगी, साथी–संगातीको प्रवृत्ति हेर्छन् । दलविशेषका व्यवहार हेर्छन् र निर्णय गर्छन् । जनता नेताका कारिन्दा होइनन् । कारिन्दा ठान्नु हुँदैन । ठाने ठान्नेकै हकमा दुःखदायी हुन्छ । परिणाम कति दुःखदायी हुन्छ भन्ने साक्षात् हेर्न, सुन्न, बुझ्न अमेरिकी घटना ताजै छ ।

हुन त त्यस्तो यहीँ नेपालमै पनि भइरहेको छ । भारतीय कांग्रेसलाई हेरिरहनै परेन, आजको नेपाली कांग्रेसलाई नै हेर्नुहोस् । पार्टीको यस्तो दुर्दान्त, दयनीय अवस्था हुनामा आफू कारक रहेको स्विकार्न यसका सभापति शेरबहादुर देउवै तयार छैनन् । यसका वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टीको बागडोर लिन आफू असमर्थ भएको मान्न तत्पर छैनन् । आलोचनात्मक शैलीमा सुझाव–सल्लाह दिनेप्रति नै बरु क्रुद्ध हुन्छन् तर आफ्ना कमी सच्याउन मान्दैनन्, स्विकार्दैनन् । त्यस्तै, त्यसभन्दा पनि बढी दुर्दान्त र दुस्सह हालत हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को छ । त्यसभित्रको एक थरी हूल प्रधानमन्त्री केपी शर्मा ओलीलाई निरन्तर घेराबन्दी गरेरै आफू हुनुको औचित्य सिद्ध गर्न तल्लीन छ एकातिर भने, अर्कातिर ओली आफू देशको सर्वाधिक शक्तिशाली पदमा हुँदा विनम्र हुनुपर्छ भन्ने नै मान्दैनन् । विनम्रता प्रधानमन्त्रीको सर्वाधिक शक्तिशाली सम्मोहन हो । तर उनी विनम्रता परित्याग गर्दै अहंकारको भुजंग धारण गरेर बसेका छन् ।

हेर्दै जानुहोला, अहिले सत्तापक्षीय शक्तिमा बसेका होऊन् अथवा प्रतिपक्षका सबल स्थानमा, उनीहरूले अहिले प्रदर्शन गरेको अहंकार निर्वाचनमा मज्जाले फल्छ । अहिले लोकप्रति, आफ्ना शुभचिन्तक मित्रहरू र सहयात्रीसँग गरेको व्यवहारको पुरस्कार अथवा दण्ड निर्वाचनले दिन्छ, ट्रम्पलाई अमेरिकामा त्यहाँका जनताले पद्धतिमार्फत दिएजस्तै । त्यसैले कहिल्यै कसैले पनि जनता राजनीतिज्ञका अधीन छन् भन्ने धृष्टता गर्नु हुँदैन । लोकतन्त्रमा जनता हमेसा स्वतन्त्र हुन्छन् । लोकतन्त्रमा जनता सार्वभौम हुन् र उनीहरूले आफ्नो सार्वभौम अधिकारको प्रयोग मतदानद्वारा गर्छन् । यसकारण ख्याल रहोस्, जनताको विवेक नेताविशेषको सनक र पार्टीविशेषको बन्धक हुँदैन । विगतमा पाएको अभिमत अद्यापि यथावत् छ भन्ने मानेर जनताको अवमूल्यन गर्नु हुँदैन । नेताहरूको व्यवहारअनुसार अभिमत बदलिइरहेको हुन्छ ।

पराजयपछि दस बहाना बताइन्छन् । जस्तै : ट्रम्प हार्नुको दोष कोरोना भाइरसमाथि पनि थोपरिँदै छ । तर दोष उनको असंगत कार्यशैलीको हो । साथसाथै सन् २०१६ मा उनी राष्ट्रपति निर्वाचित भएदेखि नै नानाथरी आरोप लगाउनेहरूका अनेकानेक झुन्डहरू सक्रिय रहेर दुष्प्रचार गरेका कारणसमेत उनी हारेका हुन् भन्नेहरूको संख्या निश्चय नै उल्लेख्य छ । यी बहाना मात्रै हुन् र बहाना यस्ता अनेकन् हुन सक्छन् । तर यथार्थ के हो भने, उनी आफ्नै चरम अहंकारका कारण हारेका हुन् । अचम्म त के छ भने, माथि भनिएझैं, हारे पनि उनले हार स्विकारेका छैनन् । आफैं मपाईं बन्ने उनको स्वभाव, प्रणालीमाथि गरिएको निरन्तरको प्रहार र बेइमानीका कारण हारेका हुन् र हारेपछि परिणाम नस्विकारेर उनले प्रणालीको मर्यादाकै अवमूल्यन गरिरहेका छन् ।

ट्रम्प त्यत्तिकै हारेका होइनन् । अहंकारका साथसाथै देशलाई नस्लीय आधारमा विभाजित गरेकाले हारेका हुन् । अमेरिकामा गोराहरूको वर्चस्व हुनुपर्ने र शेष अरू तिनैका अधीनस्थ हुनुपर्छ भन्ने अतिवादी मान्यताका कारण हारेका हुन् । लोकतन्त्रमा हुन्छ नै यस्तै, अतिवाद यसले केही काल सहन्छ, सधैं सहँदैन । किनभने लोकतन्त्र हो नै विविधतालाई उत्सवका रूपमा स्विकार्ने विचार, दर्शन, सिद्धान्त । लोकतन्त्र शासन प्रणाली मात्र होइन, जीवन पद्धति हो । त्यसैले जसले पद्धतिको मर्यादामाथि निरन्तर प्रहार गर्छ, उसमाथि हुने यस्तै हो । जसले पद्धति नभएर आफू व्यक्तिलाई सर्वोपरि ठान्छ र अरूसँग निरन्तर असहिष्णुतापूर्वक व्यवहार गर्छ, उसमाथि अन्ततः हुने यस्तै हो ।

यहाँ मैले ट्रम्प हारे भनेर खुच्चिङ भनेको होइन, भन्नु पनि छैन । उनी आफू असहिष्णुताका जाग्रत रूप त हुन् नै, आफैं एक प्रतीक हुन् र अग्रमार्गी पनि । कामना यत्ति नै हो, यी र यस्ता परिणाम हेरेर नेपालले त्यस्तो अथवा कुनै पनि किसिमको अतिवादी मार्ग अवलम्बन नगरोस् । ट्रम्प हारे तर पराजयका बावजुद अमेरिकामा उनको अतिवादी विचारलाई पछ्याउने विशाल जमात निर्मित भएको र त्यसलाई उनले अझ उचाल्ने प्रबल सम्भावना छ । निश्चय नै, माथि भनिएझैं, लोकतन्त्रमा अतुलनीय शक्ति हुन्छ, तर समय–असमय अतिवादी प्रवृत्तिले शिर उठाउँदा सभ्य संसार निर्माणमा विलम्ब पनि हुन्छ । साथै, स्मरण के पनि रहोस् भने, अतिवाद भनेको नस्लीय मात्र हुँदैन, नस्लविशेषको खोइरो खन्नु पनि अतिवाद नै हो । जस्तै ः नेपालमा एउटा नस्लविशेषमाथि निरन्तर प्रहार गरिन्छ, आक्षेप लगाइन्छ । त्यो पनि अतिवाद नै हो ।

कामना गरौं, ट्रम्पको ह्वाइट हाउसबाट बिदाइसँगै अमेरिका र विश्व परिवेशबाट समेत अतिवादले प्रश्रय पाउने स्थान सीमित हुन सकोस् । अतिवादका लागि ठाउँ साँघुरो होस् । होस् किनभने अतिवाद, अहंकारजन्य ट्रम्प प्रवृत्ति त्यत्तिकै जन्मिँदैनन्Ù तिनलाई जन्माउने पनि अर्को पक्षको अतिवाद, अहंकार नै हो । अझ किनभने एउटा उद्दण्डताले अर्को झनै उग्र उद्दण्डताका निम्ति बाटो खोलिदिन्छ, उत्तेजनालाई प्रश्रय दिन्छ । त्यस्तो अमेरिकामा मात्र होइन, यहाँ पनि हुन्छ ।

(शुक्रबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट ।)

प्रकाशित : कार्तिक २७, २०७७ १९:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×