कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनामुक्त भएका प्रहरीको अनुभव : ‘सबैभन्दा ठूलो कुरा आत्मबल रहेछ’

करिब ३ हजार २ सय प्रहरी कोरोनामुक्त भएर नियमित काममा फर्किइसकेका छन् ।
मातृका दाहाल

काठमाडौँ — कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्की विराटनगर (रानी) स्थित क्वाटरभित्रै १५ दिन ‘आइसोलेसन’मा बसे । भदौ २४ मा संक्रमण पुष्टि भएका उनले आइसोलेसनमै बसेर मोबाइल, टेलिफोन र रेडियो सेटबाट सुरक्षा कमान्ड गरे । दुई सातापछि पुनः परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएपछि डीआईजी कार्की नियमित काममा सक्रिय छन् ।

कोरोनामुक्त भएका प्रहरीको अनुभव : ‘सबैभन्दा ठूलो कुरा आत्मबल रहेछ’

भदौ १८ मा गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी घनश्याम अर्याललाई संक्रमण पुष्टि भयो तर उनमा कुनै लक्षण थिएन । संघीय प्रहरी इकाइ कार्यालय गण्डकीका एसएसपी नरबहादुर केसीमा संक्रमण देखिएपछि अर्याल कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । एसएसपी केसीलाई उच्च ज्वरो र शरीर शिथिल हुनेलगायत लक्षण थियो । उनको परिवारका सदस्यलाई पनि संक्रमण देखिएको थियो । ३ साताभन्दा बढी आइसोलेसनमा बसेका केसी निको भइसकेका छन् ।

डीआईजी अर्यालले क्वाटरभित्रैको आइसोलेसनमा बसेर फोन र रेडियो सेटबाटै जनशक्ति परिचालनमा कमान्ड गरे । संक्रमण देखिएको १२ दिनपछि पुनः परीक्षण गराउँदा पनि रिपोर्ट पोजिटिभ आयो । आइसोलेसनको बसाइ लम्बियो । १० दिनपछि परीक्षण गराउँदा नेगेटिभ रिपोर्ट आएपछि असोज ११ गते उनी कोरोनामुक्त भए । अहिले अर्याल नियमित काममा फर्किसकेका छन् ।

भदौ तेस्रो साता नगर प्रहरी कार्यालय भृकुटीमण्डपबाट हेडक्वाटर सरुवा भएका डीएसपी पवन भट्टराईले कार्यरत युनिट छोड्नुअघि स्वाब परीक्षण गराए । रिपोर्ट पोजिटिभ आयो । त्यसको केही दिनमै श्वासप्रश्वासमा समस्या भएपछि प्रहरी अस्पताल महाराजगन्जमा भर्ना गरियो । उनलाई ज्वरो, रुघाखोकी, शरीर दुःख्नेलगायत लक्षण पनि देखिएको थियो । २० दिन जति आईसीयूमै बसेपछि उनको स्वास्थ्य अवस्था सामान्य भयो । भट्टराई संक्रमणमुक्त भई काममा फर्किसकेका छन् ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सरुवा भएका डीएसपी रुगम कुँवरलाई भदौ २२ मा अचानक जीउ दुःख्ने, ज्वरो आउनेलगायत लक्षण देखियो । शंका लागेर २३ गते स्वाब परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ देखियो । दोस्रोपटक परीक्षण गराउँदा पनि कोरोना देखिएपछि कुँवर केही आत्तिए तर चिकित्सकको सल्लाहअनुसार मन बलियो बनाएर बसे । २२ दिनपछि पुनः परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै उनी सामान्य अवस्थामा फर्किए ।

महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी नवीन कार्की भदौ अन्तिम साता संक्रमण पुष्टि भएसँगै वृत्तकै क्वाटरमा बसे । हल्का जीउ दुःख्ने, थकाइ लाग्ने र टाउको दुख्नेबाहेक अरू लक्षण नदेखिएकाले क्वाटरकै आइसोलेसनबाटै कमान्ड सम्हाले । अग्रभागमा रहेर नियमित शान्तिसुरक्षा र अपराध अनुसन्धान तथा नियन्त्रणमा खटिने क्रममा संक्रमण पुष्टि भएका तर हाल निको भएर काममा फर्किइसकेका माथि उल्लिखित सबै प्रहरी अधिकृतको एउटा समान धारणा छ, ‘आत्मबल बलियो बनाउने र चिकित्सकको सुझाव पालनाका साथै खानपिनमा ख्याल राख्नु नै सबैभन्दा ठूलो उपचार हो ।’ संक्रमण देखिएका करिब २ हजार प्रहरी अधिकृत तथा जवान अहिले पनि होम आइसोलेसन तथा अस्पताल र सरकारले तोकेका अन्य आइसोलेसनमा छन् । कतिमा संक्रमणको लक्षण देखिएको छ । धेरै लक्षणबिनाका संक्रमित छन् ।

करिब ३ हजार २ सय प्रहरी संक्रमणमुक्त भएर नियमित काममा पनि फर्किइसकेका छन् । संक्रमणको जोखिम उच्च भए पनि प्रहरी शान्तिसुरक्षा व्यवस्थापनदेखि अपराध अनुसन्धान र नियन्त्रण तथा बेलाबखत हुने विरोध, धर्ना र जुलुस नियन्त्रण गर्न पनि खटिनुपर्छ । राजधानीका थुप्रै प्रहरी यस्तै काममा खटिँदा संक्रमण सरेको आशंका छ । हालसम्म देशभर कार्यरत प्रहरी जनशक्तिमध्ये करिब ८ प्रतिशतमा संक्रमण देखिइसकेको छ ।

संक्रमित प्रहरीमा कस्तो कस्तो लक्षण ?

प्रदेश १ का प्रहरी प्रमुख डीआईजी कार्कीलाई सुरुमा जीउ दुख्ने, हल्का ज्वरो आउने तथा बिस्तारै स्वाद र गन्धको शक्ति कम हुँदै गयो । ‘सास फेर्न चाहिँ कठिन भएन तर सुँघ्ने र स्वादको शक्ति बिस्तारै हराउन थालेपछि अलिअलि डर चाहिँ लाग्यो, फेरि रिकभर नहुने हो कि भन्ने त्रास हुने रहेछ,’ उनले कान्तिपुरसँग भने, ‘कहिले सन्चो/भिक्स नाकमा दल्थेँ, कहिले जडीबुटीजन्य पदार्थ मुखमा लगाउँथेँ । संक्रमणमुक्त भइसकेपछि पनि ३/४ दिनसम्म पनि स्वाद र सुँघ्ने शक्ति पूरै फर्किएको थिएन ।’ मन बलियो बनाउनुका साथै चिकित्सकले दिएका सल्लाहसुझाव पालना, तातोपानी पिउने र दैनिक बाफ लिने जस्ता घरेलु उपचार पनि निकै सहयोगी भएको उनको भनाइ छ ।

गण्डकी प्रदेश प्रहरी प्रमुख अर्याललाई भने कुनै लक्षण नै देखिएन । ‘लक्षण नदेखिए पनि चिकित्सकका सल्लाहसुझाव अनि खानपानमा ख्याल राखेँ, आत्मबल सबैभन्दा ठूलो कुरा रहेछ,’ उनले भने । हतोत्साहित नभई लक्षणअनुसार औषधोउपचार हुन्छ, निको भएर सामान्य अवस्थामा फर्किन्छु भन्ने भावना राखे यसको त्रासबाट बाहिर आउन सकिने उनको अनुभव छ ।

२० दिन प्रहरी अस्पताल महाराजगन्जको आईसीयूमा बसेका डीएसपी भट्टराई श्वासप्रश्वास निकै जटिल भएपछि आत्तिएका रहेछन् । ‘सास फेर्न गारो हुँदा त मन निकै डराएको थियो तर अर्कोतर्फ चिकित्सकको निगरानीमा छु, आईसीयूमा राखेर उपचार भइरहेको छ भन्ने सम्झिँदा चाहिँ छिट्टै घर फर्किन्छु भन्ने भावना पलाएको थियो,’ उनले भने, ‘संक्रमण सकभर कसैलाई नलागोस् भन्ने हो तर लागिहाले डराएर होइन, खानपान, हिँडडुल र एकअर्काबीच दूरी कायमलगायत आत्मानुशासन, चिकित्सकको सल्लाहलगायतलाई सबैले पालना गर्नुपर्छ ।’ सबैभन्दा ठूलो कुरा आत्मबल र आत्मानुशासन रहेको उनको बुझाइ छ ।

संक्रमणमुक्त भएका डीएसपी कुँवर घरकै आइसोलेसनमा २२ दिन बसे । जीउ दुख्ने, टन्सिल हुने, खाना खान मन नलाग्ने र कोही मान्छे देख्नेबित्तिकै रिस उठ्नेलगायत लक्षण देखिए । ‘श्रीमतीले खाना ल्याउँदा पनि रिस उठ्थ्यो, पटक्कै खान मन लाग्दैनथ्यो,’ कुँवरले भने, ‘मलाई श्वासप्रश्वासको समस्याबाहेक सबै लक्षण देखियो तर खानपानमा ख्याल गर्ने, दैनिक व्यायाम र चिकित्सकको सल्लाहअनुसार अघि बढ्ने हो भने संक्रमणमुक्त भइन्छ भन्ने साहस बढ्यो ।’

प्रहरी प्रधान कार्यालयले पनि संक्रमणका कारण अस्पताल, आइसोलेसन र घर/क्वाटरमा बसेर उपचार गरिरहेका अधिकृत तथा जवानहरूलाई उच्च मनोबलका साथ रहन र नआत्तिन भनेको छ । ‘लक्षणबिनाका संक्रमितलाई ब्यारेक र अन्य स्थानमा बनाइएका आइसोलेसनमा बस्न र समस्या भए अस्पतालमा तुरुन्त आईसीयूमा भर्ना गर्ने गरी व्यवस्था हुन्छ, कुनै पनि हालतमा नआत्तिन भनेका छौं,’ प्रधान कार्यालयका एक अधिकारीले भने । अन्य सुरक्षा निकायको तुलनामा प्रहरीमा संक्रमण बढी छ तर संक्रमणमुक्त भएकालाई भने केही दिनको आरामपछि नियमित जिम्मेवारीमा खटाइने गरिएको छ ।

प्रकाशित : आश्विन २८, २०७७ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?