कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दिदीबहिनीले पाए नयाँ घर

कान्तिपुर संवाददाता

चितवन — फोहोरी महतो र मसुनी महतो दिदीबहिनी हुन् । उनीहरू मागेर खाने र जहाँ पुग्यो उहीं, कहिले गाउँलेको पिँढीमा त कहिले बाटो चौतारोमा सुत्ने गर्दथे । कोरोना कहर बढ्दै जाँदा हिँड्न, डुल्न रोकियो ।

दिदीबहिनीले पाए नयाँ घर

यी दुई दिदीबहिनी कान्छी बहिनी ठगहनी चौधरीको शरण परे । कालिका नगरपालिका–५ पदमपुरमा रहेको ठगहनीको थोरै जग्गामा उनीहरूले सानो छाप्रो बनाए । कमजोर खाँबो ठडाएर, खरका मुठाले जसोतसो छाएर र बोराले बारेको झुप्रो घरले हावा र वर्षात सहन सकेन । घर मक्कियो ।

स्थानीय पत्रकार सन्तकुमार चौधरीले यो झुप्राको कथा लेखे । पर्सा बजार बस्ने समाजसेवी मुरलीप्रसाद गजुरेलले सहयोग जुटाउन सुरु गरे । भदौ २८ मा घर बनाउन सुरु भयो । देश/विदेशबाट प्राप्त सहयोगका कारण घर ठडियो । दसैंको टीकाभन्दा अघिल्लो दिन नवमीमा उनीहरूले गृह प्रवेश पनि गरे ।

गजुरेलका अनुसार घर बनाउन २ लाख ९७ हजार रुपैयाँ खर्च भयो । ५१ जनाले ३ लाख ८२ हजार रुपैयाँ सहयोग गरेका थिए । बचत भएको रकम अन्यत्र कोही असहाय भेटिए सहयोग गर्ने उनले बताए । सबैभन्दा धेरै जापान बस्दै आएका प्रेमप्रसाद आचार्यले १ लाख ४० हजार रुपैयाँ सहयोग गरे । ‘धेरै कुरा सहुलियत दरमा पाएका छौं । उनीहरूको जुन दुर्दशा थियो त्यो देखेर धेरैले सहयोग गर्न खोज्नुभयो । हामीले पुग्यो भन्दा पनि धमाधम रकम आयो । बचत भएको पैसा अन्यत्र यस्तै काममा लगाउनेछौं,’ गजुरेलले भने ।

फोहोरी र मसुनी नयाँ घर पाउँदा दंग छन् । ‘हामीले साह्रै दुःख पायौं । यहाँ सानो छाप्रो बनाएका थियौं । तर पानी सप्पै चुहिन्थ्यो । खेतमा पानी ताल परेर पनि भित्रै पस्थ्यो । जाने ठाउँ नहुँदा यहीं दुःख पाएर बस्यौं । अहिले त धेरै सुविस्ता हुने भयो । दुईवटा कोठा छन् । सामान राख्न बक्सा छ । राम्रो पलङ, बिस्तारा छ,’ फोहोरीले भनिन् । यस्तो घर, शौचालय र पलङ, बिस्तारा आफूले सपनामा पनि नदेखेको उनले सुनाइन् ।

प्रकाशित : कार्तिक १३, २०७७ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?