कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपचारमा मनपरी शुल्क

विनोद भण्डारीे

विराटनगर — विराटनगरका निजी अस्पतालले कोरोना संक्रमितको उपचारमा मनपरी शुल्क लिने गरेको पाइएको छ । अस्पतालहरूले संक्रमितबाट एकदेखि तीन लाखसम्म धरौटी लिएर प्रत्येक दिन ५ हजारदेखि २५ हजार रुपैयाँसम्म शुल्क लिने गरेको पाइएको हो ।

सरकारले संक्रमितको निःशुल्क उपचार नगर्ने घोषणा गरेलगत्तै अस्पतालहरूले मनोमानी रूपमा शुल्क लिन थालेका हुन् । संक्रमितको उपचार गर्दै आएका नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज र न्युरो अस्पतालले मनपरी शुल्क र धरौटी रकम लिने गरेको पाइएपछि कांग्रेस विराटनगर महानगर समितिले विरोध गरेको छ ।

नोबेलले जनरल वार्डमा प्रतिदिन ५ हजार, भेन्टिलेटरसहितको आईसीयूमा १८ हजार र भेन्टिलेटरबिनाको आईसीयूमा उपचार गर्दा प्रतिदिन १५ हजार शुल्क लिने गरेको छ । अस्पतालले संक्रमित भर्ना हुँदा अग्रिम एक लाख रुपैयाँ धरौटी लिने गरेको छ । तर, अस्पतालका प्रबन्धक नारायण दाहालले बिरामीसँग धरौटी नलिएको बताए । तर, उक्त अस्पतालमा धरौटी जम्मा गर्न नसक्दा रतुवामाई–१० की ४५ वर्षीय नरमाया मगरले घरमा झुन्डिएर आत्महत्या गरेको परिवारको दाबी छ । सोमबार कोरोना पोजिटिभ रिपोर्ट आएपछि उनलाई नोबेल पुर्‍याइएको थियो । अस्पतालले एक लाख रुपैयाँ धरौटी मागेको थियो ।

विराट मेडिकल कलेजले आईसीयूमा भर्ना गर्नुपर्ने बिरामीलाई तीन लाख रुपैयाँ धरौटी लिने र उपचारबापत प्रत्येक दिन २५ हजार तथा भेन्टिलेटरमा राखेर उपचार गर्नुपरे १५ हजार रुपैयाँ शुल्क लिने गरेको छ । अस्पताल स्रोतका अनुसार लक्षण नदेखिएका संक्रमित सामान्य बेडमा बस्दा एक लाख रुपैयाँ धरौटी लिने गरिएको छ ।

प्रत्येक दिन ८ हजार रुपैयाँ शुल्क तोकिएको छ । लक्षण देखिएका बिरामीको उपचारका नाममा अस्पतालले दैनिक ५० हजार रुपैयाँसम्म शुल्क लिने गरेको छ । न्युरो अस्पतालले आईसीयूका बिरामीसँग एक लाख रुपैयाँ धरौटी लिएर हरेक दिन १५ हजार शुल्क लिँदै आएको छ । अस्पताल स्रोतका अनुसार सामान्य वार्डमा बसेर उपचार गराउने संक्रमितसँग अस्पतालले ५० हजार धरौटी लिने गरेको छ ।

प्रकाशित : कार्तिक १५, २०७७ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?