घरमै आइसोलेसनमा बसेका संक्रमितको मृत्यु भए आफन्तले शव व्यवस्थापन गर्न पाउने- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घरमै आइसोलेसनमा बसेका संक्रमितको मृत्यु भए आफन्तले शव व्यवस्थापन गर्न पाउने

होम आइसोलेसनमा बसेका संक्रमितको मृत्यु भएमा शवलाई आफन्तले नै पीपीई लगाई पोका पारेर बडी ब्यागमा राख्नुपर्छ । परिवारका सदस्यले अनुहार हेर्न चाहेमा ब्यागमा राख्नुअघि नै दुई मिटरबाट हेर्न सकिन्छ ।
कान्तिपुर संवाददाता

काठमाडौँ — घरमै आइसोलेसनमा बसेका संक्रमितको मृत्यु भएमा आफन्तले नै शव व्यवस्थापन गर्न मिल्ने गरी स्वास्थ्य मन्त्रालयले नयाँ मापदण्ड बनाएको छ । मन्त्रालयले कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि संशोधन गरेको हो ।

तस्बिरः सटरस्टक ।

यसअघिको मापदण्डमा अस्पतालमा मृत्यु भएका संक्रमितको व्यवस्थापन जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले मात्रै गर्न सक्ने नियम थियो । घरमै मृत्यु भएमा के गर्ने भन्ने कार्यविधिमा समेटिएको थिएन ।

पछिल्लो समय अस्पताल र आइसोलेसन सेन्टरमा भन्दा होम आइसोलेसनमा बस्नेको संख्या बढ्दै गएपछि मन्त्रालयले सर्वसाधारणले भोगेको समस्या हटाउन यस्तो मापदण्ड तय गरेको जनाएको छ । ‘अस्पतालमा मृत्यु भएकाको शव सेनाको टोलीले व्यवस्थापन गरिरहेका छन् । मृतकको संख्या बढ्न थालेपछि व्यवस्थापनसमेत केही ढिलाइ हुन थालेको छ,’ स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘घरमै मृत्यु हुनेको सवालमा स्थानीय तह र प्रहरीलाई खबर गरेर आफन्तले व्यवस्थापन गर्न सकिने कार्यविधिमा थप गरेका हौं ।’

काठमाडौंमा एक साताअघि घरमै आइसोलेसनमा बसेका बेला मृत्यु भएपछि तत्काल शव व्यवस्थापन हुन नसक्दा आफन्तले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई समेत गुहारेका थिए । ‘आफन्तले व्यवस्थापन गर्न चाहँदा पनि कानुनी अड्चन थियो,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘त्यसैलाई फुकाउन आफन्तले शव ब्यागमा राखेर सुरक्षाको मापदण्ड अपनाई परम्पराअनुसार अन्त्येष्टि गर्न सकिने मापदण्ड तय गर्नुपरेको हो ।’

काठमाडौं उपत्यकामा संक्रमितको मृत्यु भए तीन जिल्लाका सेनाको टोलीले पालैपालो व्यवस्थापन गरिरहेका छन् । एकै दिन फरक जिल्लामा एकभन्दा बढीको मृत्यु भएमा एउटै टोलीले व्यवस्थापन गरेर क्वारेन्टाइन बस्ने गरेको छ । एक दिन एउटा जिल्लाको टोली परिचालन हुन्छन् भने अर्को दिन अर्को जिल्लाको टोली शव व्यवस्थापनमा खटिने गरेको छ ।

घरमै मृत्यु भए के गर्ने ?

घरमै संक्रमितको मृत्यु भएमा आफन्तले नै व्यक्तिगत सुरक्षा सामग्री पन्जा, मास्क, पूरा बाहुला भएको गाउन प्रयोग गरी शवलाई र्‍याप गरी ब्यागमा राख्ने काम गर्नुपर्छ । ‘परिवारका सदस्यहरू र अन्तिम संस्कारमा संलग्न हुने व्यक्तिहरूले सजगता अपनाई अन्त्येष्टि कार्य गर्नुपर्छ,’ नयाँ मापदण्डमा भनिएको छ, ‘यस्तो कार्यमा बच्चा र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलगायत जोखिम समूहमा पर्ने व्यक्तिहरूलाई समावेश गराउनु हुँदैन ।’ आइसोलेसनमा राखेको स्थान/कोठामा शव बोक्ने गाडीसम्म शव पुर्‍याउने काममा समेत मृतकका आफन्त सहभागी हुनुपर्ने मापदण्डमा उल्लेख छ । यसअघि शव व्यवस्थापनमा प्रत्यक्ष सहभागी हुन नपाउने हुँदा एक मिटर टाढै बसेर हेर्ने मृतकका नातेदारले पन्जा र सर्जिकल मास्क मात्रै लगाउनुपर्ने व्यवस्था थियो ।

घरमै मृत्यु भएकाको शव व्यवस्थापन मापदण्डअनुसार आफन्तले स्थानीय प्रतिनिधि र प्रहरीलाई खबर गर्नुपर्ने हुन्छ । स्थानीय तहले जिल्ला समन्वय समिति वा डीसीसीएमसीलाई खबर गर्नेछ । त्यसपछि आवश्यक सामग्रीसहितको शव व्यवस्थापन गर्न टोली खटिनेछ । आफन्तले नै पीपीई लगाई शवलाई पोका पारेर बडी ब्यागमा राख्नुपर्छ । परिवारका सदस्यहरूले अनुहार हेर्न चाहेमा बडी ब्यागमा राख्नुअघि नै दुई मिटरबाट हेर्न सकिन्छ । यसरी पोका पारेको शवलाई डीसीसीएमसीका टोली वा आफन्तले शव वाहन तथा अन्य साधनमा राखेर अन्त्येष्टि गर्न लैजाने स्थानसम्म पुर्‍याउनुपर्ने हुन्छ । कार्यविधिमा भनिएको छ, ‘शवलाई बडी ब्यागमा राखेपछि खोलेर हेर्न मिल्दैन ।’

फेरियो परिभाषा

कोभिड–१९ को लक्षण तथा चिह्न भएका, प्रयोगशाला निदानका आधारमा सम्भावित वा कोरोना पुष्टि भएर मृत्यु भएका सबैलाई कोरोनाबाट मृत्यु भएकोमा गणना गरिने भएको छ । यसअघिको कार्यविधिमा अन्य कारणबाट मृत्यु भएमा कोरोनाकै कारण मृत्यु भएको नमान्ने कार्यविधि थियो । अब भने लक्षण, चिह्न र प्रयोगशालाको निदानका आधारमा सम्भावित वा पुष्टि भएका केसलाई समेत कोरोनाले मृत्यु भएको मानिने गरी परिभाषा नै परिवर्तन गरिएको हो ।

प्रकाशित : कार्तिक २, २०७७ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्

दुई दर्जन आयोजना रुग्ण

कान्तिपुर संवाददाता

ओखलढुंगा — जिल्लाको रुम्जाटार र माम्खा जोड्ने पुल ठेक्का लागेको दुई वर्ष बित्यो । सम्पन्न गर्ने म्याद पनि सकियो । तर २० प्रतिशत मात्रै काम सकिएको छ । साँघुटार ओखलढुंगा सडक कालोपत्र तीन वर्ष बितिसक्दा पनि ३० प्रतिशत सकिएको छैन । यो आयोजनाको पनि सम्पन्न गर्ने म्याद सकिसकेको छ ।

यी दुई आयोजना उदाहरण मात्र हुन् । यस्ता रुग्ण प्रकृतिका आयोजनाहरू जिल्लामा दुई दर्जनभन्दा बढी छन् । त्यसमध्ये प्रायः सडक, पुल र भवन छन् । अधिकांश आयोजना निर्माण सम्पन्न नहुनुमा ठेकेदारले अनेक कारण देखाउने गरेका छन् । यस्ता आयोजनालाई कसरी गति दिने भन्ने विषयमा शनिबार सदरमुकाममा छलफल भएको छ । छलफलमा ठेकेदार, आयोजना प्रमुख र जनप्रतिनिधि सहभागी थिए । ठेकेदार कम्पनीका धेरैजसो प्रतिनिधि मात्र थिए । जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको छलफलबाट रुग्ण आयोजनालाई गति दिई सम्पन्न गर्ने निर्णय गरिएको छ । तर यी निर्णय छलफलमै सीमित हुने सरोकारवालाको शंका छ ।

‘छलफलका लागि मात्र छलफल गरेर काम छैन,’ चिशंखुगढी गाउँपालिका अध्यक्ष निशान्त शर्माले भने, ‘जहिलेसम्म काम नगर्नेलाई कारबाही हुँदैन, त्यतिबेलासम्म यस्ता छलफलको औचित्य छैन ।’ छलफलमा ठेकेदारहरूले काम सम्पन्न नहुनुमा एस्टिमेटमा समस्या, जनप्रतिनिधिको अनुरोध, सर्वसाधारणको अवरोध, कार्यालयले समयमा भुक्तानी नदिनु जस्ता कारण रहेको बताए ।

प्रकाशित : कार्तिक २, २०७७ ०७:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×