बिल गेट्सको कोरोनाका '७ हिरोज' मा नेपाली महिला पनि- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिल गेट्सको कोरोनाका '७ हिरोज' मा नेपाली महिला पनि

कान्तिपुर संवाददाता

काठमाडौँ — बिल गेट्‌सको ब्लग गेट्स नोट्सको यस महामारीमा कीर्ति वर्णन नगरिएका '७ हिरोज' मा एक नेपाली पर्न सफल भएकी छन् ।

बिल गेट्सको ब्लग गेट्स नोट्सले कोभिड १९ का बखत अप्ठ्यारोमा परेकाहरूको हेरचाह गर्ने अविश्वसनीय ७ व्यक्तिमा काभ्रेकी लक्ष्मी रायामाझीलाई समेटेको हो । उनी सुनौलो परिवार नेपाल/मेरी स्टोप्स् नेपालकी सेवा प्रदायक पनि हुन् ।

गेट्सले महामारीको भोगाइ निवारण गर्नका निम्ति लागि परेका संसारभरका असाधारण व्यक्तिहरूका बारे प्रकाश पारेका छन् ।

यस महामारीले नेपालमा महिलाहरूलाई यौन तथा प्रजनन् स्वास्थ्य सेवाहरू प्रदान गर्न एउटा नयाँ अवरोधको सिर्जना गर्दा थुप्रै महिलाहरू स्थानीय स्वास्थ्य सेवा संस्थाहरूमा सेवा लिन कोरोना संक्रमणका डरले नजाँदा लक्ष्मी यी चुनौतीहरू पार लगाउन र उनको सेवा आवश्यक भएका महिलाहरू समक्ष पुग्‍न प्रयत्नरत रहेको गेट्स नोट्समा उल्लेख छ ।

महामारीको अवधिमा धेरैजसो सरकारी स्वास्थ्यसेवा निकायहरू कोभिड वा आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्न केन्द्रीत भएपनि यौन तथा प्रजनन् स्वास्थ्य सेवाहरूलाई सधैं प्राथमिकताका रुपमा लिइएन । मेरी स्टोप्स् नेपालले विभिन्‍न समूहहरुसँगको संयोजनमा यौन तथा प्रजनन् स्वास्थ्यबारे सेवा दिएको थियो । रायामाझीले कठिन परिस्थितिमा पनि काम गरेको गेट्सद्वारा उल्लेख छ ।

प्रकाशित : आश्विन २८, २०७७ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्

टनेलमा तरकारी खेती : व्यावसायिक सोच कि आकर्षण ?

प्लास्टिक घर स्थापनामा स्थानविशेषको निश्चित मापदण्ड नहुँदा कृषकले फरकफरक मूल्य चुकाउनुपरेकाले उपयुक्त मापदण्ड बनाई उच्च उत्पादन दिने तरकारीबालीका जात विकासमा जोड दिनुपर्छ ।
सन्दीप सुवेदी

हामीले भन्दै आएको ‘टनेल’ लाई प्राविधिक भाषामा संरक्षित संरचना भनिन्छ । बोटबिरुवाका लागि पूर्ण वा आंशिक रूपमा अनुकूल वातावरण बनाई प्रतिकूल मौसममा समेत उत्पादन लिन यस्तो संरचना बनाइन्छ । यिनको प्रयोग मुख्यतः उत्पादकत्व वृद्धि गर्न, बेमौसमी उत्पादन लिन, संक्रमणरहित बाली उत्पादन गर्न हुन्छ ।

हाल विश्वका १ सय १५ भन्दा बढी देशमा करिब ४० लाख हेक्टर क्षेत्रफलमा संरक्षित संरचनाभित्र खेती हुन्छ । दक्षिण एसियामा भारतले करिब २५ हजार हेक्टरमा यसरी खेती गरिरहेको पाइन्छ ।

नेपालमा साबिक क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, लुम्लेको अगुवाइमा २०४२ सालमा बाँसको प्लास्टिक घरको विकास र प्रसार सुरु भएको हो । २०७४ सालको तथ्यांकअनुसार ६१ जिल्लामा ७ सय हेक्टरभन्दा बढी क्षेत्रफलमा करिब ८४ मेटन प्रतिहेक्टर उत्पादकत्वसहित संरक्षित संरचनामा तरकारी खेती भइरहेको छ । यिनमा खास गरी काठमाडौं, मकवानपुर, सिन्धुपाल्चोक, कास्की, ललितपुर, नुवाकोट आदि जिल्ला पर्छन् ।

नेपालमा तरकारी उत्पादनका लागि प्रचलित संरचना

नेपालमा प्रचलित संरक्षित संरचनाहरूलाई अस्थायी, अर्धस्थायी र स्थायी गरी तीन किसिममा वर्गीकरण गर्न सकिन्छ । कम लागत र वर्षायाममा तरकारीलाई पानीबाट जोगाई उत्पादन लिन सकिने ५ देखि ६ मिटर चौडाइ तथा १२ देखि २५ मिटरसम्म लम्बाइ भएका, बाँस, सिल्पाउलिन वा युभी प्लास्टिक प्रयोग गरी बनाइएका संरचना अस्थायी हुन् । यस्ता संरचनाबाट २–३ वर्षसम्म उत्पादन लिन सकिन्छ ।

जीआई पाइपको प्रयोग गरी संरचनाको मुख्य खाँबा र धुरी निर्माण गरिएका, कम्तीमा ८–१० वर्षसम्म उत्पादन लिन सकिने संरचना अर्धस्थायी हुन् । नेपालमा निर्मित अर्धस्थायी संरचनामा जीआई पाइपका प्लास्टिक घर र डोम आकारका प्लास्टिक घर पर्छन् । जीआई पाइपका प्लास्टिक घर मध्यपहाडी क्षेत्रमा उपयुक्त मानिन्छन् । १६ सय मिटरभन्दा अग्ला वा उच्च पहाडका कम हिउँ पर्ने क्षेत्रमा बेमौसमी तरकारी वा फलफूलका बिरुवा उत्पादन गर्न अर्धचन्द्राकारका यूभी प्लास्टिक र पोलिकार्बोनेट सिट तथा बाँसका भाटा वा जीआई पाइप प्रयोग गरेर बनाइने डोम आकारका प्लास्टिक–घर उपयुक्त हुन्छन् ।

स्थायी संरचनाअन्तर्गत जालीघर (नेट–हाउस), नेचुरल्ली भेन्टिलेटेड ग्रिनहाउस र उच्च प्रविधियुक्त ग्रिनहाउस पर्छन् । तापक्रम अत्यधिक भएका तराईका क्षेत्रमा भदौदेखि जेठसम्म बेमौसमी तरकारी उत्पादन गर्न किरा नछिर्ने जाली, अल्मुनियम नेट तथा जीआई पाइप प्रयोग गरिएका जाली–घर उपयुक्त मानिन्छन् । मध्यपहाड तथा तापक्रम ४० डिग्री सेन्टिग्रेडभन्दा बढी नजाने तराईका क्षेत्रमा बेमौसमी तरकारी उत्पादन गर्न १००–२०० माइक्रोनको यूभी प्लास्टिक र जीआई पाइपको प्रयोग गरी किरा नछिर्ने जाली तथा जाडोमा तापक्रम बढाउन प्लास्टिकको पर्दासमेत भएका, कम्तीमा ५ मिटर चौडाइको एउटा मात्र वा गटर राखेर धेरै क्षेत्र ओगट्न सक्ने ‘नेचुरल्ली भेन्टिलेटेड ग्रिनहाउस’ उपयुक्त मानिन्छन् । यसै गरी तरकारी र फलफूलका बेर्नाको अत्यधिक माग भएका क्षेत्रमा बाह्रै महिना उत्पादन लिन सिँचाइ, तापक्रम र सापेक्षिक आर्द्रता स्वचालित भएका, जीआई पाइप र यूभी प्लास्टिकबाट निर्मित उच्च प्रविधियुक्त ग्रिनहाउस उपयुक्त हुन्छन् ।

संरचना निर्माण तथा त्यसभित्रको खेतीमा ध्यान दिनुपर्ने कुराहरू

स्थान छनोट र संरचनाको अवस्थिति : संरचना निर्माण गर्दा समथर, पानीको निकास भएको, छाया नपर्ने (कम्तीमा ६ घण्टा दैनिक घाम लाग्ने), संरचना थप विस्तार गर्न सकिने, हावाहुरी नलाग्ने, सिँचाइ, विद्युत्, सडक र बजारको सुविधा भएको स्थान छनोट गर्नुपर्छ । सम्भव भएसम्म संरचनालाई उत्तर–दक्षिण मोहडामा निर्माण गर्नुपर्छ । यसो गर्दा संरचनाभित्रका बालीको छाया एकअर्कोमा नपर्ने हुँदा प्रकाश संश्लेषण उच्च हुन्छ । ‘भेन्ट’लाई हावा लाग्ने दिशामा पार्दा चिसो हावा सञ्चार हुन मद्दत पुग्छ ।

संरचनाको प्रकार : संरचनाका प्रकार निर्धारण गर्दा समुद्री सतहबाट उचाइ, तापक्रम, आर्द्रता र हावाको बहावलाई ध्यान दिनुपर्छ । समुद्री सतहबाट उचाइ कम भएको स्थान छ भने तापक्रम बढी हुने हुँदा अग्लो साथै भेन्टिलेसन भएको घर बनाउनुपर्छ । बढी उचाइ भएको स्थानमा तापक्रम कम हुने भएकाले तापक्रम बढाउन प्लास्टिक घर होचो बनाउनुपर्छ । तापक्रम र आर्द्रता नियन्त्रण गर्न हावा सञ्चार गर्ने पंखाको व्यवस्था गर्न सकिँदैन भने प्लास्टिक घरको आकार धेरै ठूलो बनाउन हुँदैन । ठाउँको उपलब्धताअनुसार ५–६ मिटर चौडाइ र १०–२५ मिटर लम्बाइको घर उपयुक्त हुन्छ ।

प्लास्टिक : नेपालमा सामान्यतया सूर्यको पराबैजनी किरणले असर नगर्ने ४५ देखि १२० जीएसएमसम्मको सिल्पाउलिन प्लास्टिकको प्रयोग हुँदै आएकोमा हाल यूभी प्लास्टिकको प्रचलन बढ्दो पाइन्छ । १००–२०० माइक्रोनमा उपलब्ध हुने यूभी प्लास्टिकले सूर्यको पराबैजनी किरण रोकी प्रकाश संश्लेषणमा सक्रिय किरण (३००–८०० नानोमिटर) लाई मात्र छिर्न दिन्छ । प्लास्टिकको चमकले सेतो झिँगा, लाही र चुसाहा किरालाई समेत विकर्षण गरिदिन्छ । तामाजन्य विषादीले यस्ता प्लास्टिकसँग प्रतिक्रिया गर्ने हुँदा विषादी प्रयोग गर्दा होसियारी अपनाउनुपर्छ ।

यसबाहेक संरचनाको दिगो व्यवस्थापनका लागि प्लास्टिकको नियमित सरसफाइ पनि उत्तिकै महत्त्वपूर्ण छ । लामो समयसम्म प्लास्टिकको सरसफाइ नगर्दा फोहोर जमेर बिरुवालाई आवश्यक सूर्यको किरण रोकी बिरुवाको प्रकाश संश्लेषण प्रक्रिया कम भइरहेको हुन्छ ।

तापक्रम र सापेक्षिक आर्द्रता : सामान्यतया बोटबिरुवाको वृद्धि र उत्पादनका लागि १० देखि ३० डिग्री सेन्टिग्रेडसम्मको तापक्रम आवश्यक हुन्छ । तापक्रमबारे जानकारी लिन संरचनाभित्र थर्मोमिटर राख्नुपर्छ । तापक्रम घटाउन प्लास्टिकमा पानीको फोहोरा फाल्ने, प्लास्टिक घरभित्र ‘मिस्टिङ’ गर्ने वा पंखाको व्यवस्था गर्नुपर्छ ।

सापेक्षिक आर्द्रताले बालीको उचित रङ विकास गर्नुका साथै उत्पादनपर्यन्त बालीको आयुमा समेत असर गर्छ । सापेक्षिक आर्द्रता कम हुँदा जमिनको पानी सुक्ने र बिरुवाको श्वासप्रश्वास बढ्न गई वृद्धि विकासमा नकारात्मक असर पर्छ भने सापेक्षिक आर्द्रता बढी हुँदा रोग किराको प्रकोप बढ्न जान्छ । सामान्यतया तरकारी बालीका लागि संरक्षित संरचनामा ६०–६५ प्रतिशत सापेक्षिक आर्द्रता कायम गर्नु उपयुक्त हुन्छ । सापेक्षिक आर्द्रता बढी भएमा पर्दा वा ‘भेन्ट’ खोलिदिनुपर्छ ।

कार्बनडाइअक्साइड व्यवस्थापन : संरक्षित संरचनामा बाली उत्पादन गर्न अत्यन्त उपयोगी तर हामीकहाँ बेवास्ता गरिएको प्रविधि कार्बनडाइअक्साइड व्यवस्थापन हो । बिरुवाले दिनमा कार्बनडाइअक्साइडको प्रयोग गरी प्रकाश संश्लेषण गर्छन् भने रातमा अक्सिजनको प्रयोग गरी श्वासप्रश्वास प्रक्रियाबाट कार्बनडाइअक्साइड फ्याँक्ने गर्छन् । सामान्यतया हाम्रो वरपरको वातावरणमा ३४० पीपीएम कार्बनडाइअक्साइड हुन्छ । संरक्षित संरचनामा खेती हुने तरकारी बालीमा कार्बनडाइअक्साइडको मात्रालाई १००० पीपीएमसम्म बढाउँदा प्रकाश संश्लेषण प्रक्रिया वृद्धि भई उत्पादन ४–५ गुणासम्म बढाउन सकिन्छ । त्यसैले रातमा बिरुवाले उत्पादन गरको कार्बनडाइअक्साइडलाई संरचनाभित्र सञ्चित गरी दिनमा बोटबिरुवाले प्रयोग गर्ने वातावरण मिलाउन ध्यान पुर्‍याउनुपर्छ । यसो गर्न घाम लागिसकेपछि केही समयसम्म प्लास्टिक पर्दा पूर्ण रूपमा हटाउन हुँदैन ।

बाली छनोट : संरक्षित संरचनामा उत्पादित बालीहरू उत्पादन पद्धति सहज भएका, बढी उत्पादन दिने, उच्च बजार मूल्य भएका र लामो अवधिसम्म उत्पादन लिन सकिने खालका हुनुपर्छ । यस्ता संरचनाभित्र सबैभन्दा बढी खेती हुने तरकारीहरू क्रमशः गोलभेडा, भेडे खुर्सानी, काँक्रो र जिरीको साग हुन् । यसबाहेक यस्ता संरचनामा घिरौंला, तिते करेला, सिमी, केराउ, धनियाँ, स्ट्रबेरी र उच्च मूल्यका फूलहरू जस्तै– सुनाखरी, गुलाब आदि लगाउन सकिन्छ । संरक्षित संरचनामा परसेचित बाली लगाएको खण्डमा कृत्रिम परागसेचनको व्यवस्थापन गर्नुपर्छ ।

बजारको मागअनुसारका बाली र जात : महँगो प्रविधि अनुसरण गरेर उत्पादन भएका तरकारीले बजारमा सामान्य प्रविधिअनुसार उत्पादन भएका तरकारी बालीसँग प्रतिस्पर्धा गर्नुपर्दा उत्पादक निरुत्साहित हुने अवस्था आउन सक्ने भएकाले यस्ता संरचना निर्माण गर्ने कृषकले बजारको मागअनुसारको बाली र जात उत्पादन गरी तिनको ब्रान्डिङ गर्न आवश्यक हुन्छ । सिँचाइ, मल र विषादी आदिको खुला जमिनमा भन्दा संरक्षित संरचनामा नियन्त्रित प्रयोग हुने भएकाले प्रांगारिक उत्पादन, विषादीरहित उत्पादन र असल कृषि अभ्यास प्रमाणित मौसमी तथा बेमौसमी बाली उत्पादन गरी ब्रान्डिङ गर्न सके संरक्षित संरचनामा उत्पादित बालीको बजार सहज हुन सक्छ ।

अबको बाटो

प्लास्टिक घर स्थापना गर्न स्थानविशेषको निश्चित मापदण्ड तयार नभएको र उस्तै प्रकृतिको संरचना निर्माण गर्दा समेत कृषकले फरकफरक मूल्य चुकाउनुपरेको हुँदा स्थानविशेष उपयुक्त मापदण्ड निर्माण गरी यस्ता संरचनामा उच्च उत्पादन दिने तरकारीबालीका जात विकासमा जोड दिनुपर्छ । संरक्षित संरचनामा खेतीको प्रमुख उद्देश्य स्वच्छ बाली उत्पादन गर्ने पनि भएकाले यस्ता संरचनासँगै प्रांगारिक/विषादी रहित/असल कृषि अभ्यासजस्ता मूल्य अभिवृद्धि गर्ने कार्यक्रमसमेत प्याकेजमा अगाडि बढाउनुपर्छ । संरचना निर्माणमा प्रयोग हुने सबैजसो वस्तुहरू आयातित भएकाले यस्ता वस्तुको आयातमा भन्सार सहजीकरण वा स्वदेशमै निर्माण गर्न आवश्यक पहल गर्नुपर्ने देखिन्छ ।

अन्त्यमा,

संरक्षित संरचनामा हुने खेती प्रणालीलाई नाफामूलक बनाउन व्यावसायिक कार्ययोजना र सीप आवश्यक हुन्छ । देखासिकी र आकर्षणका आधारमा मात्र प्लास्टिक घर निर्माण गर्ने योजना बनाउनु राम्रो विकल्प होइन ।

(लेखक राष्ट्रिय आलु, तरकारी तथा मसलाबाली विकास केन्द्र कीर्तिपुरका बागवानी विकास अधिकृत हुन्)

प्रकाशित : आश्विन २८, २०७७ १४:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×