कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनामा करोडौं खर्च, उपलब्धि न्यून

समुदायमै संक्रमण फैलिएको अवस्थामा स्थानीय तह जिम्मेवारीबाट पन्छिन थालेका छन् ।
अगन्धर तिवारी

पर्वत — गत चैतयता पर्वतका स्थानीय तहले कोरोना रोकथामका लागि मात्रै सवा ४ करोड रुपैयाँ खर्च गरेका छन् । लकडाउनको सुरुआती दिनमा विपन्नका लागि राहत वितरण गर्ने तथा क्वारेन्टाइन निर्माण गर्ने भन्दै लाखौं खर्च गरेका स्थानीय तह कोभिडको संक्रमण समुदायमै फैलिएको अवस्थामा भने केन्द्र सरकारजस्तै जिम्मेवारीबाट पन्छिन थालेका छन् ।

कोरोनामा करोडौं खर्च, उपलब्धि न्यून

जिल्लाका ७ स्थानीय तहले कोरोना रोकथाम, नियन्त्रण, व्यवस्थापन र राहत वितरणमा हालसम्म चार करोड २३ लाख खर्च विवरण सार्वजनिक गरेका छन् । चैत ११ देखि हालसम्म २ नगरपालिका र ५ गाउँपालिकाले उक्त रकम खर्च गरेका हुन । सबैभन्दा धेरै कुस्मा नगरपालिकाले एक करोड १८ लाख ९५ हजार खर्च गरेको छ । नगरपालिकाले वडागत रूपमा राहत वितरण, पुलिङ क्वारेन्टाइन, पीपीई, औषधिजन्य सामग्री, मास्क, सेनिटाइजर, कोभिड नियन्त्रण सामग्री र जनचेतनामा खर्च गरेको जनाएको छ ।

कुस्माले अस्थायी कोरोना अस्पतालमा समेत अगुवाइ गर्दा खर्च बढेको जनाएको छ । नगरप्रमुख रामचन्द्र जोशीका अनुसार सातै पालिका र प्रदेश सरकारको समेत सहयोगको अपेक्षामा कोभिड अस्पताल निर्माण गरिएको भए पनि कुस्मालाई बढी भार परेको छ । ‘प्रदेश सरकारको सहयोगको अपेक्षा धेरै थियो,’ जोशीले भने, ‘पछिल्लो समयसम्म ४० लाखभन्दा पाइएको छैन ।’ गुप्तेश्वर क्याम्पसमा निर्माण गरिएको अस्थायी अस्पतालमा हालसम्म एक करोडभन्दा बढी खर्च भएको जोशीले बताए । कोरोना र प्रकोप नियन्त्रण कोषमा जम्मा भएको दुई करोड ६३ लाख ५ हजारमध्ये एक करोड १८ लाख ९५ हजार ७ सय ३७ रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनीले बताए । उनका अनुसार उक्त कोषमा एक करोड ४४ लाख नौ हजार मौज्दात छ । नगरपालिकाले तीन हजारभन्दा बढी परिवारलाई राहत वितरण गरेको दाबी गरेको छ ।

त्यस्तै फलेबास नगरपालिको कोभिड कोषमा ९९ लाख ६७ हजार ६ सय जम्मा भएकोमा ६३ लाख ६७ हजार खर्च भएको नगरप्रमुख पदमपाणि शर्माले बताए । जलजला गाउँपालिकाले ६१ लाख २९ हजार खर्च गरेको छ । सबैभन्दा बढी विपन्न वर्ग राहत वितरणका लागि खाद्यान्न खरिद गर्न २३ लाख ३० भन्दा बढी खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए । जलजलाले कोभिड कोषमा ५७ लाख २४ रुपैयाँ जम्मा गरेको थियो । त्यसबाहेक हिमाली बालकल्याण संस्था मञ्च ललितपुरमार्फत २९ लाख मूल्य बराबरको खाद्यान्न पालिकाले विभिन्न वडामा वितरण गरेको दाबी गरेको छ ।

मोदी गाउँपालिकाले हालसम्म साढे ३९ लाख बढी खर्च गरेको छ । प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षत्रीका अनुसार राहत सामग्री, क्वारेन्टाइन निर्माण, सवारी भाडा, अस्थायी कोरोना अस्पतालमा साझेदारी, प्रचारप्रसार लगायतमा ३९ लाख ६४ हजार खर्च भएको हो । विहादी गाउँपालिकाले ४६ लाख ९७ हजार खर्च गरेको अध्यक्ष कमलप्रसाद भुसालले बताए । उनका अनुसार कोषमा ३८ लाख २६ हजार मौज्दात छ । पैयुँ गापाले ६५ लाख ७२ हजार खर्च गरेको अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले बताए । महासिला गाउँपालिकाले राहात कोषमा जम्मा भएको ३६ लाख ४८ हजारमध्ये २६ लाख ५२ हजार खर्च भएको सूचना अधिकारी लक्ष्मण शर्माले बताए ।

सुरुआती दिनहरूमा कन्ट्याक्ट ट्रेसिङ, क्वारेन्टाइन, पीसीआर परीक्षणलगायतमा निकै चासो देखाएका स्थानीय तह पछिल्लो समय संक्रमण बढ्दा भने मौन छन् । भारतलगायत तेस्रो मुलुकबाट आउनेलाई छुट्टै क्वारेन्टाइनमा राख्ने, पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ आएकालाई आइसोलेसन अस्पतालमा लैजानेलगायतका काममा स्थानीय तह पनि पछि हटेका छन् । कुस्मा नगरप्रमुख जोशीले भने, ‘केन्द्र र प्रदेशले हात झिकिहाले । हामीले सकेको गरेकै छौं । नसक्ने अवस्था आएपछि हामी पनि पछि हट्नुको विकल्प छैन ।’

प्रकाशित : कार्तिक २१, २०७७ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?