कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना अस्पतालमा छैन जनशक्ति

कोभिड अस्पतालका रुपमा सञ्चालित भीम अस्पतालमा आवश्यकताअनुरुप स्रोतसाधन र जनशक्ति उपलब्ध हुन सकेको छैन
माधव ढुंगाना

भैरहवा — कोभिड संक्रमणले स्वास्थ्यमा समस्या आएका सिद्धार्थनगर नगरपालिका–५ बैंकरोडका सुबोध तुलाचनलाई अस्पताल लैजान कुनै एम्बुलेन्स तयार भएनन् । संक्रमणका कारण उनी १० दिनअघि बेहोस भएर घरमै लडेका थिए । घरनजिकैको सरकारी भीम अस्पतालको एम्बुलेन्स बोलाइए पनि नआएको हो ।

कोरोना अस्पतालमा छैन जनशक्ति

जिल्ला अस्पतालका रूपमा रहेको भीम अस्पताललाई प्रदेश सरकारले कोभिड अस्पतालका रूपमा सञ्चालन गर्दै आएको छ । तर, अस्पतालको कथाव्यथा भने फरक छ । कोभिड अस्पतालका रूपमा सञ्चालन गरिए पनि आवश्यकताअनुरूपको स्रोतसाधन र जनशक्ति उपलब्ध छैन । कोभिड अस्पतालका तर्फबाट बिरामीले पाउनुपर्ने सुविधा प्रभावकारी हुन सकेको छैन ।

‘आवश्यक स्रोतसाधन र जनशक्ति नहुँदा अस्पताल सञ्चालनमा निकै समस्या छ,’ अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट शकुन्तला गुप्ताले भनिन्, ‘थोरै जनशक्तिले धेरै सेवा दिनुपरेको छ ।’ कोभिडका बिरामी बोक्ने अलग्गै एम्बुलेन्स हुनुपर्नेमा त्योसमेत नभएको उनले बताइन् । अस्पतालमा पहिलाकै एउटा मात्र एम्बुलेन्स छ । त्यो एम्बुलेन्स गर्भवती र सुत्केरी महिलाका लागि मात्र प्रयोग भइरहेको छ । एउटै एम्बुलेन्स कोरोनाका बिरामी र गर्भवती तथा सुत्केरीका लागि तत्कालै प्रयोग गर्न नमिल्ने गुप्ताले बताइन् । अस्पतालमा दिनहुँ १०/१२ जना सुत्केरी हुन्छन्, जसमध्ये ३/४ जनाको शल्यक्रिया हुने गर्छ । कोभिडका बिरामीलाई उपलब्ध गराइनुपर्ने भेन्टिलेटर र सञ्चालन गर्ने जनशक्तिको पनि उत्तिकै अभाव छ । अस्पतालमा ३ वटामात्र भेन्टिलेटर उपलब्ध छन् । तर, भेन्टिलेटर सञ्चालन गर्ने जनशक्ति स्थायी रूपमा नहुँदा यो सेवा बेलाबेलामा अवरुद्ध हुने गरेको छ । भेन्टिलेटर सञ्चालन गर्न एक जना एनेस्थेसिया चिकित्सक र एक जना असिस्टेन्ट आवश्यक पर्नेमा दुवै जनशक्ति अस्पतालमा स्थायी रूपमा छैनन् ।

प्रदेश सामाजिक विकास मन्त्रालयले कोरोना अस्पतालका रूपमा सञ्चालन गर्दाको सुरुवाती बेलामा निजी क्षेत्रको युनिभर्सल शिक्षण अस्पतालबाट जनशक्ति मगाएर भेन्टिलेटर सञ्चालन गरेको थियो । युनिभर्सल शिक्षण अस्पतालमै थप जनशक्ति चाहिने भएपछि उनीहरू फर्के । ‘भेन्टिलेटर सञ्चालन हुन नसक्दा बिरामीको मृत्यु हुन थाल्यो भन्दै जनशक्ति उपलब्ध गराइदिन बारम्बार मन्त्रालयमा माग गर्दै आएका छौं,’ भीम अस्पतालका प्रशासन शाखा प्रमुख गोविन्द ज्ञवालीले भने, ‘मन्त्रालयबाट आउँदै छन् भन्ने आश्वासन पाए पनि अहिलेसम्म आएका छैनन् ।’ अस्पतालले आफ्नै पहलमा भेन्टिलेटर सञ्चालन गर्ने जनशक्ति प्रबन्ध गर्न लागेको उनले बताए ।

उक्त अस्पतालमा कोभिडबाहेकका बिरामी दैनिक २ सय ५० जनाको हाराहारीमा आउने गर्छन् । अस्पतालमा स्वीकृत बेड संख्या २५ भए पनि सुत्केरी, आकस्मिक, इन्डोरमा थप्नुपर्ने भएकाले ६८ बेड सञ्चालनमा थियो । कोभिड अस्पतालसमेत सञ्चालन गर्न भनेर २७ बेड थपिएपछि यतिबेला ९५ बेड सञ्चालनमा छन् । तर, जनशक्ति भने पहिला २५ बेडका लागि उपलब्ध गराइएकै संख्यामा छ । त्यसमा पनि सरकारले उपलब्ध गराएको जनशक्तिसमेत पूरा छैन ।

अस्पतालका लागि सरकारले मेडिकल सुपरिन्टेन्डेन्टसहित ३ जना विशेषज्ञ (एमडी) र ३ जना अधिकृत तहका चिकित्सकको स्थायी दरबन्दी कायम गरेको छ । जसमध्ये एक जना विशेषज्ञ र एक जना अधिकृत तहको दरबन्दी खाली नै छ । १० जना स्टाफ नर्सको दरबन्दीमा ८ जना छन् । तीन जना अनमी दरबन्दीमा एक जना र ५ जना अहेव तथा हेल्थ असिस्टेन्ट छन् । १६ जना कार्यालय सहयोगी छन् । ‘यही जनशक्तिलाई परिचालन गरेर कोरोना र अन्य बिरामीको उपचार उपलब्ध गराउनुपर्दा जनशक्तिलाई व्यवस्थापन गर्न निकै गाह्रो भइरहेको छ,’ ज्ञवालीले भने, ‘बिरामीको चाप र अस्पतालमा उपलब्ध बेडअनुरूप प्रभावकारी उपचार सेवा उपलब्ध गराउन अहिलेको जनशक्तिको तेब्बर संख्यामा उपलब्ध हुन जरुरी छ ।’

प्रकाशित : आश्विन २५, २०७७ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?