कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपा केन्द्रीय कमिटी बैठक मंसिर १५ सम्मका लागि सर्‍यो

अध्यक्षद्वयबीच छैन छलफल 
जयसिंह महरा

काठमाडौँ — सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठक एक महिना पछि बस्ने भएको छ । कार्तिक १५ गतेका लागि तय भएको बैठक मंसिर १५ गतेसम्मका लागि सरेको सर्कुलर केन्द्रीय सदस्यहरूलाई गरिएको छ ।

नेकपा केन्द्रीय कमिटी बैठक मंसिर १५ सम्मका लागि सर्‍यो

नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले केन्द्रीय सदस्यहरूलाई बैठक सरेको बारे जानकारी पठाएका हुन् । केन्द्रीय सदस्यहरूलाई पठाइएको जानकारीमा भनिएको छ, 'नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको २०७७ कार्तिक १५ गतेदेखि आयोजना गरिएको तेश्रो पूर्ण बैठक कोभिड- १९ महामारीका कारण स्थगित गरिएको छ । उक्त बैठक आगामी मंसिर १५- १७ मा आयोजना हुने जानकारी गराइन्छ ।'

महाधिवेशनको तयारीका लागि कार्तिक १५ गतेदेखि बस्ने भनिएको बैठक कोरोना भाइरसको संक्रमण र अन्य तयारी पूरा नभएकाले सरेको हो । केन्द्रीय कमिटी बैठकबारे प्रवक्ता श्रेष्ठले बैठक सर्नेबारे बुधबार बिहानदेखि छलफल भएको बताएका थिए । उनले बैठकको अर्को मिति कहिले तय गर्ने भन्नेबारेमा छलफल भइरहेको बताएका थिए । सचिवालय सदस्यहरूसँगको परामर्शपछि बैठकको नयाँ मिति तय गरिएको हो ।

नेकपा सचिवालयका एक सदस्यका अनुसार स्थायी कमिटीको भदौमा सकिएको बैठकले गरेका निर्णय कार्यान्वयन भएका छैनन् । स्थायी कमिटी बैठकले सांगठनिक एकता र महाधिवेशनको तयारीसम्बन्धि गर्ने कामको सूची र समय तालिका तयार पारेको थियो । त्यस्तै कार्यकर्ताको लगत तयार पार्ने पनि स्थायी कमिटी निर्णयमा भनिएको थियो । तर यी कुनै पनि काम सम्पन्न भइनसकेको बताइएको छ ।

केन्द्रीय कमिटी बैठकमा सहभागी हुनका लागि केही केद्रीय सदस्यहरू भने काठमाडौं आउन लागेका बताइएको छ । दसैं मनाएर केन्द्रीय कमिटी बैठकमा सहभागी हुनका लागि नेताहरू काठमाडौं आउन लागेका हुन् ।

नेकपा केन्द्रीय कमिटी सदस्य ठाकुर गैरेले धेरै नेताहरू बैठकमा भाग लिन भनेर काठामाडौं आउन लागेको आफूलाई जानकारी भएको बताए । उनले केन्द्रीय कमिटी बस्नेबारे अध्यक्षहरूले तयारी भने नगरेको महसुस भएको बताए ।

स्थायी कमिटी बैठक बसेका बेला पार्टीभित्र ठूलो विवाद भएको र त्यसको समाधान गर्ने क्रममा केन्द्रीय कमिटी बैठक तय भएकाले त्यो कार्यान्वयन हुनुपर्ने गैरैको भनाइ छ । 'केन्द्रीय कमिटीको बैठकको तयारीका लागि सचिवालयको बैठक बसेको देखिएन । स्थायी कमिटीले गरेको निर्णय कार्यान्वयन हुनुपर्ने हो,' कोरोनाका कारण बैठक सर्ने होला नि भन्ने प्रश्नको जवाफमा उनले भने, 'स्थायी कमिटीको बैठक बसेर निर्णय गर्दाखेरि नि कोरोना थियो । त्यतिबेला उच्च तहमा थियो कोरोना र त्यो सकिन्छ भन्ने कुनै आँककलन पनि थिएन । पार्टी र सरकारले कोरोना सँगसँगै भन्ने निर्णय गरेको हो ।'

पार्टीभित्र कमिटीले निर्णय गर्ने तर अध्यक्षद्वयको अनिच्छाले बैठक नबस्ने भइरहेको गैरैको भनाइ छ । 'कमिटीले निर्णय गर्ने तर नेताहरूको अनिच्छाले बैठक नहुने हो भने त बिडम्बनाको कुरा भयो । केन्द्रीय कमिटी र स्थायी कमिटीका निर्णय कार्यान्वयन नगर्ने छुट अध्यक्षहरूलाई हुनु भएन,' उनले भने ।

अध्यक्षद्वयबीच छैन छलफल

केन्द्रीय कमिटी बैठक लगायतका विषयमा पछिल्लो समय अध्यक्षद्वय ओली र दाहालबीच कुनै पनि छलफल नभएको नेताहरूले बताएका छन् । प्रवक्ता श्रेष्ठले केन्द्रीय कमिटीको छलफल चलाउने वा सार्ने भन्नेबारे यसबीचमा अध्यक्षद्वयबीच औपचारिक छलफल नभएको बताए ।

नेकपाको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुखसमेत रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि केन्द्रीय कमिटी बेठकबारे अध्यक्षद्वयबीच पछिल्लो समय छलफल नभएको बताए । 'बैठक बस्ने वातावरण र तयारी भइरहेको जस्तो लाग्दैन,' उनले भने ।

अध्यक्ष दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले बैठक सर्ने सम्भावना रहेको बताउँदै बुधबार साँझसम्म टुंगो लाग्ने बताए । पछिल्लो समय अध्यक्षद्वयबीच छलफल नभएको उनको पनि भनाइ थियो ।

पछिल्लो पटक प्रधानमन्त्री तथा अध्यक्ष ओलीले पार्टीमा सल्लाह नगरी राजनीतिक नियुक्ति गरेको, भारतीय गुप्तचर संस्था 'रअ' का प्रमुख सामन्तकुमार गोयलसँग भेट गरेको लगायतका विषयमा नेकपाभित्र विवाद उत्पन्न भएको छ । यी विषयमा औपचारिक बैठकमा छलफल भएका छैनन् ।

प्रकाशित : कार्तिक १२, २०७७ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?