नेकपाको एकीकृत अस्तित्व संकटमा : महासचिव पौडेल- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपाको एकीकृत अस्तित्व संकटमा : महासचिव पौडेल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा महासचिव विष्णु पौडेलले पार्टी फूटतर्फउन्मुख भएको बताएका छन् । पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पछिल्लो मतभेद सतहमा आएकै बेला महासचिव पौडेलले नेकपाको एकीकृत अस्तित्व गम्भीर संकटमा परेको बताएका हुन् ।

केही दिन अगाडि दुवै अध्यक्षको सहमतिमा अर्थमन्त्रीको समेत जिम्मा पाएका महासचिव पौडेलले आइतबार दिउँसो ट्वीटमार्फत एकताका लागि योगदन गर्नसमेत सबैसँग आग्रह गरेका छन् ।

‘यतिबेला नेकपाको एकीकृत र अभिभाज्य अस्तित्वका सामु गम्भीर संकट उत्पन्न भएको छ । आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता तथा सदस्यहरु समक्ष अनुरोध गर्दछु' महासचिव पौडेलको ट्वीटमा छ ।

दुई अध्यक्ष ओली र दाहालबीच ११ दिनपछि शनिबार भेट भए पनि पार्टी सचिवालय बैठक बोलाउने विषयमा सहमति जुटन सकेको थिएन । योसँगै उनीहरुबीचको विवाद थप बढेको आंशका भैरहँदा महासचिव पौडेलले पार्टी एकतामा संकट आएको बताएका हुन् ।

गत भदौ २६ को स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन, मन्त्रिपरिषद् हेरफेर, कर्णाली प्रदेशको पार्टी विवाद र भारतीय गुप्तचर रअका प्रमुखको अचानक भएको नेपाल भ्रमणले ओली र दाहालबीच विवाद बढाइदिएको छ ।

आइतबार नै कर्णाली प्रदेशमा मन्त्रिपरिषद् हेरफेरको तयारी भए पनि अन्तिम समयमा रोकिएको छ । पछिल्लो विवादलाई लिएर प्रधानमन्त्री ओलीले आइतबार बिहान निकट नेताहरुसँगसमेत बालुवाटारमा परामर्श गरेका थिए ।

प्रकाशित : कार्तिक १६, २०७७ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्

बाँकेमा कोरोनाबाट थप दुईको मृत्यु

रूपा गहतराज

नेपालगन्ज — बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका–२० रााझा निवासी ६० वर्षीया महिला र टीकापुर नगरपालिका–१ कैलाली निवासी ६० वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

स्वास्थ्यमा समस्या देखिएपछि कात्तिक १४ गते शिक्षण अस्पताल कोहलपुरमा उपचारका लागि आएका कैलालीका ६० वर्षीय पुरुषमा कात्तिक १५ गते कोरोना पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या भएका ती पुरुषको शनिबार राति १ बजे शिक्षण अस्पताल कोहलपुरको कोभिड आईसीयूमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

यस्तै, नेपालगन्ज उपमहानगरपालिका–२० राझा निवासी ६० वर्षीया महिला श्वासप्रश्वासमा समस्या भएपछि कात्तिक ८ गते अस्पताल भर्ना भएकी थिइन् । परीक्षणका क्रममा उनलाई कोरोना पुष्टि भएको थियो ।

संक्रमित महिलालाई रोगको प्रकृतिअनुसार गरिनुपर्ने प्लाजामा थेरापीलगायत सबै प्रकारको उपचार दिँदै गर्दासमेत बिरामीको अवस्थामा सुधार नआएपछि शिक्षण अस्पतालको कोभिड आईसीयूमा उपचारकै क्रममा गए राति मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै कोरोना भाइरसका कारण बाँकेमा मृत्यु हुनेको संख्या ३१ पुगेको छ। बाहिरी जिल्लाबाट उपचार गराउन बाँकेमा आउँदा मृत्यु हुनेको संख्या भने २० पुगेको छ ।

प्रकाशित : कार्तिक १६, २०७७ १४:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×