कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देउवा-पौडेल विस्थापन गर्न निधिको उम्मेदवारी !

निधि प्रतिस्पर्धामा उत्रँदा पुराना गुट भत्किने र नयाँ समीकरण बन्ने अनि त्यसले पार्टीमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गर्ने नेताहरु कांग्रेसमा थुप्रै छन् ।
मेरो उम्मेदवारी कुनै बार्गेनिङका लागि होइन, आगामी आम निर्वाचनमा पार्टीलाई विजयी गराउन हो । – विमलेन्द्र निधि
कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेस उपसभापति विमलेन्द्र निधिले सभापतिमा प्रतिस्पर्धाका लागि गति बढाउँदै जाँदा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई संकट पर्ने देखिएको छ । संस्थापन पक्षमा निधि देउवाका मुख्य हस्ती हुन् । तेह्रौं महाधिवेशनमा झिनो मतान्तरले सभापति बनेका देउवालाई निधि आफैँ उम्मेदवार भइदिए के गर्ने भन्ने अन्योल छ ।

देउवा-पौडेल विस्थापन गर्न निधिको उम्मेदवारी !

निकट एक केन्द्रीय सदस्यले चार पटक प्रधानमन्त्री, विभाजित र सिंगो कांग्रेसको गरी दुई पटक सभापति भइसकेका देउवाले पराजय हुने गरी प्रतिस्पर्धा नगर्ने दाबी गरे । देउवाले अहिले उम्मेदवारीको तयारी अघि बढाउँदै लैजाने र निर्णय भने प्रदेश सभाको अधिवेशनपछि मात्रै गर्न सक्ने बुझाइ उनको छ । प्रदेश सभाको अधिवेशनले केन्द्रमा सभापति को आउने भन्ने स्पष्ट तस्बिर दिने भएकाले देउवा त्यतिन्जेल आफ्नै कसरतमा लाग्नेछन् ।

देउवा प्रतिस्पर्धामा उत्रिएनन् भने वरिष्ठ नेता पौडेल पनि ‘रिङबाहिर’ पुग्नेछन् । इतर पक्षबाट सर्वसम्मत उम्मेदवार बन्न पौडेललाई चुनौती छ । पुस्तान्तरणको मुद्दा संस्थापनमा भन्दा इतर पक्षमै चर्को छ । महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाले देउवा र पौडेलबाट पार्टी नचल्ने निष्कर्षसहित आफ्नो दाबी अघि बढाइरहेका छन् । तेस्रो धारको नेतृत्व गरेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र उनका समूहका नेताहरूको पनि यस्तै धारणा बनेको छ । १३ औं महाधिवेशनमा सभापतिको दोस्रो चरणको निर्वाचनमा सिटौलाले देउवालाई साथ दिएका थिए । अहिले उनी देउवा र पौडेल दुवैतिर छैनन् ।

उनी निकट नेताहरूका अनुसार सिटौला आफैँ उम्मेदवार बन्ने/नबन्ने, नबने कसलाई साथ दिने निर्णयका लागि महाधिवेशन प्रतिनिधि चयनसम्म पर्खनुपर्ने बताउँछन् । निधिले देउवालाई साथ दिए इतर पक्षमा पनि एउटै उम्मेदवार बनाउन दबाब बढ्छ । त्यस्तो बेला मात्रै पौडेलका लागि सहज हुन सक्ने ठम्याइ छ । दोस्रो पुस्ताका तीनै जना प्रतिस्पर्धीले एकले अर्कोलाई स्वीकार नगर्ने अवस्था देखिएकाले पौडेलको नाममा सर्वसम्मति बनाउने कोसिस हुन सक्छ । तर निधि उम्मेदवारीबाट पछि हट्ने संकेत छैन । पार्टीमा महामन्त्री, उपसभापति र सरकारमा उपप्रधानमन्त्रीको जिम्मेवारी पाइसकेका उनका लागि अबको लडाइँ नै सभापतिका लागि हुने उनी निकट नेताहरूको दाबी छ । केही समयअघि देउवालाई भेटेरै निधिले आफू सभापतिको उम्मेदवार बन्ने जानकारी गराइसकेका छन् । त्यसपछि उनले अघि बढाएको तयारीले देउवा र पौडेल दुवैले असुरक्षा महसुस गर्न थालेका हुन् ।

निधि उम्मेदवार हुने र नहुने कुराले उमेरमा वृद्ध भइसकेका पहिलो पुस्ताका यी दुई नेताका लागि ठूलो अर्थ राख्छ । कांग्रेस नेता मीनेन्द्र रिजालको विचारमा उनको उम्मेदवारीले पुराना गुट भत्किने र नयाँ समीकरण बन्ने देखिन्छ । यसको सकारात्मक प्रभाव पार्टी संगठनमा पनि पर्ने रिजालको दाबी छ ।

संस्थापनमा रहेका कतिपय नेतालाई निधि अन्तिम समयसम्म उम्मेदवार हुँदैनन् भन्ने विश्वास पनि छ । त्यसका लागि देउवाले अन्तिम हतियारका रूपमा ‘प्रधानमन्त्री’ को अस्त्र फालेर भए पनि निधिलाई फकाउन सक्ने उनीहरू बताउँछन् । यसबारे निधिले कान्तिपुरसँग आफ्नो तयारी कुनै लाभका लागि नभएको प्रस्ट्याए । उनले नेतृत्वसहित पार्टीका सबै पंक्तिलाई आफ्नो उम्मेदवारीको प्रसंगलाई ‘बार्गेनिङ’ को अर्थमा नबुझिदिन आग्रहसमेत गरे ।

ज्योतिषीले सात पटक प्रधानमन्त्री बन्ने योग रहेको भनेर केन्द्रीय कार्यसमितिको बैठकमै पटक–पटक सुनाउँदै आएका देउवाले सरकारको नेतृत्वको मौका पाए आफैं लिने हुन् भन्ने छाप पार्टीमा धेरै नेतालाई परेको छ । ‘सभापतिज्यूलाई पार्टीतिरभन्दा सरकारतिर नै बढी रुचि भएको पाइन्छ । नेकपा फुट्नै लागेका बेला यसै पटक सरकारमा जान सकिन्छ कि भन्ने आशासमेत उहाँले देखाउनुभएकै थियो,’ देउवा निकट रहेकै एक केन्द्रीय सदस्यले अनौपचारिक कुराकानीका क्रममा भने, ‘मौका आए प्रधानमन्त्री छोड्नुहोला भन्ने त हामीलाई पनि कहाँ विश्वास छ र ?’ निधिलाई विश्वास हुने त कुरै भएन । ‘प्रधानमन्त्री पद कसैले दिएर हुने पनि होइन, यसमा म विश्वास पनि गर्दिनँ,’ उनले कान्तिपुरसँग भने, ‘मेरो उम्मेदवारी सभापति र प्रधानमन्त्री हुने/नहुने भन्दा पनि आगामी निर्वाचनमा पार्टीलाई बुहमतमा पुर्‍याउने योजनासँग जोडिएको छ ।’

आगामी फागुनमा महाधिवेशन हुने सम्भावना कम छ । कोरोना महामारी बढ्दै गए भदौसम्मै महाधिवेशनको तालिका पुग्न पनि सक्छ । त्यसलगत्तै स्थानीय तहको चुनावी माहोल सुरु हुन्छ । महाधिवेशनले सिर्जना गर्ने द्वन्द्व नसम्हालिँदै कांग्रेस निर्वाचनमा होमिनुपर्ने अवस्था आउन सक्छ । स्थानीय तहको चुनावलगत्तै प्रदेश र संघको निर्वाचनतिर मुलुक प्रवेश गर्छ । त्यस्तो बेला नेकपासँग कसरी जुध्ने ? पार्टीलाई कसरी विजयी गराउने ? यसका पछि निधिले दुई विकल्प अघि सारेका छन् । पहिलो त सहमतिबाटै नेतृत्व चयनको विषय उनले अघि बढाएका छन् । कम्युनिस्टमा जस्तो वैचारिक मतान्तर कांग्रेसमा छैन । आम निर्वाचनको निकट हुने पार्टीको महाधिवेशनमा सर्वसम्मतिबाट नेतृत्व चयन गर्न सके नयाँ जागरण ल्याउन सकिने दाबी उनको छ । ‘त्यो बेला हामी ६ जना (देउवा, पौडेल, सिंह, कोइरालाद्वय र निधि) प्रतिस्पर्धीमध्ये जो सभापति बने पनि मेरो विमति हुने छैन, सबैलाई स्वीकार्य हुने जसलाई पनि मान्न म तयार छु,’ उनले भने ।

यो विकल्पमा जाने सम्भावना धेरै कम छ । सहमति नबने देउवा र पौडेल अभिभावकको भूमिकामा बसिदिन उचित हुने उनको सुझाव छ । नेतृत्व परिवर्तनको आकांक्षा पार्टीको ठूलो पंक्तिले गरेको छ । केन्द्रीय समितिमै रहेका युवा नेताहरूले पुस्तान्तरणको मुद्दालाई अघि सारिरहेका छन् । सहमति वा नेतृत्वको परिवर्तनले मात्रै आउने चुनावमा कांग्रेसप्रति आकर्षण बढाउन सक्ने निधि बताउँछन् ।

निर्वाचनमा पार्टीलाई विजय गराउनुको अर्थ सरकार बनाउनु मात्रै नरहेको निधिले बताए । ‘केपी ओली नेतृत्वको सरकारले प्रणालीमाथि नै हमला गरेको छ । दुई छिमकी मुलुक भारत र चीनसँगको सन्तुलन खलबलाएको छ । अन्य शक्ति र विकास साझेदार मुलुकलाई पनि चिढाएको छ । यस्ता अवस्थामा व्यवस्था, उपलब्धि र प्रणालीलाई जोगाउन पनि कांग्रेस बहुमतमा आउन आवश्यक छ । कांग्रेस एउटा पार्टी मात्रै नभई आन्दोलन, समाज अनि संस्कृति पनि हो । समाजले पनि यतिबेला कांग्रेस खोजेको छ,’ उनले भने । देउवा र पौडेलबाट यो सम्भव छैन त भन्ने प्रश्नमा भने उनी थप बोल्न चाहेनन् ।

०७४ को निर्वाचन गराउँदा सरकार र पार्टीको नेतृत्वमा देउवा थिए । उनकै नेतृत्वमा पार्टीले स्थानीय, प्रदेश र संघको निर्वाचनमा नराम्रो पराजय व्यहोर्नुपर्‍यो । देउवाले हारको नैतिक जिम्मेवारी लिएनन् । विगतका शासकीय कमजोरीले पनि उनी आम जनमानसमा लोकप्रिय नरहेको कांग्रेसभित्रकै नेताहरू बताउँछन् । ‘फेरि देउवाकै नेतृत्वमा पार्टी चुनावमा होमिँदा कांग्रेसले बहुमत ल्याउन सक्ला ? कांग्रेसभित्रको मुख्य बहस नै अहिले यसैमा केन्द्रित छ,’ निधि निकट एक नेताले भने, ‘देउवा र पौडेल दुवैबाट पार लाग्न सक्दैन भन्नेमा दोस्रो पुस्ताका नेताहरू देखिन्छन् । निधिलाई पनि त्यही लागेको छ ।’

निधिले यतिबेला आफू कसैको आलोचनामा उत्रन नचाहेको बताए । ‘शेरबहादुरजीलाई म उठ्न चाहन्छु, तपाईको समर्थन चाहन्छु भनेको छु, रामचन्द्रजी, शशांक, प्रकाशमान, सिटौला र शेखरजी सबैसँग मेरो कुराकानी भइरहेको छ,’ उनले भने, ‘सबै साथीको योगदानको अवमूल्यन गर्न म चाहन्नँ । घोचपेच र आलोचना गर्न पनि इच्छुक छैन । अरू नेताको भूमिका के हुन्छ पछि थाहा होला, मेरो कसैसँग कुनै प्रकारको बार्गेनिङ हुन्न ।’

केन्द्रीय नेताहरूसँगको छलफलपछि निधि जिल्ला सभापतिहरूसँग निरन्तर परामर्शमा छन् । तत्कालै आफ्नो टिम घोषणा गर्ने ठाउँमा भने आइनपुगेको उनले बताए । ‘सभापति देउवा लड्ने र नलड्नेमा निधिजीको टिम कस्तो हुने भन्ने निर्भर हुन्छ,’ संस्थापन पक्षकै एक नेताले भने, ‘सभापति नलड्दा संस्थापनपक्षकै नेताहरू बढी ठोक्किन आइपुग्छन् । लडे दुवै पक्षका जोडिन सक्छन् । यी दुवै परिस्थितिलाई हेरेर अघि बढ्नुपर्ने भएकाले पनि हतारो नगर्ने कुरो भएको होला ।’

प्रकाशित : कार्तिक ५, २०७७ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?