कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोक्का जग्गा अर्कैका नाममा

लक्ष्मी साह

बारा — पर्सा औद्योगिक करिडोरको एउटा कारखानाका नाममा जग्गा किर्ते गरेर बिक्री भएको खुले पनि सम्बद्ध निकायले कुनै कारबाही नगरेपछि सञ्चालक तनावमा छन् । बैंकमा धितो राखेर ऋण लिन खोज्दा उक्त जग्गा बिक्री भइसकेको कारखाना सञ्चालकले थाहा पाएपछि अख्तियार र मालपोतमा उजुरी दिएका थिए ।

पथलैया–वीरगन्ज ६ लेनको राजमार्गसँगै जोडिएको ६ बिघा ४ कट्ठा १९ धुर जग्गा किर्ते गरी बेचबिखन भएको हो ।

औद्योगिक करिडोरमा पर्ने उक्त आकर्षक जग्गा अर्को व्यक्तिले आफ्नो नाममा पारेर दोस्रो/तेस्रो व्यक्ति र कम्पनीसित बिक्री गरेको खुलेपछि कारखानाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको छ । । जग्गाको चलनचल्तीको बजार मूल्य ६० करोडभन्दा माथि पर्न आउने दाबी कारखानाको छ । वीरगन्ज–१३ स्थित नेपाल ननफेरस उद्योग प्रालिका नाममा रहेको बाराको जितपुर सिमरा–३ को ११ बिघा १८ कट्ठा ४ धुर जग्गामध्ये १० वटा कित्ताको ६ बिघा ४ कट्ठा १९ धुर मोहडा जग्गा मालपोतका कर्मचारी, लेखापढी व्यवसायी र भूमाफियाको मिलेमतोमा अर्कैका नाममा लिखत पास भई बेचबिखन भएको हो ।

विभिन्न व्यक्तिले ती जग्गा आफ्नो नाममा राजीनामा रजिस्ट्रेसन पास गराई बिक्री गरेपछि जग्गाधनीले त्यसको छानबिनका लागि सम्बन्धित निकायसित माग गरेका छन् । कित्ता नम्बर १०४ को १ बिघा ३ कट्ठा ४ धुर, १०२ नम्बरको ८ कट्ठा १७ धुर, १०७ को १९ कट्ठा १९ धुर, १०८ को १ बिघा ३ कट्ठा ८ धुर, १०९ को १० कट्ठा ५ धुर, ११० को ६ कट्ठा १६ धुर, ११२ को १ बिघा १२ कट्ठा १० धुर गरी ६ बिघा ४ कट्ठा १९ धुर जग्गा किर्ते गरी बिक्री गरिएको हो ।

यसबारे ननफेरस उद्योगका प्रतिनिधि सञ्जय केडियाले अख्तियारमा उजुरी र मालपोत कार्यालयमा दोहोरो स्रेस्ता बदरको मुद्दा दिए पनि टुंगो लागेको छैन । ‘न अख्तियारले छानबिन गरेको छ, न त मालपोतबाट मुद्दाको टुंगो लागेको छ,’ उनले भने । २०७२ सालमा ती जग्गा किर्ते गरी अरूको नाममा सरेपछि दुवै निकायमा मुद्दा र उजुरी परेको हो । २०४३ असोज १४ मा काठमाडौंका गणेशराज उपाध्यायको नामबाट ननफेरस उद्योगका अध्यक्ष विश्वनाथप्रसाद केडियाले ती जग्गा खरिद गरी आफ्नो कम्पनीको नाममा २०४३ साल असोज १४ मा राजीनामा लिखत पास गराएका थिए ।

उद्योगको उक्त जग्गा बारा जिल्ला अदालतबाट २०६८ सालमै रोक्का रहेकै अवस्थामा २०७२ मा अर्को स्रेस्ता खडा गरी अरू व्यक्तिको नाममा मिलेमतो गरी पास गरिएको कान्तिपुरलाई प्राप्त कागजातले देखाएको छ । यसविरुद्ध उद्योगका तर्फबाट केडिया ‘अर्गनाइजेसन’ का निर्देशक सञ्जय केडियाले किर्ते गर्नमा संलग्न व्यक्तिलाई पक्राउ गरी कारबाही गर्न दुई वर्षअघि नै अख्तियारमा लिखित विवरणसहित उजुरी दिएका हुन् ।

आफूले किनेको जग्गा रमेश मानन्धरले बारा जिल्ला अदालतमा हक कायमसम्बन्धी मुद्दा गरेर २०६८ सालमा जग्गा रोक्का गराएकै अवस्थामा आफ्नो जग्गा किर्ते गरी बेचबिखन गरिएको उनले बताए । अदालतले २०६८ भदौ २५ मा जग्गा रोक्का गरेको थियो । त्यही रोक्का जग्गा अरूले किर्ते गरी आफ्नो नाममा पारेर दोस्रो/तेस्रो व्यक्ति र कम्पनीसित बिक्री गरेको उनको भनाइ छ ।

प्रकाशित : कार्तिक ३, २०७७ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?