सबै नागरिकहरूको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधारहरू तयार छन् : स्वास्थ्यमन्त्री


काठमाडौँ — स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सबै नागरिकहरूको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधारहरू तयारी अवस्थामा रहेको बताएका छन् ।

मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा सम्बोधन गर्दै उनले कोभिड–१९ को परीक्षण र उपचारमा गुणस्तरीय सेवाको पहुँच वृद्धि गरेको बताउँदै अक्सिजन, आवश्यक औषधि तथा उपकरणहरू अभाव हुन नदिन मन्त्रालयले ठोस योजनासहित प्रभावकारी व्यवस्था मिलाएको जनाए ।
स्वास्थ्य मन्त्रालयले विपन्न नागरिक, अशक्तता भएका, असहाय, एकल महिला, अपांग, ७० वर्ष पुगेका जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरु, सरसफाई कर्मचारीहरु, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरुको नि:शुल्क परीक्षण तथा उपचारको व्यवस्था मिलाएको छ ।
'गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँचलाई सहज बनाउन जनताको चाहना र मागअनुसार निजी क्षेत्रको समझदारी र साझेदारीमा शुल्क तिर्न सक्ने व्यक्तिहरूका लागि सशुल्क सेवा उपलब्ध गराउन आवश्यक ठानी यी कदमहरू चालिएका हुन्', मन्त्री ढकालले भने ।
मन्त्री ढकालले अक्सिजन र मनिटर सहितको ३ हजार ५ सय हाइ डिपेन्डेन्सी युनिट थप्ने कार्यलाई तीव्र रूपमा अगाडि बढाइएकाले कोभिड–१९का सिकिस्त बिरामीहरूको उपचारलाई सहज बनाउने दाबी गरे ।
सम्बोधनका क्रममा अस्पताल नभएका ६४९ स्थानीय तहमा ५ बेडको अस्पताल स्थापना गरी संचालनका लागि आवश्यक बजेट व्यवस्था गरी पठाइएको र स्थानीय तहहरूमा कार्य सुरु भइसकेको उनले जानकारी गराए ।
प्रकाशित : कार्तिक ४, २०७७ १७:३५