कांग्रेस कार्यसमिति बैठक अनिश्चित

क्रियाशील सदस्यता वितरणसमेत ठप्पप्रायः भएपछि महाधिवेशनबारे नै अन्योल
दुई महिनाभित्र क्रियाशील सदस्यता टुंगो लगाउन सकियो भने डेढ महिनामा सबै अधिवेशन गरीवरि महाधिवेशन गर्न सकिने रिपोर्ट निर्वाचन समितिले नै दिएको छ, ठूलो कुरा इच्छाशक्तिको हो– रामचन्द्र पौडेल
कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक तत्काल नहुने सम्भावना बढेपछि महाधिवेशनदेखि तल्ला तहका अधिवेशनको तालिकामै अन्योल बढेको छ । कोरोना संक्रमणका कारण पार्टीको क्रियाशील सदस्यता वितरण यतिबेला प्रायः ठप्प छ । सदस्यता वितरणले महाधिवेशनको तालिकामै प्रभाव पार्छ ।

कांग्रेस कार्यसमिति बैठक अनिश्चित

आइतबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डामा पार्टीको संस्थापनइतर पक्षले उठाएका मुद्दाका अलावा महाधिवेशनको तालिका पनि थियो । पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईंको निधनका कारण स्थगित गरिएको यो बैठक अब कहिले बस्ने टुंगो छैन । यसअघि असोज १९ गते बैठक बोलाइएको थियो । सात केन्द्रीय सदस्यलाई कोरोना पोजिटिभ देखिएपछि बैठक २५ गतेलाई सारिएको हो । यसबीचमा कोरोना संक्रमण घट्नुको साटो बढ्दै गएको छ । आइतबारको केन्द्रीय कार्यसमिति बैठकलाई लक्ष्य गरेर बिहीबार पार्टीले पदाधिकारी र केन्द्रीय सदस्यहरूको पुनः पीसीआर परीक्षण गराएको थियो । कर्मचारी, स्वकीय सचिव, सुरक्षागार्ड र सवारी चालकसमेत गरी १ सय ५१ जनाको पीसीआर परीक्षण गराउँदा थप आठ जनामा संक्रमण देखिएको छ । केन्द्रीय सदस्य रत्ना शेरचन र आमन्त्रित सदस्य जनकलाल कलौनीलाई संक्रमण पुष्टि भएको छ । एक जना कार्यालयकै कर्मचारीलाई पनि संक्रमण देखिएको छ । बैठकमा चिया, पानीको प्रबन्ध गर्ने ती महिला कर्मचारीमै पोजिटिभ देखिएपछि नेताहरू फेरि सशंकित छन् । अन्य धेरैजसो कर्मचारी होम आइसोलेसनमा छन् ।

यता वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू होम आइसोलेसनमा बसेको सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमार्फत पौडेलले आफ्नो निवासको एक कर्मचारीमा कोरोना पुष्टि भएकाले होम आइसोलेसनमा बस्नुपरेको कारण खोलेका हुन् । ‘कोरोना संक्रमण बढ्दै गएको र नेताहरूसमेत होम आइसोलेसनमा बस्नुपर्ने अवस्था खडा भएको हुनाले दसैंअघि बैठक बस्ने सम्भावना म देख्दिनँ,’ संस्थापन पक्षीय एक पदाधिकारीले भने ।

संस्थापनइतर पक्ष केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि आफूहरूले उठाएका मुद्दा सम्बोधन हुनुपर्ने पक्षमा अडिग छ । वरिष्ठ नेता पौडेल पक्षको शनिबार बसेको भर्चुअल बैठकले आफूहरूले उठाएको १६ बुँदे माग सम्बोधन हुनुपर्ने र तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्नेर्लगायतका अडान राख्ने निष्कर्ष निकालेको छ । त्यसका लागि केन्द्रीय कार्यसमितिको बैठकअघि पदाधिकारी, पूर्वपदाधिकारीबीच गत असोज १७ गते बसेको बैठकको निरन्तरता पौडेल पक्षले चाहेको छ । बैठकमै सहभागी दुई केन्द्रीय सदस्यमा संक्रमण पुष्टि भएपछि अनौपचारिक बैठक पनि स्थगन गरिएको थियो । पौडेल पक्षले आफूविरुद्ध लगाएको आरोप चिरेर अघि बढ्न सभापति शेरबहादुर देउवाले १७ गते इतर पक्षसँग अनौपचारिक बैठक राखेका थिए । पौडेल पक्षले क्रियाशील सदस्यता वितरण/नवीकरण, केन्द्रीय विभाग, भ्रातृ तथा शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क कार्यालय लगायतसम्बन्धी माग राखेर असोज १२ गते २७ जनाको हस्ताक्षरसहित पार्टी केन्द्रीय कार्यालयमा ज्ञापनपत्र दर्ता गराएको थियो ।

महाधिवेशनको मुखमा नेतृत्वले केन्द्रीय विभाग गठन र पार्टीको क्रियाशील सदस्यता वितरणमा विधान मिचेको आरोप पौडेल पक्षले लगाउँदै आएको छ । अन्य राजनीतिक दलबाट आउने नेता तथा कार्यकर्ताका लागि भन्दै प्रक्रिया विपरीत क्रियाशील सदस्यता वितरण गरिएको विषयलाई समेत उसले उठाएको छ । क्रियाशील सदस्यतामा व्यापक ‘धाँधली’ गरिएको निष्कर्ष शनिबारको भर्चुअल बैठकले समेत निकालेको छ ।

वरिष्ठ नेता पौडेलले १६ बुँदे माग सम्बोधन नभईकन आफूहरू अघि बढ्न नसक्ने बताए । ‘यताउता गरेर टार्ने र आफू जोगिएर बस्ने नियत देखिन्छ,’ पौडेलले कान्तिपुरसँग भने, ‘विधान र पद्धतिका विषयमा गैरजिम्मेवार बन्न मिल्दैन । हामीले उठाएका सबै विषयमा ठोस सम्बोधन हुनुपर्छ । सम्बोधन नहुँदै केन्द्रीय कार्यसमितिको बैठक बोलाए झगडा मात्रै हुन्छ । पहिले अनौपचारिक रूपमै सहमति बनोस् भन्ने हाम्रो चाहना छ ।’

सहमहामन्त्री प्रकाशशरण महतले भने पौडेल पक्षले उठाएका धेरै मुद्दामा प्रस्ट भइसकेको दाबी गरे । उनका अनुसार अन्य राजनीतिक दलबाट पार्टी प्रवेश गर्नेहरूलाई दिइएको क्रियाशील सदस्यताबारे मात्रै थप प्रस्ट हुन बाँकी छ । पौडेल पक्षले विधान विपरीत क्रियाशील सदस्यतामा दिइएको आरोप लगाउँदै यसले महाधिवेशन निष्पक्ष र स्वतन्त्र हुनेमा शंका गर्दै आएको छ । अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरूको समायोजनका लागि पार्टी उपसभापति विमलेन्द्र निधि संयोजक रहेको समितिलाई क्रियाशील सदस्यताको समेत निर्णय लिने अधिकार दिइएको छ । सभापति देउवा र निधिले बोल्न बाँकी रहेकै बेला अनौपचारिक बैठक स्थगित भएको थियो ।

वरिष्ठ नेता पौडेलले फागुनमै केन्द्रीय महाधिवेशन गर्नुपर्ने बताएका छन् । ‘दुई महिनाभित्र क्रियाशील सदस्यता टुंगो लगाउन सकियो भने डेढ महिनामा केन्द्रदेखि तल्ला तहसम्मका सबै अधिवेशन सकिने रिपोर्ट निर्वाचन समितिले नै दिएको छ,’ उनले भने, ‘ठूलो कुरा इच्छा शक्तिको हो ।’ सहमहामन्त्री महतले पनि सकेसम्म तोकिएको मितिमा महाधिवेशन गर्न पार्टी सभापति सकारात्मक रहेको बताए । ‘पौडेलजीले फागुनमै हुनुपर्छ भन्दा सभापतिले पनि मलाई केही छैन, गर्न सकिन्छ भने गरौं भन्नुभएको छ,’ उनले भने, ‘अधिवेशन गराउन नचाहेको, आलटाल गरेको भन्ने होइन ।’ पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भने पूर्वनिर्धारित तालिका प्रभावित भइसकेकाले महाधिवेशन तिथि सार्नुपर्ने प्रस्ताव अनौपचारिक बैठकमा राखेका थिए ।

केन्द्रीय कार्यसमितिको असार २२ गतेको बैठकले महाधिवेशन फागुनमै गर्ने गरी तल्ला तहका अधिवेशन सारेको थियो । जसअनुसार वडा, गाउँ/नगरपालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशन पुस ६ मा सुरु गरी माघ ६ गतेसम्म सम्पन्न गर्ने कार्यतालिका थियो । क्रियाशील सदस्यताको वितरण, नवीकरण साउन मसान्तभित्र सक्ने र भदौ मसान्तभित्र सदस्यताको सूची केन्द्रमा पठाउने तालिका थियो । यी दुवै काम समयमा नसकिएपछि तालिका संशोधन गर्न आवश्यक रहेको सिटौलाको भनाइ छ ।

केन्द्रीय कार्यसमितिमा दर्ता भएको १६ बुँदे माग भने सम्बोधन हुनुपर्ने भनाइ सिटौला पक्षको पनि छ । ‘पार्टीभित्र बृहत् रूपमा विश्वासको वातावरण बनाउन विधान विपरीतका जति पनि निर्णय भएका छन्, तिनलाई सच्याएर अघि बढ्नुपर्छ,’ केन्द्रीय सदस्य गगन थापाले भने, ‘१६ बुँदे मागलाई सम्बोधन नगरी अघि बढ्ने गल्ती सभापतिजीले गर्नु हुँदैन ।’

प्रकाशित : आश्विन २५, २०७७ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?