कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७५

रौतहटमा गोली हानी युवतीको हत्या

शिव पुरी

रौतहट — रौतहटमा बुधबार राति १७ वर्षीया युवतीको गोली हानी हत्या भएको छ । माधवनारायण नगरपालिका– ७ लौकाहा टोलका रामअयोध्या साह तेलीकी १७ वर्षीया छोरी अमृताकुमारी साहलाई अज्ञात समूहले गोली हानेको प्रहरीले जानकारी दिएको छ । हत्या गर्नुको कारण र संलग्न समूहको अहिलेसम्म पहिचान नभएको प्रहरीले बताएको छ ।

रौतहटमा गोली हानी युवतीको हत्या

परिवारले प्रहरीलाई जनाएअनुसार अमृताकी आमा घरबाट बाहिर शौच गर्न गएको मौका छोपी करिब ११ बजे हतियारधारी समूह घरमा पसेर कन्चटमा गोली प्रहार गरी भागेको थियो । गोली लागेर ढलेकी अमृताको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी भरत श्रेष्ठले बताए । ‘हत्यामा संलग्नको खोजी भइरहेको छ । प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ,’ उनले भने, ‘हत्यारा चाँडै पक्राउ पर्छन् । त्यसपछि कारण पत्ता लाग्छ ।’

सर्लाहीको मधुवनगोठका रुपेश साहसित २०७६ फागुनमा अमृताको बिहे भएको थियो । बिहेको केही समयपछि दुवैबीच सम्बन्ध राम्रो थिएन । यहीबीच अमृताका श्रीमान् रुपेशलाई अज्ञात समूहले गत वैशाखमा चक्कु प्रहार गरेर घाइते बनाएको थियो । सम्बन्ध राम्रो हुन नसकेपछि दुवैबीच गएको असारमा सम्बन्ध विच्छेद भयो ।

सम्बन्ध विच्छेदपछि अमृता लौकाहास्थित माइतीमै बस्दै आएको उनका काका नेवालाल साहले जनाए । ‘हत्या किन र कसले गर्‍यो भन्ने हामी अन्योलमा परेका छौं,’ उनले भने । डीएसपी श्रेठका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेको छ । ‘प्रहरीले शंकास्पद स्थानमा सर्च पनि गरेको छ,’ उनले भने, ‘हत्यामा संलग्न समूह चाँडै पत्ता लगाउँछौँ ।’

प्रकाशित : कार्तिक २७, २०७७ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?