विराटनगरमा थप चार संक्रमितको मृत्यु- समाचार - कान्तिपुर समाचार

विराटनगरमा थप चार संक्रमितको मृत्यु

देवनारायण साह

मोरङ — विराटनगरमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–२ की ६० वर्षीया महिला, विराटनगर–३ का ६६ वर्षीय पुरुष, ग्रामथान गाउँपालिका–४ का ६६ वर्षीय र पथरीशनिश्चरे नगरपालिका–१ का ५३ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

उनका अनुसार विराटनगर–२ की महिलाको कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपचारका क्रममा सोमबार मृत्यु भएको हो । उनलाई असोज १९ गते कोरोना पुष्टि भएको थियो ।

त्यस्तै विराटनगर–३ र ग्रामथान–४ का पुरुषको नोबेल अस्पतालमा उपचारका क्रममा आइतबार राति मृत्यु भएको छ । ग्रामथानका पुरुषलाई श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकोमा स्वाब परीक्षण गराउँदा असोज २९ गते कोरोना पुष्टि भएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।

विराटनगर–३ का पुरुषलाई असोज २७ गते कोरोना पुष्टि भएको थियो । उनलाई शरीरमा अक्सिजन र रगतमा सुगरको मात्रा कमी हुनुका साथै श्वासप्रश्वासमा समस्या आएपछि आइतबार साँझ अस्पताल भर्ना गराएकोमा उपचारकै क्रममा मृत्यु भएको दाहालले जानकारी दिए ।

यस्तै, पथरीशनिश्चरे–१ का पुरुषको न्युरो अस्पतालमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको छ । उनलाई कोरोनाको लक्षण देखिएपछि स्वाब संकलन गरी परीक्षण गराउँदा असोज २२ गते रिपोर्ट पोजिटिभ आएको थियो । ती व्यक्ति मिर्गौलासम्बन्धी रोगले पीडित रहेको अस्पतालका प्रबन्धक राजेश भट्टराईले जानकारी दिए । यससँगै प्रदेश १ मा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको छ ।

प्रकाशित : कार्तिक ३, २०७७ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्

कोरोना संक्रमणबाट पर्वतमा एक महिलाको मृत्यु

अगन्धर तिवारी

पर्वत — कोरोना संक्रमण पुष्टि भएकी पर्वतकी एक महिलाको मृत्यु भएको छ । कुश्मा नगरपालिका–५ की ती महिलाको आइतबार साँझ घरमै मृत्यु भएको हो । 

श्वासप्रश्वास तथा निमोनियाको समस्या देखिएपछि गत २९ असोजमा पोखरास्थित मेट्रोसिटी अस्पतालमा उपचारका लागि लगिएकी ४८ वर्षीया महिलामा कात्तिक २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारकै क्रममा मेट्रोसिटीले आइतबार होम आइसोलेसनमा राख्न भन्दै घर पठाएको र आइतबारै राति उनको मृत्यु भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशक डा. विनोदबिन्दु शर्माद्वारा जारी विज्ञप्तिअनुसार बागलुङ नगरपालिका–१३ स्थायी घर भएकी २८ वर्षीया महिलाको कुश्मा नगरपालिका–५ मा आइतबार साँझ ७ बजे मृत्यु भएको हो ।

पर्वतमा कोरोना संक्रमणका कारण मृत्यु भएको यो पहिलो घटना हो । पर्वतमा हालसम्म १३० जना कोरोना पोजिटिभ भएकोमा १२६ जना निको भइसकेका छन् । सक्रिय संक्रमित ४ जना रहेको डीसीसीएमसीका प्रवक्ता प्रविण भण्डारीले बताए ।


प्रकाशित : कार्तिक ३, २०७७ १२:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×