डा. केसीको धड्कन असामान्य- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डा. केसीको धड्कन असामान्य

कान्तिपुर संवाददाता

काठमाडौँ — अनशनरत डा. गोविन्द केसीको मुटुमा हरेक मिनेटमा असामान्य धड्कन देखिएको छ । यसबाट एक्कासि मुटुले काम गर्न नसक्ने (सडन कार्डियाक एरेस्ट) जोखिम बढेको र यसअघिका अनशनभन्दा स्वास्थ्यस्थिति जटिल देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । 

६४ वर्ष पुगिसकेका डा. केसीको यसअघि १५ औं अनशन २७ दिनसम्म चलेको थियो । ‘अहिले हरेक मिनेटमा एक–दुई पटक असामान्य धड्कन देखिएको छ,’ उपचारमा संलग्न स्वास्थ्य टोलीका संयोजक डा. सुवासप्रसाद आचार्यले भने, ‘असामान्य धड्कन बढ्दै जाँदा मुटुको चालमा गडबड भएर सडन कार्डियाक एरेस्ट हुन सक्छ ।’

डा. केसीलाई निमोनिया हुने सम्भावना बढी देखिएकाले शुक्रबार छातीको ‘सिटिस्क्यान’ गरिएको छ । ‘सिटिस्क्यानमा अलिकति समस्या देखियो,’ डा. आचार्यले भने, ‘छातीमा देखिएको परिवर्तन संक्रमण वा कुन कारणले हो भन्न सकिने स्थिति छैन ।’ थप समस्या पहिचान गर्न शनिबार रेडियोलोजिस्टको सल्लाह लिने तयारी रहेको उनले बताए ।

डा. केसी शारीरिक रूपमा अत्यन्त कमजोर भएका छन् । छातीमा दुखाइ, थकाइ, मांसपेशी दुखाइसँगै बाउँडिने, चक्कर लाग्नेजस्ता समस्या निरन्तर देखिएका छन् ।

उनलाई न्यून परिश्रममा समेत सास फेर्न गाह्रो भइरहेको चिकित्सकले बताएका छन् । शुक्रबार केही क्षण अक्सिजन नदिँदा सास फेर्न गाह्रो भएको थियो । त्यो समय अक्सिजन स्याचुरेसन ८६–८७ प्रतिशतमा झरेको थियो । ‘केही मिनेट अक्सिजन नलिएर सामान्य रूपमै सास फेरिरहनुभएको थियो । लगत्तै फेस मास्कको माध्यमले प्रतिमिनेट ४ देखि ६ लिटरसम्म अक्सिजन दिन थालियो,’ डा. आचार्यले भने, ‘अक्सिजन दिन थाल्दा अक्सिजनको स्याचुरेसन ९४–९५ प्रतिशतमा पुग्यो ।’

डा. केसीको पिसाब पनि अत्यन्त कम आउने गरेको छ । रक्तचाप ९०/४० देखि ११०/६० सम्म देखिएको छ । उनले रगतको अन्य परीक्षण गराउन अस्वीकार गरेका छन् । ‘उहाँ एलर्ट (चनाखो), ओरिएन्ट (वातावरणअनुकूल आफ्नो स्थिति बुझ्ने) हुनुहुन्छ,’ डा. आचार्यले भने, ‘उहाँ सबै कुरा गर्नुहुन्छ । सुन्ने, देख्ने, निर्णय लिने, बोल्ने शक्तिमा कमी भएको छैन ।’ स्वास्थ्यस्थिति अत्यन्त जटिल भएकाले जोखिम बढ्न नदिनका लागि आईसीयूमा भर्ना हुन चिकित्सकहरूले आग्रह गरे पनि उनले अस्वीकार गर्दै आएका छन् ।

सम्बन्धित समाचार

प्रकाशित : आश्विन २४, २०७७ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्

सत्याग्रहीप्रति छलछामको रबैया

दिनभरि कुराएर राति अबेर वार्ता तैपनि निष्कर्षहीन, सरकारी टोलीलाई समय नै दिएनन् प्रधानमन्त्रीले
सुदीप कैनी, अतुल मिश्र

काठमाडौँ — सरकार र आमरण अनशनरत डा. गोविन्द केसी पक्षबीच शुक्रबार मध्यराति भएको वार्ता पनि बिनानिष्कर्ष टुंगिएको छ । २६ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य बिग्रिँदै गएका बेला वार्तामा छलछाम गरेर सरकारले सत्याग्रहीमाथि अमानवीय व्यवहार देखाएको डा. केसीतर्फका वार्ता टोली संयोजक डा. जीवन क्षत्रीले बताएका छन् । ‘बिहीबार भएको सम्झौताबाट पनि सरकार पछि हट्यो,’ उनले भने ।

सरकारी वार्ता टोली र डा. केसी पक्षबीच शुक्रबार राति ९ बजेदेखि करिब डेढ घण्टा वार्ता भएको थियो । बिहीबारको वार्ता निष्कर्षउन्मुख रहेको दुवै पक्षले दाबी गरेका थिए । त्यतिबेला आन्तरिक गृहकार्य गरेर पुनः वार्तामा बस्ने समझदारी भएको थियो । तर शुक्रबार अबेर राति मात्रै सरकारी टोली वार्ताका लागि तयार भएको थियो । वार्तापछि डा. क्षत्रीले सरकार नतिजामुखी हुन नदिने रणनीतिमा रहेको प्रस्ट भएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेल डा. केसीको जीवनरक्षामा जिम्मेवार र संवेदनशील नभएको उनको भनाइ छ । ‘दिनभरि गृहकार्य गर्दै छौं भनेर वार्तामा बस्न आलटाल गरियो,’ उनले कान्तिपुरसँग भने, ‘हामीले राति १० बजे पत्रकार सम्मेलन गरेर थप आन्दोलनका कार्यक्रम घोषणा गर्छौं भनेपछि ९ बजे वार्तामा डाकियो तर कुनै पनि बुँदालाई अन्तिम रूप दिन सकिएन ।’

वार्ता निष्कर्षविहीन भएपछि डा. केसी पक्षले सशक्त सडक आन्दोलन गर्ने चेतावनी दिएको छ । डा. केसीका तर्फबाट गठित वार्ता टोलीले नै त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरेर चिकित्सक संघ, रेजिडेन्ट चिकित्सकका संगठनहरू, अन्य संस्था र आमनागरिकलाई आन्दोलनमा आउन अपिल गरेको छ । ‘शिक्षामन्त्री दुराशय राखेर वार्ता कमिटीबाटै सम्पर्कविहीन हुनुभयो । प्रधानमन्त्रीले पनि संवेदनशील भएर डा. केसीको जीवनरक्षा गर्ने प्रयत्न गर्नुभएन, बरु डा. केसीको ज्यान जाओस्, आन्दोलन अल्झाउने र वार्तालाई अनिश्चित काल लम्ब्याउने जस्तो मात्र देखियो,’ डा. क्षत्रीले भने ।

डा. केसी पक्षीय वार्ता टोलीका सदस्य अधिवक्ता ओमप्रकाश अर्यालले स्वास्थ्य जोखिममा रहेका सत्याग्रहीलाई कुराएर सरकारले गैरजिम्मेवारीपन देखाएको बताए । ‘राज्यको योभन्दा ठूलो प्राथमिकता कुनै थिएन, हामीले त रातारात भए पनि टुंगो लगाउनुपर्छ भनेका थियौं,’ उनले भने, ‘आज (शुक्रबार) बिहानैदेखि कोसिस गर्‍यौं । आन्तरिक गृहकार्य भनेर कुराउनुभयो, पर्खेकोपर्ख्यै भयौं, राति अबेर वार्तामा डाकियो तर कुरा मिल्न सकेन ।’ सरकारी टोलीका सदस्यहरूले भने वार्ताबारे केही बोल्न चाहेनन् ।

सत्याग्रहीलाई मृत्युशय्यामा राखेर वार्तालाई बेवास्ता गरिएको डा. केसीका समर्थकको गुनासो छ । काठमाडौं विश्वविद्यालय प्राध्यापक संघका पूर्वसभापति विभूतिरञ्जन झाले सरकारले मनैदेखि चाहेर डा. केसीसँग वार्ता नगरेको टिप्पणी गरे । ‘सरकारले जनदबाबमा वार्ता टोली गठन गरेको हो, सरकार बिजनेसम्यान जस्तो छ, उसले नाफाघाटा हेरेर मात्र डा. केसीसँग सम्झौता गर्छ । हतपती सहमति गर्दैन,’ उनले भने । सरकार संवेदनशील र जिम्मेवार भएको भए डा. केसीले २६ दिनसम्म सत्याग्रहमा बस्नु नपर्ने उनले प्रस्ट्याए । ‘तत्काल सैद्धान्तिक सहमति मात्रै गरेर भए पनि जीवनरक्षाका लागि अनशन तोडाउन सकिन्थ्यो,’ उनले थपे, ‘सरकार बिचौलिया, माफिया र मेडिकल कलेजका सञ्चालकबाट चलेको छ, सरकारी वार्ता टोली पनि अह्राएको काम मात्रै गर्ने कारिन्दा जस्तो भयो । अधिकारसम्पन्न वार्ता टोली भएन । प्रधानमन्त्री, मन्त्रीसमेतलाई कन्भिन्स गराउन सक्ने वार्ता टोली भएको भए यस्तो ढिलासुस्ती हुँदैनथ्यो ।’

स्रोतका अनुसार बिहीबारको वार्ताको उपलब्धिबारे जानकारी गराउन सरकारी वार्ता टोलीलाई प्रधानमन्त्री ओलीले समय नै दिएका छैनन् । डा. केसी पक्षीय वार्ता टोली शुक्रबार सरकारी वार्ता टोलीका संयोजक (शिक्षा सचिव गोपीनाथ मैनाली) सँग दिनभर सम्पर्कमा बसेको थियो । तर गृहकार्य हँॅदै छ भनेर समय दिइएन । बिहीबार भने मोटामोटी सम्झौताको बुँदा तयार पारिएको र त्यसलाई प्रधानमन्त्रीबाट अनुमोदन गराउने काम मात्र बाँकी रहेको दाबी स्रोतले गरेको थियो । अरू मागमा लगभग समझदारी बने पनि त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) का डिनलगायत पदाधिकारीको बर्खास्ती र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका बहालवाला र पूर्वआयुक्तको सम्पत्ति छानबिन गर्ने विषयमा दुई वार्ता टोलीबीच मुख्य विमति थियो । अधिकांश माग प्रधानमन्त्री र मन्त्रिपरिषद्सँग सम्बन्धित रहेकाले सम्झौताको मस्यौदा ओलीबाटै अनुमोदन गराउन प्रयास भइरहेको बताइएको थियो ।

वार्ता बिनानिष्कर्ष टुंगिए पनि जुनैबेला पुनः वार्तामा बस्न तयार रहेको डा. केसी पक्षले जनाएको छ । बुधबार सरकारले शिक्षा सचिव मैनालीको संयोजकत्वमा ३ सदस्यीय र डा. केसीले डा. क्षत्रीको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन गरेका थिए । बिहीबार करिब १० घण्टा वार्ता भएको थियो ।

‘सोलिडारिटी फर डा. केसी अलायन्स’ ले सरकारलाई दबाब दिन शनिबार मध्याह्न माइतीघर मण्डलमा कार्यक्रम गर्ने घोषणा गरेको छ । डा. केसी पक्षका वार्ता टोली संयोजक डा. क्षत्रीले शुक्रबार राति ११ बजे विज्ञप्ति जारी गर्दै जीवनरक्षाका लागि थप सशक्त आन्दोलनको कार्यक्रम ल्याउन चिकित्सक संघ, रेजिडेन्ट चिकित्सकहरूका संगठनहरू, अन्य संस्था र आम नागरिकलाई विज्ञप्तिमार्फत आह्वान गरेका छन् ।

प्रकाशित : आश्विन २४, २०७७ ०६:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×