कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेपत्ता प्रहरीको शव माेहना नदीभित्र गाडिएको अवस्थामा भेटियो

अर्जुन शाह

धनगढी — शनिबारदेखि बेपत्ता रहेका कैलालीको जुगेडास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान रामबहादुर साउँदको शव मंगलबार मोहना नदीमा पानीभित्र बालुवामा गाडेको अवस्थामा भेटिएको छ ।

बेपत्ता प्रहरीको शव माेहना नदीभित्र गाडिएको अवस्थामा भेटियो

उनीसँगै बेपत्ता चौकी इन्चार्जको हत्या गरि नदीभित्र फ्याँकिएको अवस्थामा आइतबार शव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दानबहादुर रोकायाका अनुसार साउँदलाई हत्या गरी शव मोहना नदीभित्र बालुवाभित्र गाडिएको अवस्थामा फेला परेको हो । जवान साउँदको शव इन्चार्ज असई गोविन्द विकको शव भेटिएको स्थानभन्दा झण्डै ३ मिटर टाढा भेटिएको रोकायाले बताए ।

तस्बिर : धनराज साउँदकाे फेसबुकबाट

धनगढी नजिकै रहेको जुगेडा क्षेत्रमा भारतीय क्षेत्रबाट चोरी तस्करी हुने मुख्य नाका हो । तस्करहरुप्रति आक्रामक स्वभावका इन्चार्ज विकसहित साउँद गस्तीमा खटिएकै बेला बेपत्ता भएका थिए । उनीहरु दुवै जनाको धारिलो हतियारले टाउकोमा प्रहार गरि हत्या गरेर मोहना सीमा नदी मोहनामा फ्याकिएको प्रहरीको भनाइ छ । घटना भएकै दिनदेखि खोजी कार्यमा शसस्त्र प्रहरीसहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित थिए ।

प्रहरीले अनुसन्धानका क्रममा स्थानीय १३ जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ गरिएकैहरुमध्ये केहीको घटनामा संलग्नता रहेको हुनसक्ने प्रहरीको भनाई छ । ‘गहिरो अनुसन्धान भइरहेको छ’ इन्सपेक्टर रोकायाले भने, ‘संलग्नहरु चाँडै पत्ता लाग्छन् ।’ घटनाको अनुसन्धान गर्न सिआइबी लगायत प्रहरीका विभिन्न टोली खटिएका छन् ।

प्रकाशित : कार्तिक ४, २०७७ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?