कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओली-दाहाल छलफलपछि नेकपा विवाद झन् उत्कर्षमा

पार्टी फुटाउन खोजेको आरोप आफूलाई लगाएर बालुवाटारबाट फुटका गतिविधि भएको भन्दै दाहालको आपत्ति
कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ नेकपाभित्रको विवाद झनै उत्कर्षमा पुगेको छ । बिहीबार दिउँसो बालुवाटारमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलले विवाद झनै बढाएको एक नेताले दाबी गरे । ती नेताका अुनसार छलफल सकारात्मक नभएको बरु त्यसले विवाद थप बढेको हो ।  

ओली-दाहाल छलफलपछि नेकपा विवाद झन् उत्कर्षमा

बुधबार ओली समूहले आफू निकट प्रदेश १ का नेताहरुसँग गरेको भर्चुअल बैठक र प्रधानमन्त्रीको राजीनामा सम्बन्धी अभिव्यक्तिलाई लिएर अध्यक्ष दाहालले आपत्ति जनाएका छन् ।

पार्टी फुटाउन खोजेको आरोप आफूलाई लगाएर बालुवाटारबाट फुटका गतिविधि भएको भन्दै दाहालले आपत्ति जनाएका हुन् । साथै पार्टीमा उठ्दै नउठेको राजीनामाको विषयबारे प्रधानमन्त्रीको बुधबारको अभिव्यक्तिप्रति पनि दाहालले आपत्ति जनाएको ती नेताले बताए ।

अहिले पार्टीमा प्रधानमन्त्रीको राजीनामाको विषय नभई स्थायी कमिटीका निर्णय कार्यान्वयन र पार्टी बैठकको मात्रै माग भएको दाहालले ओलीलाई भनेका थिए ।

पार्टी फुटाउन लागेको दोष आफूलाई लगाउने तर गुटका भेला, बैठक गरेर पार्टी फुटाउने तयारी बालुवाटारबाट भएको भन्दै दाहालले त्यसले निकास नदिने बताएका थिए । उनले सबै कुरा बैठकमा राख्न ओलीलाई आग्रह गरेको पनि ती नेताले बताए ।

तर, ओली बैठकप्रति सकारात्मक नभएपछि दाहाल छलफलको औचित्य सकिएको भन्दै बालुवाटारबाट निस्किएका थिए ।

प्रधानमन्त्री ओलीले आफूविरुद्ध षड्यन्त्रहरु भएका र त्यसको सामना गर्न तयार रहेको जवाफ अध्यक्ष दाहाललाई दिएका थिए । पार्टीभित्रैको असहयोगले सरकारको काममा असर पारेको भन्दै ओलीले आफूले पार्टी फुटका गतिविधि नगरेको बताएका थिए । दुई अध्यक्षबीचको छलफल सकारात्मक नभएपछि दुवै समूह थप रणनीति निर्माणमा जुटेका छन् ।

केहीदिन अगाडि प्रधानमन्त्री ओलीले बैठक पनि नबस्ने र बहुमतले गरेका निर्णय पनि नमान्ने बताएका थिए । बुधबार ओली पक्षले आफू निकट प्रदेश १ का नेताहरुसँग भर्चुअल बैठक गरेर जबजको पक्षमा उभिन निर्देशन दिएका थिए ।

प्रकाशित : कार्तिक २०, २०७७ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?