कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आइसोलेसनबाट संक्रमितको सन्देश– ‘जहाँ हुनुहुन्छ, त्यहीं दसैं मनाऔं’

दूरी कायम गरौं, मास्क अनिवार्य लगाऔं
साथीभाइसित नडुलौं, भीडमा नजाऔं
सन्जु पौडेल

तिलोत्तमा — पुर्ख्यौली घर दैलेख भएका ३२ वर्षीय युवक एक दशकदेखि बुटवलमै रोजगारीमा छन् । वर्षभरि यहाँ काममै व्यस्त रहने उनी दसैंका बेला घर जान्थे । यसपालि कोरोना महामारीका कारण घर जाने/नजाने दोधारमै थिए । शुक्रबार स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि उनको घर जाने योजना रोकिएको छ । एक निजी कम्पनीमा कार्यरत उनको दसैं अवधि अब बुटवलको एन्फा एकेडेमीको आइसोलेसन सेन्टरमा बित्ने भएको छ ।

आइसोलेसनबाट संक्रमितको सन्देश– ‘जहाँ हुनुहुन्छ, त्यहीं दसैं मनाऔं’

‘ज्यान रहे अर्को साल मनाउँला,’ उनले भने, ‘चाडबाडका बेला एक्लै बस्नुपर्दा खल्लो भने लागेको छ ।’ उनका एक छोरा र एक छोरी छन् । उनीहरू बाबा कहिले आउनुहुन्छ भनेर सोधिरहन्छन् । उनले त्यसको जवाफ दिन नसकेको दुःखेसो गरे । उनको परिवार सात महिनाअघि दैलेखबाट बसाइँ सरेर बाँकेको कोहलपुर आएको हो । ‘आमाबुबा दैलेखमा रहेकाले यसपालि दसैंमा सपरिवार उतै जाने इच्छा थियो,’ उनले भने, ‘आफैंलाई कोरोना लागिहाल्यो, हिँड्न पाइएन ।’

दसैंसित उनका धेरै अनुभूति गाँसिएका छन् । यो चाड आउनेबित्तिकै फरक अनुभव हुने गरेको उनले बताए । ‘पहिले चारैतिर फैलिएका आफन्त जमघट हुन्थ्यौं,’ उनले भने, ‘यसपालि घरमा फोन गरेर जमघट नगर्नु भनेको छु ।’ कोरोनाले कसरी, कहाँबाट आक्रमण गर्‍यो भन्ने थाहै नपाएका उनले दसैंमा स्वास्थ्य मापदण्ड पालना गर्न र सतर्कता अपनाउन अनुरोध गरे । ‘दूरी कायम गर्ने र मास्क प्रयोग गर्नुपर्ने रहेछ,’ उनले भने, ‘हेलचेक्र्याइँ गर्न नहुने रहेछ । जहाँ बस्नुभएको छ, त्यहीँ बसेर चाड मनाउँदा राम्रो ।’

बुटवल–१३ की ५० वर्षीया महिला अहिले बुटवलस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा छिन् । ‘घरबाहिर हिँड्दै हिँड्थिनँ, दशा लागेछ,’ उनले भनिन्, ‘जमरा राख्ने दिन घरको मूली म अस्पतालमा छु ।’ मूल घर भएकाले दाजुभाइ, छोराछोरी गरी २८ जनाका लागि जमरा राख्ने गरिन्थ्यो । दसैंमा सबै जना उनका घरमा जम्मा हुने गर्छन् । यसपालि घर सुनसान छ । सबैले कोरोनाबाट बच्न सतर्कता अपनाएका छन् । ‘शरीर काँप्ने, खानामा रुचि नै नहुने समस्या छ,’ उनले भनिन्, ‘छिटो निको हुन पाए हुन्थ्यो भन्ने ध्यान मात्र छ ।’ विगतका दसैंमा घर आएका सबैलाई टीका लगाइदिएपछि आफू र श्रीमान् आफ्नो माइतीतर्फका आफन्तकहाँ जाने, टीका लगाउने गरेको उनले सुनाइन् । ‘म नै अभिभावक हुँ,’ उनले भनिन्, ‘म नै बिरामी परेपछि अरूले के गर्लान् ?’ दसैंमा आफ्नै घरमा सबै जना जम्मा भएर रमाइलो गरी टीका लगाउने गरेको सम्झनाले मन दुःखी बनाएको उनले बताइन् । ‘धन्न आईसीयूमा बस्न परेको छैन,’ उनले भनिन्, ‘भीडभाड नगर्नुहोला । कोरोनाबाट बचियो भने अर्को साल रमाइलो गर्न सकिन्छ ।’

कोरोना अस्पतालमा बिहीबार साँझ भर्ना भएका सिद्धार्थनगर–१ का ३८ वर्षीय पुरुषलाई कोरोनाबाहेक कलेजोमा पनि समस्या छ । कोरोना पुष्टि हुनुअघि ५ दिनसम्म बुटवलको एक निजी अस्पतालमा कलेजोको उपचार गराएका थिए । आफू संक्रमित हुनुमा निजी अस्पताल कारण हो कि भन्ने उनलाई लागेको छ । वर्षभरिमा सबैभन्दा रमाइलो लाग्ने दसैं सुरु भए पनि मनमा रोगले थप जटिल परिस्थिति सिर्जना गर्छ कि भन्ने चिन्ताले सताइरहेको उनले बताए । कोरोना सामान्य नभएको बताउँदै उनले सबैलाई घरमै बसेर परिवारसित दसैं मनाउन आग्रह गरे । ‘बिरामी नहुने कुरामा ध्यान दिनुस्,’ उनले भने, ‘साथीभाइसित डुल्ने, भीडमा जाने नगर्नुहोला ।’

लुम्बिनी प्रदेशभर शनिबार दिउँसोसम्म ३ हजार ६ सय ४ संक्रमित आइसोलेसनमा उपचाररत छन् । तीमध्ये केही बिरामी निको भएर दसैंमा घर जान सक्नेछन्, केहीको उपचार जारी हुनेछ । प्रदेशका आइसोलेसन अस्पताल/केन्द्रमा १ हजार ४ सय ३९ संक्रमित छन् भने होम आइसोलेसनमा २ हजार १ सय ६५ जना रहेका छन् ।

महामारीको समयमा आफू स्वस्थ रहनु ठूलो विषय मान्नुपर्ने कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । घर गएका बिरामीले समेत एक साता आराम गरेर परिवारसित छुट्टै बस्नुपर्ने उनको सुझाव छ । ‘एकै पटक चिल्लोचाप्लो र मसलाजन्य परिकारमा जोड गरिहाल्न हुँदैन,’ उनले भने, ‘नेगेटिभ नतिजा आए पनि शरीर कमजोर हुन्छ, खानपानमै ख्याल गरी बिस्तारै तंग्रिनुपर्छ ।’

प्रकाशित : कार्तिक २, २०७७ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?