कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डा.केसीको स्वास्थ्य अवस्थालाई सरकारले चासाेका साथ हेरेको पाइएन : मानव अधिकार आयोग

केसीसँग यसअघि भएका सम्झौताहरुको कार्यान्वयन स्थिति सार्वजनिक गर्न निर्देशन
केसीको स्वास्थ्य अवस्था र उचित मागहरुप्रति समयमै संवेदनशील बन्न सरकरालाई आग्रह
कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले डा. गोविन्द केसीसँग यसअघि सरकारले गरेका सम्झौताहरु कार्यान्वयनको स्थिति सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । भदौ २९ गतेदेखि अनशनरत डा. केसीको स्वास्थ्य अवस्था अत्यन्त चिन्ताजनक बन्दै गइरहेको प्रति पनि आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

डा.केसीको स्वास्थ्य अवस्थालाई सरकारले चासाेका साथ हेरेको पाइएन : मानव अधिकार आयोग

आयोगका प्रवक्ता तथा सचिव वेद भट्टराईले जारी गरेको विज्ञप्तिमा आयोगको अनुगमनमा डा. केसीको स्वास्थ्य अवस्थाबारे सरकारले चासोका साथ नहेरेको पाइएको पनि उल्लेख गरेको छ ।

‘डा. केसीको स्वास्थ्य अवस्था सम्बन्धमा आयोगको बागमती प्रदेश कार्यालयको टोलीले आज महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगी अनुगमन गरेको छ । निजको स्वास्थ्य अवस्था सम्बन्धमा नेपाल सरकारबाट चासोका साथ नहेरिएको अनुगमनको क्रममा पाइएको छ,’ विज्ञप्तिमा भनिएको छ । आयोगले डा. केसीको स्वास्थ्य अवस्था एवम् नेपाल सरकारसँग विगतमा भएका सम्झौताहरुको कार्यान्वयन अवस्था सम्बन्धमा जानकारी गराउन नेपाल सरकारलाई पत्राचार गरेको पनि जनाएको छ ।

आयोगले केसीसँग विगतमा गरिएका सम्झौताको पालना गर्न र उनको स्वास्थ्य तथा उचित मागहरुप्रति समयमै संवेदनशील बन्न सरकारलाई आग्रह गरेको छ । ‘वार्ता र संवादको माध्यमबाटै कुनै पनि समस्याको समाधान हुने भएकोले त्यसतर्फ समयमै सार्थक पहल गरी निजको जीवन रक्षा गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

आयोगले आफ्ना मागहरु पूरा गराउन आमरण अनशनजस्तो जीवन नै जोखिममा पर्नसक्ने जटिल विकल्प नरोज्न पनि डा. केसीलाई आग्रह गरेको छ ।

डा. केसीको १९ औं अनशनको बुधबार २४ औं दिन भए पनि सरकारले अनशन तोड्न आग्रह गर्नेबाहेक वार्ता टोलीसमेत गठन गरेको छैन ।

प्रकाशित : आश्विन २१, २०७७ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?