कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रानीपोखरीका बाँकी रहेका काम चरणबद्ध रुपमा अगाडि बढाइने

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाले पुनर्निर्माणपछि रानीपोखरीको उद्घाटन भएपनि निर्माण गर्न बाँकी रहेका कामहरुलाई चरणबद्ध रुपमा अगाडी बढाउने भएको छ ।

रानीपोखरीका बाँकी रहेका काम चरणबद्ध रुपमा अगाडि बढाइने

महानगरपालिकाका प्रमुख मेयर विद्यासुन्दर शाक्यले रानीपोखरी गुरुयोजना अनुसारको निर्माणका लागि धेरै काम बाँकी रहेकोले चरणबद्ध रुपमा निर्माण गरिने बताए । रानीपोखरीको मुख्य प्रवेशद्धार र ऐतिहासिक पार्टी लगायतका संरचनाको निर्माण गर्न बाँकी रहेको छ । त्यस्तै गुरुयोजना अन्तर्गत त्रिचन्द्र कलेज, प्रहरी आयुक्तको कार्यालय, शान्तिवाटिका, रत्नपार्क लगायतलाई समावेश गरी बृहत रानीपोखरीको रुपमा विकास गरिने मेयर शाक्यले बताए । यी कामहरु एकैसाथ गर्ने भन्दापनि चरणबद्ध रुपमा अगाडि बढाउने रणनीति अनुसार काम भइराखेको पनि उनले बताए ।

०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरी पुनर्निर्माणको क्रममा आधुनिक शैलीमा बनाउन लागिएको भन्दै विवाद भएको थियो । तर पछि विज्ञहरुको सुझाव अनुसार भूकम्प अघि गुम्बज शैलीमा रहेको बालगोपालेश्वरको मन्दिर प्रताप मल्लको पालामा बनाइको ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको छ । रानीपोखरीको मुख्य पोखरी र बालगोपालेश्वर मन्दिरको काम बाहेक महानगरपालिकाले बनाएको गुरुयोजना अनुसार बृहत रानीपोखरीको विकास गर्न भने बाँकी छ ।

मेयर शाक्यका अनुसार रानीपोखरी विस्तारको काम सम्पन्न भइसकेपछि खुलापार्कको रुपमा नागरिकको लागि खुल्ला हुनेछ । तर पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर भने भाइटिकाको दिन मात्रै खुल्नेछ ।

प्रकाशित : कार्तिक ६, २०७७ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?