कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खाना पकाउँदा सिलिन्डर विस्फोट, ११ घाइते

किरियापुत्रीले खाना पकाउने क्रममा दुई वटा ग्यास सिलिन्डर पड्किँदा ७ घरमा क्षति
कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौंको सोह्रखुट्टे/नयाँबजार क्षेत्रको फलफूल चोकमा बिहीबार दिउँसो ११ः५० मा शक्तिशाली विस्फोटको आवाज सुनियो । अति व्यस्त ठाउँमा विस्फोट भएकाले मानिसमा कोलाहल मच्चियो । केही मिनेटमै फलफूल चोकमा स्थानीय र बटुवाको भीड लाग्यो ।

खाना पकाउँदा सिलिन्डर विस्फोट, ११ घाइते

आपराधिक गतिविधिमा संलग्नबाट विस्फोट भएको वा अरू नै भन्नेमा अन्योल हुँदा झनै त्रास फैलिएको थियो । विस्फोट भएको ठाउँबाट केही पर महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको कार्यालय छ । विस्फोटको आवाजसँगै प्रहरी पनि चनाखो बनेको थियो ।

केहीबेरमै फलफूल चोक नजिकैको ४ तले घरमा धूवाँको मुस्लोसँगै आगो लागेको देखियो । उक्त घर नीलकुमारी क्षत्रीको हो । घरबाट चिच्याउँदै मानिस बाहिर निस्किए । विस्फोटमा परी घाइते भएका ११ जनालाई प्रहरी र स्थानीयले चिरायु, पिपुल्स, स्टार र मनमोहन अस्पताल पुर्‍याए । अनि प्रहरी र सेनाको टोलीले घटनास्थल घेराउ गरेर अनुसन्धान अघि बढाए । उपचारपछि ७ जना बिहीबार साँझ नै डिस्चार्ज भएका छन् ।

चार जनाको भने अझै उपचार भइरहेको छ । प्रहरीका अनुसार ५० वर्षीय चन्द्र केसी, ६५ वर्षीय नरसिंह केसी, ४२ वर्षीया विन्दा श्रेष्ठ र ४३ वर्षका रमेश श्रेष्ठ उपचाररत छन् । उपचाररत सबै बोल्न सक्ने अवस्थामा भए पनि शरीर, टाउको र खुट्टामा सिसा र आगलागीबाट जलेर चोटपटक लागेको छ । विस्फोटमा परी घाइते ५२ वर्षीय विशाल कँडेल, ४२ वर्षीय अम्बर बस्नेत, ४० वर्षीया सरला बस्नेत र शान्ति अधिकारी, ५० वर्षीय अर्जुन चोखाल, २७ वर्षीया मेचिनी खत्री र २४ वर्षीय ईश्वर खत्री उपचारपछि घर फर्किएका छन् ।

विस्फोटपछि घरमा आगलागी पनि भएका कारण सुरुमै भित्र प्रवेश गर्ने स्थिति थिएन । दमकल, सेना, प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएपछि बल्ल घटना कसरी भयो भन्ने खुल्यो । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार विस्फोट भएको घरको भुइँतलामा मृत्यु संस्कारमा बसेका व्यक्ति (किरियापुत्री) ले खाना पकाउने क्रममा दुईवटा ग्यास सिलिन्डर पड्किएको रहेछ ।

‘किरियापुत्री बसेको भुइँतलामा खाना पकाउने क्रममा एउटा सिलिन्डरको पाइप जलेर ग्यास बाहिर निस्क्यो, सँगै अर्को भरेको सिलिन्डर पनि रहेछ,’ एसपी राठौरले कान्तिपुरसँग भने, ‘दुवै सिलिन्डर एकपछि अर्को गरेर विस्फोट हुँदा क्षति हुन पुग्यो ।’ उक्त विस्फोटको असर छिमेकका अन्य ६ वटा घरमा पनि पुगेको उनले बताए ।

खाना पकाउने ग्यास सिलिन्डरको प्रयोग गर्दा हुने मानवीय असावधानीले बर्सेनि जनधनको क्षति हुने गरेको छ । ग्यास बालेर बाहिर ननिस्कन उनले सुझाव दिए । यसअघि असोज २९ मा पेप्सीकोलामा पनि ग्यास सिलिन्डर विस्फोट हुँदा ५ जना घाइते भएका थिए । त्यहाँ पनि खाना पकाउने क्रममा पाइप जलेर ग्यास लिक भई विस्फोट भएको थियो ।

प्रकाशित : आश्विन ३०, २०७७ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?