कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलात्कार आरोपितलाई अभद्र व्यवहारमा मुद्दा

सूचना पाएर घटनास्थलमा पुगेको प्रहरी टोलीले पीडितको लुगा च्यातिएको, छाती र पाखुरामा नङले चिथोरेको दाग देखेर पनि अनुसन्धान नगरेको भन्दै अहिले पीडित पक्ष न्यायका लागि गुहार मागिरहेको छ ।
जितेन्द्र साह

बर्जु, सुनसरी — सुनसरीको बर्जु गाउँपालिकास्थित घरमा उनी आफ्नै कोठाभित्र सुतिरहेकी थिइन् । रातको ११ बज्दै थियो ।

‘कोही ढोका फोडेर कोठाभित्र प्रवेश गरेको आवाज आयो, उठेर भाग्न नपाउँदै दुवै हात समाएर मुख थुन्यो, कुर्ता च्यात्यो र बलात्कार गर्‍यो,’ उनले असोज १७ गतेको त्यो कहालीलाग्दो रात सम्झँदै भनिन् ।

‘बलात्कारपछि पनि छोडेको थिएन, भाग्न नदिई उसले ज्यादती गरिरहेको थियो,’ पीडितले भनिन्, ‘हिम्मत बटुलेर हात फुत्काई भिनाजु भन्दै जोडले चिच्याएँ, बाबा (ससुरा) पनि उठ्नु भयो, मलाई यो अवस्थामा देखेर उहाँले पनि भिनाजुलाई बोलाउनुभयो, उहाँ दौडँदै आएर शरीर ढाक्नलाई मतिर लुगा फाल्नुभयो ।’ घटनास्थलदेखि पूर्वपट्टि पीडितको भिनाजुको घर छ ।

आँगनदेखि उत्तर दिशाको कोठामा २ वर्षीया कान्छी छोरीसँग पीडित, पश्चिमपट्टिको कोठामा जेठी छोरी ६ वर्षीयासँग सासू आमा र ससुरा सुतिरहेका थिए । बच्चा बिरामी भएकाले अबेर रातिसम्म जागिरहेको हुनाले होहल्ला हुनेबित्तिकै दिदीभिनाजु पनि तुरुन्तै आइपुगेको पीडितले बताइन् । दुवै पक्षबीचको घम्साघम्सीमा त्यो युवकले बोकेको धारिलो हतियार प्रहारबाट सासू आमा ४० वर्षीया पार्वती चौधरीको बायाँ हात काटिएको उनले सुनाइन् ।

परिवारका सदस्य मिलेर नियन्त्रणमा लिएपछि थाहा भयो, बलात्कार गर्ने युवक छिमेकी २२ वर्षीय सञ्जय मोची थिए । परिवारजनसँग भेट्न आइराख्ने मोचीको खराब आचरणले गर्दा आफूसँग बोलचाल नरहेको पीडितले बताइन् । ‘नराम्रो तरिकाले हेर्थ्यो,’ उनले भनिन् । एक वर्ष अगाडि पनि भाउजू भनेर जिस्काउँदै हातपात गरेपछि उनले परिवारजनको सहयोगमा बर्जु प्रहरीलाई गुहारेकी थिइन् । आइन्दा यस्तो गर्दिनँ भन्ने प्रहरीसमक्ष कागज गरेको मोची त्यसपछि घरमा नआएको र एकै पटक यो घटना गराएको पीडितका परिवारजनले बताए । पीडितका श्रीमान् विदेशमा छन् ।

निर्वस्त्र अवस्थामै मोचीलाई बाहिर निकालेपछि होहल्ला सुनेर आएका पीडकको बाबुआमाले भिनाजुलाई कुट्न थालेको पीडितले बताइन् । के कारणले झगडा भएको समेत खोजबिन नगरी त्यो राति बलात्कारी केटा र गुहार सुनेर बचाउन आएको आफ्नो श्रीमानलाई चिमडीस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरेर लगेको पीडितकी आमाजू रोशनी चौधरीले बताइन् । ‘श्रीमानलाई भोलिपल्ट प्रहरीले छाड्यो तर फेरि त्यही दिन बलात्कार गर्नेको घरमा पुगेर उनको बाआमालाई कुटेको भन्दै अभद्र व्यवहारको झूटो मुद्दामा श्रीमानलाई समात्यो,’ उनले भनिन् ।

सूचना पाएर घटनास्थलमा पुगेको प्रहरी टोलीले पीडितको लुगा च्यातिएको, छाती र पाखुरामा नङले चिथोरेको दाग देखेर पनि अनुसन्धान नगरेको भन्दै अहिले पीडित पक्ष न्यायका लागि गुहार मागिरहेको छ । पीडितलाई केही सोधपुछ नै नगरी बलात्कारमा संलग्न युवकलाई घटनाको भोलिपल्ट अभद्र व्यवहारमा मुद्दा चलाएको कान्तिपुरलाई प्राप्त कागजातमा उल्लेख छ ।

स्थानीय केही राजनीतिक कार्यकर्ता र वडाध्यक्ष विनोद चौधरीले घटना सार्वजनिक भयो भने समाजको बदनामी हुन्छ भन्दै आपसी समझदारीमा मिलापत्र गराउने दबाब दिएको हुनाले प्रहरीले बलात्कारको मुद्दा दर्ता गर्न आलटाल गरेको पीडित पक्षको आरोप छ ।

जनदबाबपछि बलात्कारको ६ दिनपछि २३ असोजमा सरकारी वकिल कार्यालयमार्फत जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा दर्ता भएको सुनसरीकी सामाजिक अभियन्ता मञ्जु सरदारले बताइन् । ‘पीडितको पाखुरा र छातीमा नङले कोतरिएको दाग छ, बलात्कारका क्रममा यौनांगमा समेत प्रहार गरिएको हुनाले रगत बगेको छ,’ उनले भनिन् । सरकारी वकिलको कार्यालयबाट २३ असोजमा सरजमिन र चिकित्सकीय जाँचको आदेश जारी भएको छ । तर असोज २७ सम्म प्रहरीले सरजमिन गरिएको छैन । पीडितको विराटनगरस्थित कोसी अस्पतालमा मेडिकल जाँच भएको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले गम्भीर र संवेदनशील मुद्दा भएको हुनाले गहन चिकित्सकीय जाँच गर्नुपरेको बताए । ‘शरीरको बाहिर र भित्री भागको चोटपटकको सूक्ष्म जाँचपछि रिपोर्ट तयार पार्न केही समय लाग्छ,’ उनले भने ।

बर्जुको चिमडीस्थित इलाका प्रहरी कार्यालयका प्रमुख सइ नागेश्वर थानदारले घटनास्थलबाट दुवै पक्षलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा बलात्कार भएको बारेमा कसैले नबोलेको दावी गरे । ‘तैपनि थप अनुसन्धान र कारबाहीका लागि मुद्दा चलाउने अधिकार प्राप्त दुहबीस्थित इप्रका पठाएँ,’ उनले भने । इप्रका दुहबीका निरीक्षक धनेन्द्र खुजुमले महिला सेलका प्रहरी राखेर पीडितलाई घटनाबारे सोधेको बताए । ‘हातसम्म समातेको मात्र पीडितले भनेको हुनाले त्यति बेला अभद्र व्यवहारमा जाहेरी लिएर मुद्दा दर्ता गरेका हौं,’ उनले भने ।

त्यसपछि एकाएक पीडित पक्षले सरकारी वकिलको कार्यालयमार्फत बलात्कारको मुद्दा दर्ता गराएको निरीक्षक खुजुमले बताए । ‘मध्यराति केटा पीडितको कोठामा पुगेको हुनाले जबर्जस्ती करणीको मुद्दा दर्ता गर्न हामीलाई समस्या थिएन तर पीडितले त्यतिबेला मुख खोलेनन्,’ उनले भने । त्यो घटनापछि पीडकको बाआमालाई पीडितका भिनाजुले नराम्ररी कुटेको हुनाले अभद्र व्यवहारको अर्को मुद्दा चलाउनुपरेको उनले बताए । उनले अब बलात्कारमा मुद्दा दर्ता भइसकेको हुनाले अनुसन्धान अघि बढ्ने जनाए ।

आफूमाथि लागेको आरोपको खण्डन गर्दै वडाध्यक्ष चौधरीले आफूले नै तत्कालै दुवै पक्षलाई इलाका प्रहरी कार्यालयमा पठाएको बताए । ‘घटनालाई ढाकछोप गर्ने मनसाय भए प्रहरीमा किन पठाउँथें ?,’ उनले भने, ‘विरोधी समूहले यो घटनालाई सामसुम पारेर ममाथि समाजमा मिलाउन खोजेको झूटो आरोप लगाएका हुन् ।’

प्रकाशित : आश्विन २९, २०७७ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?