कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय जनगणनामा समुदायको चासो

८० प्रश्नमध्ये ‘जात/जाति, धर्म, पुर्खाको भाषा, मातृभाषा र दोस्रो भाषा’लाई चासो राखेका छन्
गणेश राई

काठमाडौँ — राष्ट्रिय जनगणना सम्पन्न हुन करिब आठ महिना बाँकी छँदै समुदायमाझ चासो बढ्न थालेको छ । केन्द्रीय तथ्यांक विभागले आगामी जेठ २५ गतेबाट असार ८ गतेभित्र सम्पन्न गर्ने जनगणनाको तयारी तीव्र पारेसँगै चासो बढेको हो ।

राष्ट्रिय जनगणनामा समुदायको चासो

विभागले समुदायमा चासो राख्ने विभिन्न जातजातिका संघसंगठनमार्फत भर्चुअल संवादमा जनगणनाका विविध पक्षबारे जानकारी गराउँदै आएको जनाएको छ । विभिन्न समुदायका प्रतिनिधिले विभागमा ध्यानाकर्षणपत्रसमेत बुझाउँदै आएका छन् ।

‘कोरोना भाइरस फैलिन सक्ने भएकाले जनगणनाका भौतिक कार्यक्रम हुन नसके पनि स्वास्थ्य प्रोटोकल पालना गरेर विभिन्न समुदायको ध्यानार्षणपत्रहरू बुझिलिने गरेका छौं,’ विभागका निर्देशक ढुण्डिराज लामिछानेले भने, ‘उनीहरूलाई जनगणनासम्बन्धी जानकारी दिने गरेका छौं ।’ आगामी १२ औं राष्ट्रिय जनगणनामा ८० वटा प्रश्न सोधिनेछन् । त्यसलाई सामुदायिक प्रश्नावली, घर तथा घरपरिवार सूचीकरण प्रश्नावली र मुख्य प्रश्नावली गरी तीन खण्डमा विभाजन गरिएका छन् ।

जनगणनामा घरपरिवारमा उपस्थित र अनुपस्थित व्यक्तिको गन्ती मात्र नभई देशको विकास योजना निर्माणका निम्ति महत्व राख्ने शिक्षा, स्वास्थ्य, पशुपन्छी, सामाजिक, आर्थिक र सांस्कृतिकलगायत पक्ष समेटिएका छन् । यतिखेर चासो राख्ने समुदायले भने मुख्य प्रश्नावलीको पाँचवटा बुँदामा केन्द्रित रहेर छलफल अघि बढाएको विभागले जनाएको छ । चासोको विषय बनाइएका प्रश्नमा जात/जाति, धर्म, पुर्खाको भाषा, मातृभाषा र दोस्रो भाषा रहेका छन् । विभागले भाषा आयोगको सिफारिसमा यो पटक ‘पुर्खाको भाषा’ प्रश्नावलीमा समेटेको हो ।

किरात राई जातिको सामाजिक संस्था किरात राई यायोक्खाले अघिल्लो साता राष्ट्रिय जनगणना अभियान आरम्भ भएको घोषणा गरेको छ । ‘जाति राई, पुर्खाको भाषा र मातृभाषामा आआफ्नो थरगत भाषा, नजिकको कुनै एक किराती भाषा र धर्म किरात लेख्न लेखाउन अनुरोध गर्दछौं,’ यायोक्खा अध्यक्ष दिवस राईले भनेका छन्, ‘राई जातिभित्र २६ वटा भाषा छन् । आफ्ना जातीय पहिचान, भाषा र धर्मको टिपोट गर्न र गराइदिन सम्पूर्ण किरात राई समुदायमा अपिल गर्दछौं ।’ यायोक्खाका महासचिव जनक राईले जनगणनाबारे भर्चुअल अन्तरक्रिया जारी रहेको बताए ।

नेवाः देय दबुका महासचिव माइलबाबु देउलाले जनगणना अभियानबारे भर्चुअल माध्यमबाट चरणबद्ध संवादको थालनी गरेको बताए । ‘हामीले आफ्नो भाषालाई नेपालभाषा भन्छौं तर गणकले नेपाली भाषा भन्ने बुझ्ने भएकाले यसपटक नेवारी भाषा भनौं भन्नेबारे छलफल गर्दै छौं,’ उनले भने, ‘जाति नेवार हुनेछ । धर्म चाहिँ बुद्ध धर्म मान्ने र सनातन शैव धर्म मान्नेछौं । यसबारे निष्कर्षमा पुग्न बाँकी छ ।’ त्यसैगरी तमु ह्युल छोंजधि गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेशम गुरुङले भर्चुअल माध्यमबाट जनगणना अभियान अघि बढाएको बताए । ‘तथ्यांक विभागले निर्माण गरेको प्रश्नावलीलाई लिएर हामीले आफ्नो पहिचानको बुँदामा केन्द्रित रहेर संगठनमा प्रशिक्षित गर्ने गराउने काम भइरहेको छ,’ केन्द्र, प्रदेश र जिल्लागत संगठनका नेतृत्वलाई प्रशिक्षण दिएको उल्लेख गर्दै अध्यक्ष गुरुङले भने, ‘जनगणनामा जाति तमु (गुरुङ), मातृभाषा र पुर्खाको भाषा गुरुङ, दोस्रो भाषा छिमेकमा बोलिने मगर र अरू भाषा तथा धर्ममा बौद्ध वा बोन लेखाउनेछौं ।’

नेपाल तामाङ घेदुङका महासचिव बाबु घिसिङले तथ्यांक विभागको जनगणना प्रश्नावलीबारे विज्ञसहित चरणबद्ध छलफल जारी राखेको बताए । ‘तामाङ जातिभित्र धेरैले लामा लेख्छन्, यो थर शेर्पा र टिबेटिनले पनि लेख्छन्,’ गणकलाई थर–उपथर केलाउन मुस्किल पर्ने उल्लेख गर्दै उनले भने, ‘त्यसैले समुदाय नै सचेत हुनुपर्ने ठानेका छौं ।’ तामाङ जाति, तामाङ मातृभाषा बौद्ध धर्म जनाउने चेतनामूलक सामग्री निर्माणमा जुटेको उनले बताए ।

राष्ट्रिय समावेशी आयोगकी कार्यवाहक अध्यक्ष विष्णुमाया ओझा सबै गरिब, विपन्न, पिछडा वर्ग र ज्येष्ठ नागरिकको तथ्यांक छुट्न नहुने बताउँछिन् । ‘जनगणनामा सबै जातजाति, वर्ग, लिंगको सहभागिता हुनैपर्छ भनेर केन्द्रीय तथ्यांक विभागको ध्यानाकर्षण गराइसकेका छौं,’ जनगणनामा जनसहभागिता र चासो जगाउने काम स्थानीय गाउँपालिका, नगरपालिकाहरूको पनि भएको उल्लेख गर्दै उनले भनिन्, ‘आआफ्ना क्षेत्रभित्रका सबै प्रकारका नागरिकलाई जनगणनाको महŒव बुझाएर सही तथ्यांक टिपाउन पहल गर्न जरुरी छ ।’

दलित अधिकारकर्मी गणेश विश्वकर्मा दलित समुदायको थरहरू खस र आर्य समुदायको थरसित मिलेकाले विगतमा यकिन तथ्यांक आउन नसकेको बताए । ‘दलितको थर पौडेल, घिमिरेजस्ता धेरै थर मिलेका कारण ती थरका जनसंख्या दलित राखिएन, त्यसैले गर्दा दलितका निम्ति अलग्गै क्लस्टर निर्माण गरी जनगणना हुनुपर्छ भनेर तथ्यांक विभागको ध्यानाकर्षण गराएका छौं,’ उनले भने, ‘अन्तिममा जनगणना भइसकेपछि टेबुलेसनमा पनि दलित सहभागितामा हुनुपर्छ भनेका छौं । राष्ट्रिय दलित आयोगले यससम्बन्धी किटान गरेको छ । त्यसैअनुसार हुनुपर्छ भनेका छौं ।’

खस क्षत्री समाजका महासचिव इन्द्रबहादुर बरालले जनगणनाको अभियान भर्चुअल र सामाजिक सञ्जालमा बहसका रूपमा अघि बढाएको बताए । ‘संविधानमा खस र आर्य एकै ठाउँ राखेर हामीलाई अन्याय भएको ठानेका छौं,’ उनले भने । नेपालको संविधान ‘खस आर्य भन्नाले क्षत्री, ब्राह्मण, ठकुरी, संन्यासी (दशनामी) समुदाय सम्झनुपर्छ,’ उल्लेख छ । ‘त्यसैले जातमा क्षत्री र धर्ममा मस्टो लेखाउने अभियान सुरु भएको छ,’ उनले भने । देशको कुल जनसंख्याको पहिलो हिस्सा क्षत्रीको रहेको छ । दोस्रोमा पहाडे ब्राह्मणको रहेको छ । यसमा ४३ लाख ९८ हजार क्षत्री र ब्राह्मणको ३२ लाख २६ हजार रहेका छन् ।

अर्को समूह क्षत्री समाजका अध्यक्ष प्राध्यापक दिलबहादुर क्षत्रीले जनगणनालाई पहिचानकै विषयका रूपमा अघि बढाएको सुनाए । ‘जनगणनाको विषय लिएर समुदायमा भौतिक उपस्थिति जनाउन सकिएको छैन तर बौद्धिक वर्गमाझ भर्चुअल माध्यमबाट चर्चा गर्न थालेका छौं,’ उनले भने, ‘खस र आर्य अलग हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । सबैले खोजको राज्यमा पहुँच, सहभागिता र जवाफदेहिता हो, त्यो हुनुपर्छ ।’ ब्राह्मण समाजका अध्यक्ष नारायणप्रसाद अधिकारीले जनगणनाबारे प्रदेशगत भर्चुअल अन्तरक्रिया सुरु गरेको बताए । ‘जनगणनामा मुख्य चासो भनेको धार्मिक सहिष्णुता राखेर मौलिक धर्म संस्कृतिको जगेर्ना हुनुपर्छ भन्ने हो,’ उनले भने, ‘आफ्नो मौलिक धर्म संस्कृति जे छ, त्यसैलाई कायम गर्न जरुरी छ । सिंगो राष्ट्रको हितमा राष्ट्रिय जनगणना हुनुपर्छ भन्ने हामी चाहन्छौं ।’

तेस्रो जनसंख्या भएको मगर समुदायले धर्मको महलमा आफ्नो मौलिकताको खोजी गर्नेतर्फ अघि बढेको नेपाल मगर संघको अध्यक्ष नवीन रोकामगरले बताए । ‘पितृ र प्रकृति पूजाको साझा सभ्यताका रूपमा मगरात धर्म चलनमा आएको छ, त्यसबारे निचोडमा पुग्न बाँकी छ,’ जनगणनाबारे भर्चुअल अन्तक्रिया निरन्तर सुचारु रहेको उल्लेख गर्दै उनले भने, ‘मातृभाषामा मगरढुट, मगर खाम/पाङ र मगर काइके लेखाउनेछौं ।’

चौथो जनसंख्या रहेको थारू जाति आगामी जनगणनामा टुक्रिएर गणना हुने देखिएको छ । थारू आयोगका अध्यक्ष विष्णु चौधरीले थारू समुदायलाई राज्यले टुक्र्याउने काम गरेकाले समस्या देखिएको बताए । ‘थारू समग्रमा एउटै हो तर सरकारले राना थारू फुटाएर गलत भयो,’ आयोगका अध्यक्ष चौधरीले भने, ‘यसरी अलग गर्दै जाने हो भने थारूभित्र १६–१७ वटा टुक्रा हुन सक्छ । त्यसैगरी थारूभित्र थरका कारण पनि जनसंख्या तलमाथि पर्न गएको छ ।’ थारू कल्याणकारिणी सभाका महासचिव प्रेमीलाल चौधरीले कोभिड–१९ का कारण भौतिक उपस्थितिमाझ जनगणना सचेतना कार्यक्रम अघि बढाउन नसकेको बताए । ‘भर्चुअल माध्यमबाट कल्याणकारिणी सभा र राना थारू समाजका पदाधिकारी सदस्यबीच जनगणनाबारे संवाद थालेका छौं,’ महासचिव चौधरीले भने, ‘जाति थारू, मातृभाषा थारू, पुर्खाको भाषा थारू हुने सहमति भएको छ तर धर्मका सवालमा यसअघि बुद्ध धर्म लेखाउने भने पनि ठोस निर्णयमा पुग्न बाँकी छ ।’

त्यसैगरी मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले जनगणनाको विषयलाई लिएर विभिन्न सामाजिक र धार्मिक संघसंस्थाका प्रतिनिधिसँग छलफल अघि बढाएको बताए । ‘मुस्लिम समुदाय शिक्षा र गरिबीमा पिल्सिएको छ,’ धार्मिक स्वभावले पनि मुस्लिमको यथार्थ विवरण आउन नसकेको उल्लेख गर्दै अध्यक्ष अन्सारीले भने, ‘त्यसैले तथ्यांक विभागलाई मुस्लिम बाहुल्य क्षेत्रको जनगणना लिँदा सम्बन्धित समुदायकै गणक खटाउन ध्यानाकर्षण गराएका छौं ।’ खान, राउत, राइन, धोबीजस्ता थर अरू जातसँग मिल्ने भएकाले विगत जनगणनामा यथार्थ तथ्यांक आउन नसकेको उनको तर्क छ ।

आगामी जनगणना गणतन्त्र नेपालको पहिलो भएकाले हरेक घरपरिवारमा पुगेर परिवारमूलीसित प्रश्नावली सोधिनेछ । ती प्रश्नावलीबारे पूर्वजानकारी तथा प्रशिक्षण दिन जरुरी देखिएको छ । २०६८ सालको तथ्यांकअनुसार देशमा १ सय २५ जातजाति र १ सय २३ भाषा छन् । दसवटा धर्म मान्छन् । २०७८ मा ३ करोड ५ लाख २६ हजारभन्दा बढी जनसंख्या पुग्ने पूर्वानुमान गरिएको छ । तथ्यांक विभागमा जनगणनालाई लिएर प्रजापति कुम्भकार समाज, वैश्य संघ, सोनाहा विकास समाज, केवरत विकास समाज, बराम संघ, रौनियार समाज, बेल्दार जाति समाज, देव सेवा समिति, किरात महासंघ, राना थारू समाज, पुन समाजलगायतले ध्यानाकर्षणपत्र बुझाएको जनाइएको छ । त्यसैगरी विश्व हिन्दु महासंघ, क्रिस्चियन महासंघ, जयतु संस्कृतम, सनातन वैदिक धर्म, हिन्दी मञ्च नेपाल र मगही फाउन्डेसनलगायतले ज्ञापनपत्र बुझाएको निर्देशक लामिछानेले बताए ।

प्रकाशित : कार्तिक १३, २०७७ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?