सुख्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुख्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

घनश्याम गौतम

रूपन्देही — कालीगण्डकी करिडोरमा सुख्खा पहिरो झरेपछि शनिबार रातिदेखि सडक अवरुद्ध भएको छ । करिडोरको हर्मिचौर-बाग्लुङ खण्डको कालीगण्डकी गाउँपालिका ४ र ६ जोड्ने गौडी खोला माथिबाट पहिरो खसेको हो ।

पहिरोले नेपाली सेनाले झण्डै १ करोड रुपैयाँमा निर्माण गरेको बेली ब्रिज पूर्ण रुपमा क्षति भएको छ । त्यस्तै, उत्तर दक्षिण कालीगण्डकी करिडोर डिभिजन कार्यालय पाल्पाद्वारा निर्माण भइरहेको झण्डै ४ करोड लागतको पक्की पुलमा पनि क्षति पुगेको छ ।


सडक निर्माण गरिरहेको नेपाली सेनाको कालीगडण्डकी सडक निर्माण कार्यलदका प्रमुख सेनाली (कर्णेल) रेश्मीराज भट्टराईका अनुसार पहिराले सेनाले करिडोर सञ्चालनका लागि २०७३ सालमा निर्माण गरेको २४ मिटर लम्बाइ र ८० फिट उचाइको बेली ब्रिज पूर्णरुपमा क्षति भएको छ । ‘अब त्यही पुल काम लाग्दैन्,’ उनले भने, ‘पहिरोले क्षतविक्षत भएको पुललाई खोलाले बगाएर केही तल पुर्‍याएको छ ।’ पहिरोले खोलालाई झण्डै १ घण्टा थुनेको थियो ।

पहिरोले बेली ब्रिजको २० मिटर नजिकै निर्माण गरिरहेको करिडोरकै पक्की पुलमा पनि क्षति पुर्‍याएको छ । पुलको ९८ प्रतिशत काम सकिएको निर्माण व्यवसायी भागवत गिरीले बताए । ‘निर्माण सकेर हस्तान्तरणको तयारीमा थियौं,’ उनले भने, ‘पुलकै माथिबाट खसेको सुख्खा पहिरोले क्षति पुर्‍याएको छ ।’


पुल निर्माणको करिडोर कार्यालय पाल्पाले अनुगमन गरेपछि मात्र पूर्ण क्षतिको विवरण आउने उनले बताए । पहिरोले दुवै पुलमा क्षति पुर्‍याएपछि करिडोरमा आवतजावत बन्द भएको छ । सडक खुल्न कम्तीमा दुई दिन लाग्ने सेनाले जनाएको छ ।

प्रकाशित : कार्तिक २, २०७७ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्

लामो दूरीका सवारी साधानमा यात्रुहरुको संख्या न्यून

कान्तिपुर संवाददाता

काठमाडौँ — घटस्थापना सुरु भएपनि दसैंमा घर फर्कने यात्रु नहुँदा लामो दूरीका सवारीसाधनमा खासै भिडभाड देखिएको छैन । काठमाडौं बाहिर जाने मुख्य नाकाहरु कलंकी र कोटेश्वर पुग्दा सवारीसाधनमा भिडभाड देखिएन । 

सरकारले कात्तिक १ गतेदेखि पुरानै भाडादर लागू गरी पूर्ण क्षमतामा सवारी साधन सञ्चालन गर्न अनुमति दिएको छ । तरपनि सवारीसाधनमा यात्रा गर्ने यात्रुहरुको संख्या न्यून देखिएको छ ।

अघिल्ला वर्षहरुमा दसैं सुरु भएसँगै काठमाडौं उपत्यकाबाट घर फर्किनेहरुको चहलपहल बसपार्क, कलंकी, र कोटेश्वर क्षेत्रमा निकै देखिन्थ्यो । अग्रिम टिकट बुकिङ गर्दा समेत सहजै यात्रा गर्न मुस्किल पर्ने गर्दथ्यो । तर यसवर्ष कोभिड संक्रमणका कारण ती क्षेत्रहरु सुनसान छन् ।

लामो दूरीमा यात्रा गर्ने सवारी साधन नै न्यून देखिन्छन् भने यात्रुहरुको संख्या पनि निकै कम छ । कात्तिक एक गतेदेखि सरकारले सवारी साधनको पुरानै भाडादर कायम राख्ने तर पूर्ण क्षमतामा यात्रु राख्‍न पाउने व्यवस्था गरेको छ । तरपनि यात्रु नपाउँदा समस्या भएको यातायात व्यवसायीहरुको भनाइ छ ।

सरकारले पुरानै भाडादर कायम गरेपनि यात्रु पाउन कठिन भएको सवारीसाधन चालकहरु बताउँछन् । बसमा पूर्ण क्षमतामा यात्रु राख्दा जोखिम बढी हुने भएकाले यात्रुहरु नै बस चढन नमान्ने गरेको चालकहरु बताउँछन् ।

बसमा यात्रा गर्ने यात्रुहरु पनि असुरक्षित महसुस भएको बताएका छन् । सवारीसाधनमा यात्रा गर्ने यात्रुको संख्या न्यून भएको तर लामो समय कुरैरै भएपनि पूर्ण क्षमतामा यात्रु राख्ने गरेकोले जोखिम महसुस भएको यात्रुहरुको भनाइ छ । यस्तै सार्वजनिक सवारीसाधनमा सामाजिक दूरी कायम नगर्ने, मास्क र सेनिटाइजरको प्रयोग नगरेको पाइएकाले पनि संक्रमणको जोखिम महसुस भइराखेको यात्रुहरु बताउँछन् ।

संक्रमणको जोखिमका कारण नेपाल सरकार र स्थानीय तहहरुले जो जहाँ छ त्यहीँ नै दसैं मनाउन आग्रह गर्दै आएका छन् । त्यसैले पनि यसपटकको दसैंमा उपत्यकाबाट घर फर्किने मानिसहरु न्यून संख्यामा देखिएका छन् ।

प्रकाशित : कार्तिक २, २०७७ १४:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×