कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२५ वर्षपछि दाङमा भेटियो ‘तक्षक नाग’

सर्पमध्ये यो निकै कम देखा पर्छ । नेपालका लागि रैथाने प्रजाति भए पनि खोज्दा सजिलै भेटिँदैन । विषालु हुँदैन । 
गोविन्द पोखरेल

काठमाडौँ — तक्षक नागले राजा परीक्षितलाई डसेर मारेपछि उनका छोरा जनमेजयले सर्प यज्ञ गरेर सर्प प्रजातिलाई नष्ट गर्न खोजे । सर्प प्रजातिको अस्तित्वरक्षाका लागि तक्षक नागले स्वर्गका राजा इन्द्रसँग अनुरोध गरेका कथा हिन्दु धार्मिक ग्रन्थमा पढ्न पाइन्छ । कथाहरूले नागलाई अलौकिक शक्तियुक्त र सर्पहरूको राजा बताउँछन् । हामीलाई देख्ता–सुन्दा अनौठो लाग्ने शक्ति के सर्पमा साँच्चै हुन्छ ? 

२५ वर्षपछि दाङमा भेटियो ‘तक्षक नाग’

यसको उत्तर अलि जटिल छ । केही सर्प आकारका डरलाग्दा हुन्छन्, विषालु हुँदैनन् । केहीलाई हेर्दा सामान्य लाग्ने केही सर्प निकै विषालु हुन्छन् । सर्पका थुप्रै प्रजातिमध्ये तक्षक नाग नाम दिइएको सर्प पनि छ । नाम राख्ने पौराणिक कथाबाट प्रभावित भएको हुनुपर्छ । यसको डसाइबाट मान्छे त मर्दैन तर यो सर्प उड्न सक्छ ।

असोज ११ मा दाङको घोराही–२ सुर्केडाँगीमा तक्षक नाग भेटियो । दाङमा सर्प उद्धार गर्दै आएका वसन्त सुवेदीले खबर पाए । उद्धार गर्न भनी गए तर उनी पुग्दासम्म स्थानीयले त्यसलाई मारिसकेका थिए । वसन्तलाई स्थानीय आशिष सुवेदीले खबर गरेका थिए । पुग्न अलिकति ढिलाइले उनले त्यो सर्प मरिसकेको मात्रै देख्न पाए । अंग्रेजीमा ‘अर्नेट फ्लाइङ स्नेक’ भनिने ‘तक्षक नाग’ नेपालमा सर्वत्र सजिलै देख्न पाइने सर्पमा पर्दैन । सर्पको यो प्रजाति निकै कम देखिएको छ ।

सरिसृप अध्ययनकर्ताहरूका अनुसार मान्छेले देख्यो कि मारिहाल्ने प्रवृत्तिले सर्पका प्रजाति त्यसै पनि संकटमा छन् । यस्तो अवस्था उनीहरूका प्रजाति छुट्याएर पहिचान गर्न झन् असजिलो छ । उद्धारकर्मी सुवेदीका अनुसार सुर्केडाँगीका स्थानीयले त्यो प्रकारको सर्प पहिलोपटक देखेको बताएका थिए । टोक्छ/टोक्दैन भन्ने थाहा नै नपाई डराएर मारिहाले । त्यस्तो सर्प २५ वर्षअघि दाङमै भेटिएको थियो । सन् १९९५ मा प्राध्यापक एवं सर्पविज्ञ करनबहादुर शाहको ‘इनुमुरेसन अफ द एम्फिबियन एन्ड रेप्टाइल्स अफ नेपाल’ नामक अनुसन्धानपत्रमा यो सर्पबारे उल्लेख छ ।

‘तक्षक नाग भनिने सर्प पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मकै भूभागमा पाइन्छ तर निकै कम देखिन्छ,’ प्राध्यापक शाह भन्छन्, ‘यो सर्प ५ सय मिटर उचाइ माथिदेखि नेपालका भित्री मधेसमा समेत पाइन्छ ।

तस्बिर सौजन्य : वसन्त सुवेदी

यो सर्प नेपालबाहेक भारत, चीन, श्रीलंका म्यानमार इन्डोनेसिया तथा फिलिपिन्ससम्म पाइएका रेकर्ड भेटिएका छन् ।’ यो सर्पको पोथीभन्दा भाले केही सानो हुन्छ । भालेको लम्बाइ १.०४ हुन्छ भने पोथीको १.१ मिटरसम्म हुने प्राध्यापक शाह र सगेन्द्र तिवारीद्वारा लिखित ‘हर्पिटो फाउना अफ नेपाल’ पुस्तकमा उल्लेख छ । प्राध्यापक शाहका अनुसार यो नेपालमा पाइने एक मात्रै उड्ने सर्प हो । हेर्दा गहना जस्तो राम्रो देखिने, बुट्टेदार यो सर्पलाई ‘अर्नामेन्ट’बाट ‘अर्नेट’ राखिएको उनले बताए । यो सर्प हेर्दा सुन्दर देखिने र गहनाभन्दा पनि राम्रो भएकाले यसको नाम अर्नेट राखिएको विज्ञहरू बताउँछन् ।

बंगाराका पछाडि भागतिर विषथैली हुने यो सर्प मानिसका लागि विषालु होइन । चरा मार्न भने यसको विष काफी हुने उनले सुनाए । प्रायः चराका बच्चा र अन्डा खाएर बाँच्ने यो सर्पले माउसुली तथा रुखमा भेटिने स–साना जीव पनि खान्छ । यसले भ्यागुता कमै मात्र खाने गर्छ ।

यो सर्प एउटा रुखबाट अर्कोमा २७/२८ फिटसम्म उड्ने (ग्लाइड गर्ने) शाहले बताए । नेपालमा पाइने सर्पमध्ये उड्न सक्ने एक मात्र, अरूभन्दा सुन्दर देखिने, कम विषालु, कमै देखिनेलगायत अन्य विविध महत्त्व बोकेकाले हुलाक सेवा विभागले यसको चित्र अंकित टिकट पनि प्रकाशित गरेको छ । यसलाई केही समुदायले पूजासमेत गर्ने भएकाले यसको नाम तक्षक नाग राखिएको हुन सक्ने प्राध्यापक शाहले बताए । यो सर्प उड्ने बेलामा घाँटी चेप्टो बनाउने गर्छ ।

तक्षक नागको तस्बिरअंकित हुलाक टिकट

हलुका हरियो, पहेँलो, कालो र रातोलगायत रङका टाटा हुने यो सर्पले अन्डा पार्छ । प्रायः दिउँसो सक्रिय हुने यो सर्प घना वन तथा ठूला रुखमा बस्न रुचाउने अध्ययनले देखाएको छ ।

दाङमा मानिसले घरका भित्तामा भेटेपछि यसलाई मारेका थिए । प्राध्यापक शाहले यो अमूल्य सर्पलाई मार्नु गलत भएको बताए । उनले भने, ‘यो सर्प उसै पनि राम्रो देखिन्छ । त्यत्रो विषालु पनि होइन । अमूल्य छ ।’

प्रकाशित : आश्विन २९, २०७७ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?