कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुन तस्करी भएको भयै

किन सार्वजनिक गरिँदैन छानबिन प्रतिवेदन ?
पौडेल नेतृत्वको छानबिन समितिले २ सय ९२ जनाको नाम सुन तस्करका रुपमा किटान गरेको थियो जुन विवरण सरकारले सार्वजनिक गरेको छैन ।
मातृका दाहाल

काठमाडौँ — भारतीय नागरिक विनोदकुमार सोनी २०६९ असोज १९ गते सवा १ करोड रुपैयाँबराबरका विदेशी मुद्रासहित दुबई उड्न लागेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे । अनुसन्धान गर्दै जाँदा उनी काठमाडौंमा सक्रिय सुन तस्करको सेटिङमा विदेशी मुद्रा लिएर दुबई उड्न लागेको खुल्यो ।

सुन तस्करी भएको भयै

सोनीले प्रहरीसमक्ष विमल पोद्दार, मुरारीलाल जमालिया (गोयल) लगायतको योजनामा काम गरेको र आफू भरिया मात्रै भएको बताए । उनले किटान गरेका व्यक्ति शक्तिकेन्द्रसम्म पहुँच राख्ने मानिस थिए । जमालिया दरबारमार्गस्थित इबिसुलगायत ज्वेलर्सका सञ्चालक थिए । पोद्दार कालिकास्थानस्थित सिल्भर सिटी अपार्टमेन्टका सञ्चालक हुन् ।

दबाब र प्रभावकै कारण प्रहरीले उनीहरूविरुद्ध बलियो अनुसन्धान गरेन । त्यसपछि पनि सुन तस्करीको शृंखला रोकिएन । तस्करीमा भरियाबाहेक मुख्य अभियुक्तसम्म पुग्न प्रहरीलाई हम्मे परिरहेको थियो । २०७४ मा ३३ केजी सुन तस्करी र सनम शाक्यको हत्या प्रकरणपछि भने सरकारले सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गर्‍यो । अनुसन्धान गर्दै जाँदा सोनीले उल्लेख गरेकै व्यक्ति पोद्दार २०७५ असार ५ गते कालिकास्थानस्थित घरबाटै पक्राउ परे । अर्का अभियुक्त एमके भनिने मोहनकुमार अग्रवाल भने फरार भए ।

राजकुमार दारुका, आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्यलगायतले तस्करीको नेटवर्क चलाउने गरेको खुल्यो । पोद्दार पक्राउ परेपछि समितिका संयोजक पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर तस्करीको सञ्जाल अझै माथिसम्म पुग्ने भन्दै अनुसन्धानको दायरा बढाउनुपर्ने संकेत गरे ।

दुबई, थाइल्यान्ड र हङकङबाट तस्करीको सुन आउने गरेको र यसमा नाम चलेका व्यापारी नै संलग्न रहेको पनि उनले जानकारी दिए । स्थलमार्गअन्तर्गत चीनबाट तातोपानी र केरुङ, भुटान र बर्माबाट भारतको मणिपुर हुँदै तस्करी हुने गरेको तथ्य प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले ‘अब जे जस्ता प्रमाण भेटिएका छन्, त्यसलाई अन्तिम रूप दिएर बुझाउनुस्, माथिसाथी जानुपर्दैन अहिले’ भनेका थिए । त्यसपछि समितिका पदाधिकारी थप जोखिम मोल्नेतर्फ लागेनन् । ‘त्यसबेला अनुसन्धानको दायरामा राखिएकामाथि थप छानबिन गर्न दिइएको भए सुन तस्करी नियन्त्रणमा ठूलो सफलता हात लाग्न सक्थ्यो,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने ।

औपचारिक कुराकानी गर्न नमाने पनि समितिका एक सदस्यले ‘लहरो तान्दा पहरो थर्किने भएर त्यसभन्दा अघि बढ्न नदिएको हुन सक्ने’ बताए । समितिले पोद्दार पक्राउ परेको ४० दिनपछि साउन १६ गते प्रधानमन्त्री निवास बालुवाटारमा ७ सय ५२ पृष्ठ लामो प्रतिवेदन बुझायो । जसमा २ सय ९२ जनाको नाम नै सुन तस्करका रूपमा किटान गरिएको थियो । गृहमन्त्री रामबहादुर थापा, तत्कालीन गृह सचिव प्रेमकुमार राईलगायत उच्च अधिकारीमाझ प्रधानमन्त्री ओलीले प्रतिवेदनका राय तथा सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए । ‘प्रतिवेदन सार्वजनिक गरिए मात्रै तस्करहरू को–को रहेछन् भनेर आममानिसले थाहा पाउने थिए,’ स्रोतले भन्यो ।

प्रतिवेदनमा सुन तस्करी नियन्त्रणमा हुन्डी, डलर कारोबारी, म्यानपावर व्यवसायी, शैक्षिक परामर्शदाता संस्था, विदेशबाट वस्तु आयात गर्ने व्यापारी, सुन पसलेलगायत माथि सूक्ष्म अनुसन्धान गर्नुपर्ने उल्लेख छ । सीमानाका नियमन, अनुगमन र प्रविधिको प्रयोगलाई पनि बढाउन सिफारिस गरिएको छ । तर प्रतिवेदन बुझेको २ वर्ष बितिसक्दा पनि सिफारिस गरिएका व्यक्तिमाथि छानबिन र कारबाही भएको छैन । प्रतिवेदनमा तस्करी रोक्न विमानस्थलको सुरक्षा व्यवस्थापनमा सुधारका साथै नाकामा एक्स–रे मेसिन जडान गर्न सुझाव दिइएको थियो । थानकोटसहित तातोपानी, रसुवागढी, काँकडभिट्टालगायत नाकामा प्रविधिबाटै मानिस तथा सामान जाँच गर्ने व्यवस्था मिलाउन भनिएको थियो । सुन कारोबारलाई पारदर्शी बनाउन कोटा प्रणाली हटाउनुपर्ने, व्यापारीले खरिद गरेको सुनअनुसारको हिसाब यकिन गर्न प्रभावकारी कदम चाल्नुपर्नेलगायत विषय पनि सुझाव दिइएका थिए । ती सुझाव कार्यान्वयन हुन सकेका छैनन् ।

तस्करी निरन्तर

सुन तस्करी रोकथाम तथा नियन्त्रण हुनुपर्ने माग सधैं उठ्ने गर्छ । तस्करबीच सेटिङ भत्किएका बेला प्रहरीले सुन बरामद पनि गर्दै आएको छ । तर प्रहरी प्रवक्ता कुवेर कडायत प्रहरी सक्रियताकै कारण पछिल्ला सात वर्षमा करिब ६ सय केजी सुन बरामद गरिएको बताउँछन् । बरामद सुन अहिलेको बजार मूल्यअनुसार सवा ४ अर्बभन्दा बढीको हो । ‘आतंकवाद, सुन, लागूऔषध तस्करी जस्ता अपराध कुनै एक व्यक्ति वा एक देशभित्र मात्रै सीमित नहुने भएकाले कतिपय मुख्य अभियुक्त कानुनी दायरामा नआएका हुन सक्छन्,’ प्रवक्ता कडायतले कान्तिपुरसँग भने, ‘तर देशभित्र भएका अपराधी कारबाहीको दायरामा आएका छन् । सुन तस्करी वा अन्य कुनै पनि अपराध नियन्त्रणमा प्रहरी सक्रियताका साथ लागिपरेको छ ।’ तस्करीमा प्रत्यक्ष संलग्न व्यक्ति भने एकाध घटनाबाहेक पक्राउ परेका छैनन् । भरिया मात्रै समातिने गरेका छन् ।

शनिबार मात्रै प्रहरीले वीरगन्जबाट २३ केजी सुन बरामद गरेको छ । यसअघि काठमाडौंको सुन्धाराबाट प्रहरीकै सामुन्नेबाट भारतीय सुन तस्कर सञ्जय पटेल फरार भएका थिए । २०७६ मंसिर १२ गते हङकङबाट आएका दुई चिनियाँ नागरिक चेन होङयाङ र चेन क्विनहाङ ८ केजी सुनसहित विमानस्थलबाट पक्राउ परे । चीनको फुजियान प्रान्तका उनीहरू भरिया मात्रै भएको खुल्यो । २०७६ साउन १९ गते हङकङबाटै आएका चिनियाँ नागरिक ली निङसिङ ४ केजी सुनसहित विमानस्थलबाटै पक्राउ परेका थिए । त्यसअघि साउन पहिलो साता गोरखाको धार्चे गाउँपालिका–३, खोर्लाबेंसीनजिकै ओडारमा १६ केजी सुन फेला पर्‍यो । बरामद सुन गोरखाकै तिब्बती सीमा चुमनुब्री गाउँपालिकाको छेकम्पारस्थित ङुइला नाकाबाट आएको पत्ता लाग्यो । प्रहरीले २०७५ चैत २० गते विमानस्थलबाटै थाइल्यान्डबाट आएका पाँच भारतीयलाई ६ केजी सुनसहित पक्राउ गरेको थियो । ०७४ असोज ४ गते रसुवागढी–केरुङबाट भित्रिएको ८८ केजी सुन क्षेत्रपाटीबाट बरामद भयो ।

प्रकाशित : कार्तिक २, २०७७ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?