कसरी नांगियो साइपाल ?
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
बझाङ — पहिलो पटक २०६० मा यार्चागुम्बु टिप्न औंलागाड पुगेका राजेन्द्र धामीले त्यसयता साइपाल आसपास क्षेत्रमा महिनौं बिताएका छन् । साइपाल गाउँपालिकाको धलौनका ४१ वर्षीय धामी यो अवधिमा दर्जनौं पटक साइपाल हिमालको फेदी औंलागाडसम्म पुगे ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![कसरी नांगियो साइपाल ?](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2020/miscellaneous/saipal-on-2077-30102020015953-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
कहिले यार्चागुम्बु टिप्न र संकलन गर्ने सिजनमा अस्थायी होटल चलाउन आउजाउ भइरहन्छ । धेरै वर्षसम्म त भेडा चराउन फागुन–चैतमा साइपालको काखमा पुग्नु र असोज–कात्तिकमा गोठ औलतिर ओराल्नु उनको वार्षिक तालिकाको अनिवार्य कार्यक्रम जस्तै थियो ।
हिउँदमा डोटीसम्म चराउन लगेका भेडा फागुन अन्तिमतिर साइपाल पुर्याउनैपर्ने अघोषित तर अनिवार्य जस्तै नियम छ साइपालमा । हिमालको आसपास भेडाका लागि राम्रै चरन पाइन्छ । गरिखान साइपाल आधार शिविरको यात्रा उनका लागि नौलो छैन । साइपाल हिमालको सौन्दर्यले पनि उनलाई तान्ने गरेको छ । ‘हिउँदतिर भेडा डोटी लैजाँदा प्रायः ग्वालाको जिम्मा पठाउँथेँ । म खासै जान्नथेँ,’ उनले भने, ‘भेडा साइपाल उक्लिँदा भने ठूलै काम परेर एक दुई वर्ष गइनँ होला । नभए प्रायः म आफैं जान्थेँ ।’
हिउँले टम्म भरिएको सेताम्मे साइपालको आकर्षणले उनलाई मोहनी लगाएको रहेछ । ‘साइपाल हिमाल नजिक पुगिसकेपछि अर्कै खालको आनन्द आउँथ्यो,’ उनले भने, ‘दिनभरि हेरिराखे पनि मन अघाउँदैनथ्यो । कामै नभए पनि म कहिलेकाहीँ हिमालको फेदैसम्म पुगेर फर्किन्थेँ ।’
२०७३ सालमा तत्कालीन काँडा गाविस गाउँपालिकामा परिवर्तन भयो । काँडालाई छुट्टै गाउँपालिका बनाउनुपर्छ भन्ने अभियानमा सक्रिय रूपमा लागेका धामी २०७४ सालको स्थानीय तह निर्वाचनमा अध्यक्ष पदमा विजयी भए । साइपालको सौन्दर्य र महत्त्व बुझेका उनले पहिलो बैठकमै गाउँपालिकाको नामबाट काँडा हटाउने प्रस्ताव राखे । कार्यपालिकाले उनको प्रस्ताव सर्वसम्मत पास गर्यो । संघीय मन्त्रिपरिषद्ले पनि यो निर्णय अनुमोदन गर्यो । काँडाको नाम ‘साइपाल’ ले विस्थापित गर्यो । अध्यक्ष भइसकेपछि पनि धामीलाई साइपालको सौन्दर्यले तानिरह्यो । उनी चैत–वैशाखमा यार्चा संकलन कार्यलाई व्यवस्थापन गर्न भन्दै त्यहाँ पुग्थे । जडीबुटी चोरी हुँदै छ भन्ने सूचना आएपछि दुई–तीन पटक मंसिर–पुसमा पनि साइपाल पुगे ।
एकपटक हिमाल आरोही टोलीसँगै कात्तिकमै पनि पुगे । जुन मौसममा गए पनि साइपालको सौन्दर्य उस्तै हुन्थ्यो । साइपालमा छिटो छिटो बदलिने मौसमको लुकामारी चित्ताकर्षक हुन्थ्यो । साइपालको चुचुरो लजालु बेहुली जस्तै छिनमै बादलको घुम्टोभित्र लुक्थ्यो । हावाको गतिसँगै बिस्तारै बादल हट्थ्यो अनि हिउँको सिरकले गमक्क छोपिएको साइपाल खुल्दा वरिपरिको वातावरण पनि थप उज्यालिन्थ्यो ।
विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै हिमाल आरोहण गरेर कीर्तिमान बनाएका स्पेनी आरोही डा. जर्ज इचोएगा भन्छन्– ‘यो कसरी भयो , म भन्न सक्दिनँ तर मेरो जीवनकालमा ७ हजार मिटर अग्ला हिमालमा यसरफ हिउँ हराएको देखेको छैन ।’
यहाँ पुग्ने स्वदेशी र विदेशी पर्यटक पनि साइपालको मोहनी रूपमा आफू लट्ठिएको कुरा धामीलाई सुनाउँथे । अध्यक्ष धामी पनि आजसम्म कसैले टेक्न नसकेको साइपालको चुचुरोलाई एक दिन विश्व पर्यटनको केन्द्र बनाउने सपना बुन्थे । जिल्लाका हरेक नेतालाई बृहत् साइपाल पर्यटन विकास योजनामा सहयोग गर्न अनुरोध गर्थे । यसै सिलसिलामा जब उनी आइतबार प्रतिनिधिसभा सदस्य आशा विकको टोलीसहित त्यहाँ पुगे । साइपालको फेरिएको रूप देखेर नराम्रोसँग झस्किए, ‘साइपालको हिउँ त गायब भइसकेको रहेछ ।’
‘यत्रो वर्ष साइपालकै फेदीमा बिताएको मलाई अहिले हेर्दा यो हिमाल साइपाल हो कि होइन, अनौठो के भने साइपालभन्दा होचा तर साइपाल आसपासमा रहेका साना टाकुरामा टन्नै हिउँ छ । साइपालमा मात्रै हिउँ छैन,’ उनले भने । धामीले खिचेर ल्याएको फोटो गाउँका बुढापाका लाई पनि देखाए । हिउँविहीन साइपाल देखेर बुढापाका मात्रै होइन, स्थानीय सबै चकित भए ।
‘१० वर्षको उमेरदेखि प्रत्येक साल साइपाल पुगेको छु,’ जिमाका ७२ वर्षीय जब्बरे बोहराले भने, ‘साइपाल यसरी नांगै भएको कहिले देखेको छैन ।’ उनले हिउँदका दुईचार महिनाबाहेक आफू हरेक सिजनमा साइपाल पुगेको तर यसरी हिउँ नभएको कहिल्यै नदेखेको बताए । ठूलो ठूलो खडेरी पर्दा पनि नहराएको हिउँ कसरी गायब भयो भन्ने उनले अनुमानै गर्न सकेनन् ।
दुई वर्षअघि २०७५ कात्तिकसम्म पनि हिउँले सेताम्मे थियो साइपाल । पोहोर २५ वर्षयताकै ठूलो हिमपात हुँदा पनि अन्यत्रभन्दा कम हिउँ जमेको साइपाल यो वर्ष नांगै भएको छ । तस्बिर : वसन्तप्रताप सिंह/कान्तिपुर
बझाङमा गत हिउँदमा २५ वर्षयताकै ठूलो हिमपात भएको थियो । मंसिर अन्तिम सातादेखि सुरु भएको हिमपात चैत मध्यसम्म जारी थियो । गत वर्ष जिल्लाकै सबैभन्दा होचो भूभाग देउरा (समुद्र सतहबाट ९१५ मि.) मा पनि २५ वर्षपछि हिउँ जमेको थियो । सबैभन्दा बढी हिउँ परेको वर्ष साइपालमा हिउँ नै नहुनुको यकिन कारण कसैले बताउन नसके पनि हिउँ बढी भएर पहिरो गएको हो कि भन्ने अनुमान गाउँपालिका अध्यक्ष धामीको छ । ‘साइपालको बनोट एकदम भिरालो छ । यो वर्ष धेरै हिउँ परेकाले भार थाम्न नसकेर पहिरो गएको हुनुपर्छ,’ उनले भने । उनले यहाँको हिउँ कसरी गायब भयो भन्नेबारे वैज्ञानिक अध्ययन हुन सके राम्रो हुने बताए । कसैले यस विषयमा अध्ययन गर्न चाहे गाउँपालिकाले सहयोग गर्ने उनको भनाइ थियो ।
साइपालमा हिउँ कसरी हरायो भन्नेबारे दर्जनौंपटक हिमाल आरोहण गरिसकेका आरोहीले पनि केही अनुमान गर्न सकेनन् । संसारभर रहेका ८ हजार मिटरभन्दा अग्ला सबै हिमाल आरोहण गरेर कीर्तिमान कायम गरेका स्पेनी आरोही डा. जर्ज इचोएगा पनि साइपालको अहिलेको तस्बिर हेरेर छक्क परे । दुई वर्ष पहिला झन्डै २५ दिन साइपाल बेसक्याम्प बसेर उनको टोलीले आरोहणको असफल प्रयास गरेको थियो । ‘कसरी यस्तो हुन सक्छ । मलाई त विश्वास नै लागेन,’ उनले भने, ‘यो कसरी भयो, म भन्न सक्दिनँ तर मेरो जीवनकालमा ७ हजार मिटर अग्ला हिमालमा यसरी हिउँ हराएको देखेको छैन ।’
साइपालको हिउँ कसरी हरायो भन्ने सम्बन्धमा यस विषयका जानकारहरूले पनि अध्ययनबिना यकिन कारण भन्न सकेका छैनन् । हिउँको भार बढी हुनु र तापक्रम बढ्नुले ठूलो हिमपहिरो खस्न गई यसो भएको हुन सक्ने अनुमान अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का वरिष्ठ जलवायु परिर्वतन विशेषज्ञ एवं हिमालविद् डा. अरुणभक्त श्रेष्ठको छ ।
‘भिरालो भूबनोट भएको हिमालमा हिउँको भार बढी भएका बेला तापक्रम पनि बढ्न जाँदा हिउँ अस्थिर हुन्छ र सानाठूला हिमपहिरो खस्ने सम्भावना बढी हुन्छ,’ श्रेष्ठले भने, ‘साइपालमा पनि त्यस्तै भएको हुन सक्छ । यस विषयमा थप अध्ययन जरुरी छ ।’ उनले कारण जुनसुकै भए पनि सबैभन्दा धेरै हिउँ परेको वर्ष नै यसरी हिउँ हराउनु विडम्बना भएको बताए । सधैँ हिउँ जमिरहने हिमाल हिउँविहीन हुॅदा यसको प्रत्यक्ष असर स्थानीय जनजीवन र जैविक विविधतामा पर्ने उनको भनाइ छ ।
त्रिभुवन विश्वविद्यालय वातावरण विभागका एसोसिएट्स प्रोफेसर सुदीप ठकुरीले साइपालमा हिउँ मात्रै नभएर विगतका वर्षदेखिको जमेको आइस पनि पग्लिएको देखिएकाले यसको सम्बन्ध तापक्रम, हावाको बहाव आदिसँग हुन सक्ने बताए । ‘कहिलेकाहीँ दक्षिणतिर हावाको बहाव बढी हुँदा उत्तरी क्षेत्रमा हिउँ नपर्ने पनि हुन्छ । यहाँ आइससमेत पग्लिएको देखिन्छ,’ उनले भने, ‘यसो हुनुमा हावाको बहाव र तापक्रमको कुनै न कुनै सम्बन्ध चाहिँ छ तर अध्ययन नगरी ठ्याक्कै के हो भन्न सकिन्न ।’
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)