कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौंमा कोरोना व्यवस्थापन गम्भीर चुनौतीका रुपमा देखापर्‍यो : सरकारका प्रवक्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काठमाडौंमा कोरोना भाइरस नियन्त्रण र व्यवस्थापनमा गम्भीर चुनौती देखा परेको बताएका छन् । 

काठमाडौंमा कोरोना व्यवस्थापन गम्भीर चुनौतीका रुपमा देखापर्‍यो : सरकारका प्रवक्ता

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमण तीव्र बन्दै गएकोले व्यवस्थापनमा समस्या पर्न थालेको बताएका हुन् । उनले १० लाख ५० हजारभन्दा बढी मानिसहरुको ज्यान लिने कोरोना रोग सामान्य नभएको उल्लेख गर्दै सतर्कता अपनाउन रत्तिभर पनि कमी नगर्न आग्रह गरे ।

'कोरोना भाइरस खासगरी काठमाडौंमा तीव्र बन्दै गएको छ । बाहिर कतिपय जिल्लाले राम्रोसँग व्यवस्थापन गरिएको देखिए पनि काठमाडौंको व्यवस्थापनमा गम्भीर चुनौती देखा परेको छन् । त्यसैले यसलाई कुनै पनि अर्थमा हल्का ढंगले नलिन आग्रह गर्न चाहन्छु,' प्रवक्ता ज्ञवालीले भने, '१० लाख ५० हजारभन्दा बढी मानिसहरुको ज्यान लिने यो रोग सामान्य हुँदै होइन । त्यस कारणले यसप्रतिको सतर्कता रत्तिभर पनि कमी गर्न हुँदैन भन्ने आग्रह गर्न चाहन्छु ।'

नेपालकै कतिपय जिल्ला कोरोनाको हटस्पट बन्न लागे पनि नियन्त्रण गरिएको भए पनि काठमाडौं उपत्यकामा कोरोना व्यवस्थापनमा सरकार, जनप्रतिनिधि चुकिरहेको मन्त्री ज्ञवालीले स्वीकार गरे । 'काठमाडौं देशलाई नमुना दिने दृष्टान्त प्रस्तुत गर्ने राजधानी सहर हो । हरेक राजनीतिक सामाजिक परिवर्तनहरुमा त्यही भूमिका खेलेको छ । तर कता-कता महामारीविरुद्धको लडाइँमा चाहिँ काठमाडौं अलि पछाडि परेको हो कि भन्ने देखिन्छ ।'

उपत्यकाका जनप्रतिनिधि र स्थानीय सरकारहरुले कोरोना नियन्त्रणका सवालमा देशभित्रका 'बेस्ट प्राक्टिस'हरुबाट पाठ सिक्न जरुरी रहेको उनको भनाइ थियो । 'बाँकेको नरैनापुर, कपिलवस्तु, वीरगन्ज, उदयपुर हटस्पट बन्न लागे पनि त्यहाँका जनप्रतिनिधहरु र जिल्ला कोभिड व्यवस्थापन समितिका सक्रियताका कारण कोरोना नियन्त्रणमा लिएको छ । त्यहाँका असल अभ्यासहलाई पनि काठमाडौंमा लागू गर्न जरुरी छ ।'

४० लाखभन्दा बढी जनसंख्या भएको काठमाडौंमा कोरोना अनियन्त्रित भयो भने भयावह स्थिति हुने भन्दै उनले अस्पतालहरुमा बेड, आईसीयू अभाव हुन थालेको उल्लेख गरे । दैनिक देखिने संक्रमितमध्ये ६० प्रतिशत राजधानीका रहेको र त्यसविरुद्धको उपचारका लागि सरकारले सामर्थ्य बढाइरहे पनि पर्याप्त नभएको उनको भनाइ दियो । सरकारले भेन्टिलेटर, आईसीयूको थप प्रबन्ध गरिरहे पनि संक्रमण रोक्नका लागि नागरिकहरुको सचेतता एकदमै जरुरी उनले बताए ।

प्रवक्ता ज्ञवालीले विश्व स्वास्थ्य संगठनले तोकेको स्वास्थ्य मापदण्डअनुसार साबुन पानीले हात धुने, मास्क अनिवार्य लगाउने, स्यानीटाइजर प्रयोग गर्नेजस्ता काम कम हुनु र सभा, सम्मेलन र जमघट बढेकोले काठमाडौंमा कोरोना संक्रमण बढ्दै गएको बताए । दसैं, तिहार र छठजस्ता चाडपर्वहरुमा भिडभाड हुने र संक्रमण झन् बढ्ने खतरा हुनेतर्फ पनि सबैले ध्यान दिन उनले आग्रह गरे । जेष्ठ नागरिकहरुको सुरक्षा महत्वपूर्ण भएको उल्लेख गर्दै उनले सानो लापरबाहीले गर्दा जीवनमा नै जोखिमको अवस्था आउन नदिन आग्रह गरे ।

प्रकाशित : आश्विन २५, २०७७ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?