कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

७३० क्विन्टल चामल खोइ ?

उठाइएको ११ सय क्विन्टलमध्ये भेटियो ३ सय ७० क्विन्टल मात्र, ढुवानीकर्ता शर्मा हिरासतमा
‘रिप्याकिङ’ गरिएको खुलासा, खाद्य कम्पनी मौन
कलेन्द्र सेजुवाल

सुर्खेत — शर्मा ढुवानी सेवाले मुगु लैजाने भनेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीको वीरेन्द्रनगरस्थित गोदामबाट उठाएको करिब साढे ७ सय ३० क्विन्टल चामलको खोजी थालिएको छ । मुगुको साटो भक्तपुर लैजाने क्रममा बिहीबार २ सय ५० क्विन्टल चामल बरामद भएपछि थप चामलबारे प्रहरीले अनुसन्धान थालेको हो ।

७३० क्विन्टल चामल खोइ ?

सुर्खेतका जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र भट्टका अनुसार बिहीबार ना६ख ५७२१ नम्बरको ट्रकसहित चामल नियन्त्रणमा लिइएपछि ढुवानी सेवाको वीरेन्द्रनगरस्थित गोदाम सिल गरिएको छ । गोदाममा ६० क्विन्टल (३० केजीका २ सय बोरा) चामल छ । ढुवानी सेवाले सोमबार साँझ मुगुको कालैमा ६० क्विन्टल चामल पुर्‍याएको स्थानीय प्रहरी चौकीका असई नन्दबहादुर शाहीले जानकारी दिए । उनका अनुसार कालै पुर्‍याइएको चामल अरुवा मोटा हो । ‘दुइटा ट्र्याक्टरमा चामल ल्याएर छोडिएको छ तर ठेकेदारका प्रतिनिधि नहुँदा वितरण भएको छैन,’ उनले भने, ‘यसबाहेक थप चामल यहाँ ल्याइएको जानकारी छैन ।’

शर्मा ढुवानी सेवाले असोज २३ देखि २६ गतेसम्म १ हजार क्विन्टल जापानी चामल र कात्तिक ५ गते १ सय क्विन्टल अरुवा मोटा चामल गोदामबाट उठाएको थियो । त्योमध्ये भक्तपुर लैजाँदै गर्दा नियन्त्रणमा लिइएको, कालैमा पुर्‍याइएको र गोदाममा रहेको समेत गर्दा ३ सय ७० क्विन्टल चामल भेटिएको छ । ‘७ सय ३० क्विन्टल चामल कहाँ छ भनेर अनुसन्धान भइरहेको छ,’ एसपी भट्टले भने ।

प्रहरीले मंगलबार ढुवानी सेवाका मालिक वासुदेव शर्मालाई नियन्त्रणमा लिएको छ । उनलाई जिल्ला प्रशासन कार्यालयले मंगलबारै ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रहरीले चामल नियन्त्रणमा लिनेबित्तिकै बयानका लागि बोलाए पनि शर्मा गएका थिएनन् । प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले फरार हुनुभन्दा प्रहरीमा गएर अनुसन्धानमा सहयोग गर्न सोमबार सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतमार्फत खबर पठाएका थिए । त्यहीअनुसार प्रहरी कार्यालयमा पुगेका व्यवसायी शर्मालाई प्रहरीले नियन्त्रणमा राखेको हो । प्रजिअ रेग्मीले तत्कालका लागि कालोबजारी ऐनअन्तर्गत मुद्दा चलाउने गरी अनुसन्धान थालिएको भए पनि सरकारी वकिलसँग थप परामर्श गरी उपयुक्त निर्णय लिइने बताए । ‘कर्णालीका जनताको भोको पेटसँग जोडिएको यो घटना सामान्य ठगी र कालोबजारीमात्र होइन, सामाजिक अपराधसमेत हो,’ उनले भने, ‘दोषीमाथि कारबाही गरी आइन्दा यस्तो कार्य हुन नदिने वातावरण बनाउँछौं ।’

शर्माले वीरेन्द्रनगरस्थित आफ्नो गोदाममा कम्पनीको चामल झिकेर अर्को बोरामा ‘रिप्याकिङ’ गर्ने गरेको खुलेको छ । एसपी भट्टका अनुसार गोदामबाट ‘पिपल फर जापान’ लेखिएको २० र नेपाल खाद्य संस्थान लेखिएको १२ वटा खाली बोरा भेटिएका थिए । बाहिरबाट मान्छेलाई ज्यालादारीमा लगेर चामल अर्को बोरामा ‘रिप्याकिङ’ गर्ने गरिएको उनले बताए ।

मुगुको चामल भक्तपुर पठाउन थालिएको घटनाले कम्पनीको गोदामबाट उठाइएको अन्य चामल पनि सम्बन्धित स्थानमा पुगे/नपुगेको खोजी हुन थालेको छ । ढुवानीकर्ताले चालु आर्थिक वर्षको कात्तिक १५ गतेसम्म ५ हजार ९ सय ४१ क्विन्टल चामल गोदामबाट उठाएका छन् । सबैभन्दा बढी स्रिमिका एयर कार्गोले २ हजार ५१ क्विन्टल उठाएको छ । उसले प्रतिक्विन्टल १ सय ८ रुपैयाँमा हवाईमार्गबाट हुम्ला सदरमुकाम सिमकोट पुर्‍याउने गरी कम्पनीसँग सम्झौता गरेको छ । स्थलमार्गबाट सिमकोटका लागि ३ सय क्विन्टल, छप्रेला र बालकुना बिक्री केन्द्रका लागि ५/५ सय क्विन्टल, गमगढी शाखाका लागि ३ सय ३० क्विन्टल, कालै बिक्री केन्द्रका लागि १ हजार १ सय क्विन्टल, जुम्ला शाखाका लागि ७ सय १० क्विन्टल, कालीकोट शाखा कार्यालयका लागि ४ सय ५० क्विन्टल चामल सम्बन्धित ढुवानी फर्मले उठाएका छन् । कम्पनीका सुर्खेतस्थित कार्यालयका प्रमुख माधव मिश्रले केही स्थानमा चामल पुगेको भर्पाइसमेत आइपुगेको र केहीमा ढुवानी हुँदै गरेको बताए ।

कर्णालीमा सुर्खेतबाट मात्र हवाई र स्थलमार्गबाट बर्सेनि सरदर ३५ हजार क्विन्टल चामल कर्णालीका जिल्लाहरूमा जाने गरेको छ । सरकारले चामलको ढुवानीमा अनुदान दिन्छ । अनुदानको यही चामल बाटोमै बिक्री हुने, सम्बन्धित स्थानमा पुर्‍याउन ढिलाइ गर्ने, अन्यत्र पठाउनेजस्ता घटना दोहोरिइरहने गरेका छन् । तर, सम्बन्धित निकायले कारबाही नगर्दा कर्णालीका जनताका नाममा आउने चामलमाथि बर्सेनि खेलवाड हुने गरेको छ । जुम्ला घर भएका सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोम महतले यसअघि दुई पटक कर्णालीको चामल अन्यत्रै बिक्री भएको घटना तत्कालीन नेपाल खाद्य संस्थानले थाहा पाए पनि छानबिन नभएको बताए । ‘ती घटनामा संस्थानकै उच्च अधिकारी संलग्न रहेको सुनिएको थियो, तर घटना छानबिन नभएपछि अफिसियल रेकर्डमा रहने भएन,’ उनले भने, ‘यो घटनालाई भने यहाँको स्थानीय प्रशासन र प्रहरीले गम्भीरतापूर्वक लिएकाले विगतको जस्तो सामसुम हुने अवस्था छैन ।’

शर्मा ढुवानी सेवा कर्णालीका जिल्लाहरूमा खाद्यान्न ढुवानी गर्ने प्रमुख व्यावसायिक फर्म हो । पछिल्ला तीन वर्षको आँकडा केलाउँदा उसले कुल ढुवानीको एक चौथाइ हिस्सा ओगट्ने गरेको छ । चालु आर्थिक वर्षका लागि मात्र उसले ६ स्थानमा ७ हजार क्विन्टल चामल ढुवानी गर्ने सम्झौता गरेको छ । गत आर्थिक वर्षमा ६ हजार १ सय क्विन्टल र ०७५/७६ मा ७ हजार १ सय क्विन्टल चामल ढुवानी गरेको कम्पनीको भनाइ छ । स्थलमार्गबाट बर्सेनि करिब २७ हजार क्विन्टल चामल ढुवानी हुने गरेको छ ।

शर्मा सेवा विवादमा तानिएको एक साता पुग्न लाग्दासमेत खाद्य व्यवस्था तथा व्यापार कम्पनी मौन छ । सार्वजनिक खरिद ऐन–२०६४ अनुसार कम्पनी र शर्मा निर्माण सेवाबीच भएको ३२ बुँदे ‘खाद्यवस्तु ढुवानी सम्झौतापत्र’ मा सर्त उल्लंघन गर्ने ढुवानीकर्ता व्यावसायिक फर्मलाई कालोसूचीमा राख्नेदेखि हर्जाना तिराउने, धरौटी रकम जफत गर्नेसम्मको कारबाही गर्न सकिने उल्लेख छ । कम्पनीका सुर्खेतस्थित कार्यालय प्रमुख मिश्रले प्रहरीले अनुसन्धान गरिरहेकाले आफ्नोतर्फबाट कुनै कदम नचालिएको बताए । ‘प्रहरी–प्रशासनको अनुसन्धानबाट केही दिनमै निष्कर्ष निस्किएला, त्यसपछि त्यही आधारमा माथि (केन्द्रीय कार्यालयसँग) सम्पर्क गरी छानबिन थाल्ने सोच बनाएका छौं ।’

कर्णालीको चामल अन्तै बेच्ने घटनाका दोषीमाथि कडा कारबाही गर्न कर्णाली प्रदेश सरकार, प्रदेशसभाको सामाजिक विकास समिति र मुगुका सांसदले प्रहरी–प्रशासनलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुर्खेतका प्रमुख जिल्ला अधिकारीलाई बोलाएर कुनै पनि किसिमको दबाब र प्रभावमा नपरेर अनुसन्धान गर्न निर्देशन दिएका हुन् ।

प्रकाशित : कार्तिक १९, २०७७ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?