बुटवल–भैरहवा करिडोरलाई वित्तीय राजधानी बनाउने प्रदेश ५ सरकारको निर्णय- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुटवल–भैरहवा करिडोरलाई वित्तीय राजधानी बनाउने प्रदेश ५ सरकारको निर्णय

रूपन्देही, कपिलवस्तु र नवलपरासी सांस्कृतिक–पर्यटकीय राजधानी बनाइने
अमृता अनमोल

बुटवल — प्रदेश ५ सरकारले रूपन्देहीको बुटवल–भैरहवा करिडोरलाई वित्तीय राजधानी बनाउने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो ।

सामाजिक विकासमन्त्री सुदर्शन बरालका अनुसार बैठकले रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लालाई सांस्कृतिक र पर्यटकीय राजधानी बनाउने निर्णय पनि गरेको छ । बुद्धजन्मस्थल लुम्बिनी र बुद्धसँग सम्बन्धित क्षेत्र उजागर गर्ने भन्दै यी तीन जिल्ला सांस्कृतिक र पर्यटकीय राजधानीका रुपमा समेटिन लागेका हुन् ।

यस्तै कपिलवस्तुको शिवराज नगरपालिकामा सरुवा रोग नियन्त्रणसम्बन्धी अस्पताल बनाउने मन्त्रिपरिषद्को निर्णय छ । यसका लागि वन क्षेत्रको ९ बिघा जग्गा उपलब्ध गराउने निर्णय भएको मन्त्री बरालले जानकारी दिए ।

रूपन्देहीमा रहेको प्रदेशको अस्थायी राजधानी स्थायी रूपमा दाङको देउखुरी लैजाने प्रस्तावले चिढिएका सत्तापक्षका प्रदेशसभा सदस्यलाई सान्त्वना दिन मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो । यसअघि सोमबार बसेको नेकपा संसदीय दलको बैठकमा भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले उक्त प्रस्ताव पेस गरेका थिए । चौधरीको प्रस्तावलाई संसदीय दलबाट निर्णय गराएर मन्त्रिपरिषद् लगिएको थियो ।

मन्त्रिपरिषद्का उक्त निर्णय मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभाबाट सार्वजनिक गर्ने तयारी छ । तर प्रतिपक्ष कांग्रेसको विरोधले प्रदेशसभा बैठक चल्ने अवस्था नभए पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने मन्त्री बरालले बताए ।

प्रकाशित : आश्विन २०, २०७७ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्

बीपी प्रतिष्ठानमा उपचाररत धरानका ६४ वर्षीय संक्रमितको मृत्यु

प्रदीप मेन्याङ्बो

सुनसरी — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत धरान उपमहानगरपालिका–३ का एक कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार ६४ वर्षीय पुरुषको मंगलबार बिहान ४ बजेर २० मिनेटमा मृत्यु भएको हो  ।


उनका अनुसार विगतमा क्षयरोग भएका ती व्यक्ति पछिल्लो समय मधुमेहले पनि पीडित थिए । खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि प्रतिष्ठानमा भर्ना गरिएका उनको असोज १२ गते पीसीआर जाँच गरिएको थियो । रिपोर्टमा कोरोना पोजिटिभ देखिएपछि सोही दिन कोभिड–१९ अस्पताल लगिएको थियो ।

यसैबीच मंगलबार बिहान मात्र धरान उपमहानगरमा थप ४६ जनामा कोरोना पुष्टि भएको छ । उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार संक्रमितहरूको विवरण लिएर उनीहरूको सम्पर्कमा आएकाको कन्ट्याक्ट टेसिङ गर्ने काम भइरहेको छ ।

प्रकाशित : आश्विन २०, २०७७ १०:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×