सरकारी अस्पतालहरूले लागू गर्न थाले कोरोना उपचार खर्च बिरामीलाई तिराउने निर्णय- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारी अस्पतालहरूले लागू गर्न थाले कोरोना उपचार खर्च बिरामीलाई तिराउने निर्णय

सिभिलमा सोमबारदेखि, वीर अस्पताल पनि लागू गर्ने तयारीमा
स्पष्ट गाइडलाइन नबनी लागू गर्दैनौं : टेकु अस्पताल निर्देशक
कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारी अस्पतालहरुले कोभिड-१९ संक्रमित बिरामीको उपचार खर्च नव्यहोर्ने निर्णय सोमबारदेखि लागू गर्न थालेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार कोरोनाको परीक्षण तथा उपचार व्यक्तिको आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको नियमित पत्रकार सम्मेलनमा बताएका थिए । अस्पतालहरुले यही निर्णय कार्यान्वयन गर्न थालेका हुन् ।  

काठमाडौंस्थित सिभिल अस्पतालले सोमबार एक सूचना जारी गरी संक्रमितहरूले आफैंले उपचार खर्च र खाना खर्च बेहोर्नुपर्ने बताएको छ । ‘नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयानुसार यस अस्पतालमा कोराना संक्रमण भई उपचाररत बिरामीहरुले कात्तिक २ गतेदेखि लागू हुने गरी सम्पूर्ण खर्च बिरामी स्वयंले बेहोर्नुपर्ने जानकारी गराइन्छ । खाना अस्पताल क्यान्टिनमा नगद धरौटी राखी उपलब्ध हुने ब्यहोरा जानकारी गराइन्छ,’ सूचनामा उल्लेख छ ।

अस्पतालका निर्देशक डा. दीर्घराज आरसीले यो नियम सोमबारदेखि लागू भएको कान्तिपुरलाई जानकारी दिए । ‘पहिला त हामीले निःशुल्क नै गरेका हौं नि, सरकारले यो निर्णय गरेपछि लागू गरेको हो,’उनले भने ।

वीर अस्पतालले पनि यो निर्णय छिट्टै लागू हुने जनाएको छ । 'सरकारको निर्णयअनुसार छुट्याइएको समूहबाहेक अरुको उपचार नब्यहोर्न भनिएको छ सम्भवतः भोलिदेखि लागू हुन्छ होला,' अस्पतालका निर्देशक डा केदार सेञ्चुरीले भने ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले भने यो निर्णयको लागि स्पष्ट गाइडलाइन तयार भएमात्र भविष्यमा लागू हुनसक्ने बताए ।

उनले भने,‘अहिले सरकारले बिरामीको अवस्थाअनुसार उपचारको दैनिक भत्ता दिइरहेको छ अनि हामीले किन बिरामीलाई तिराउने ?’ उनले सक्ने व्यक्तिहरुले महंगो औषधि किन्न पैसा भने तिर्दे आएको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक रुपमा विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, सुरक्षाकर्मी लगायतको मात्रै लक्षण देखिएको खण्डमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने जानकारी गराएको छ । मन्त्रालयका अनुसार जसले कोरोना बीमा गरेका छन् र उनीहरुको उपचार खर्च बीमा रकमबाट काटिने छ ।

प्रकाशित : कार्तिक ३, २०७७ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्

अब चीन विश्वकै ठूलो 'बक्सअफिस'

एजेन्सी

चीनको 'बक्सअफिस'ले अमेरिकालाई उछिनेर विश्वकै ठूलो बनेको छ । अमेरिकाको मनोरञ्जन क्षेत्रलाई कोरोना महामारीले असर पारिरहेको बेला चीनका फिल्म हलहरु भने कमाइको पुरानै लयमा फर्किन थालेका छन् ।

आर्टिसन गेटवेको तथ्याङ्कअनुसार उत्तर अमेरिकाको कुल १.९३७ बिलियन डलरको टिकट बिक्रीलाई उछिनेर चीनको बक्सअफिस आइतबार १.९८८ बिलियन डलर पुगेको हो ।

यो वर्षको अन्तसम्ममा टिकट बिक्रीको यो अन्तर व्यापक हुने अनुमान गरिएको छ । यसअघि चीनलाई फिल्मको कमाईका हिसाबले विश्वको दोस्रो बक्सअफिस मानिन्थ्यो । विश्वकै सबभन्दा धेरै जनसंख्या भएको चीनमा फिल्म र फिल्म हल निर्माणको क्रम बढ्दो थियो । यसकारण पनि चीनले चाँडै नै अमेरिकालाई बक्सअफिसमा उछिन्ने अनुमान गरिएको थियो । कोरोना महामारीले गर्दा त्यो दिन छिटै आएको विश्लेषण गरिएको छ । कोरोना महामारीपछि चीनका हजारौं फिल्म हल ७५ प्रतिशत अकुपेन्सीमा खुलेको हलिउड रिपोर्टरले जनाएको छ ।

भेराइटीले यस वर्ष चिनियाँ बक्सअफिस ३२ प्रतिशतले घटेको भए पनि उत्तर अमेरिकी बक्सअफिसलाई उछिनेर सबभन्दा ठूलो बन्न यो काफी रहेको जनाएको छ ।

अक्टोबर १ देखि ८ सम्मको बिदामा चीनका हलहरुमा ५ सय ८६ मिलियन डलरको टिकट बिक्री भए । हलिउड रिपोर्टरमा प्रकाशित रिपोर्टका अनुसार यस अवधिमा फिल्म 'माई पिपुल, माई होमल्याण्ड'ले एक सातामा १९.१ मिलियन डलर कमाइ गर्‍यो । प्रदर्शनको १८ औं दिनपछि फिल्मको कुल कमाई ३ सय ६० मिलयन डलर पुगेको थियो । अर्को चिनियाँ फिल्म 'द एइट हन्ड्रेड'ले ४ सय ६० मिलियन कमायो । यो सन् २०२० को सर्वाधिक कमाइ गर्ने फिल्म हो । हलिउडको 'ब्याड ब्वोइज फर लाइफ'ले यो वर्ष ४ सय २६ मिलियन डलर कमाएको थियो ।

अमेरिकाको बक्स अफिस भने कोरोनाका कारण अझै खस्किन सक्ने बताइएको छ । अमेरिकामा कोरोना संक्रमण नघटेका कारण प्रमुख फिल्म हलहरु अझै खुल्न सकेका छैनन् । ठूला स्टुडियोले निर्माण गरेको फिल्मको प्रदर्शन समय पछाडि सारिएको छ । मार्भलको 'ब्ल्याक विइडो', जेम्स बोन्डको 'नो टाइम टू डाई'को प्रदर्शन २०२१ का लागि सारिएका छन् ।

प्रकाशित : कार्तिक ३, २०७७ १७:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×