कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१० कट्ठा र १० लाखको प्रलोभन देखाएर बयान फेर्न दबाब

सन्तोष सिंह

धनुषा — बलात्कारको आरोप लागेका महोत्तरीको भंगहा–९ का वडासचिव मिथिलेश यादव पक्षधरले पीडित महिलालाई नगद र जग्गाको प्रलोभन देखाएर मुद्दामामिलाबाट जोगिन दबाब दिएका छन् । आइतबार अजगेवा बजारमा भेटेर आरोपित यादव पक्षका व्यक्तिले घटना मिलाउन नगद र जग्गा दिने प्रलोभन देखाएको ३५ वर्षीया पीडित महिलाले दाबी गरिन् ।

उनका अनुसार बजारमा बाँसको टोकरी बेचिरहेका बेला मोटरसाइकलमा मास्क लगाएर आएका दुई जना अपरिचितले १० लाख रुपैयाँ र १० कठ्ठा जग्गा लिएर अदालतमा बयान फेर्न भनेका थिए । ‘गुजाराका लागि टोकरी बेच्न बजार जानैपर्छ,’ उनले भनिन्, ‘टोकरी बेचिरहेकै ठाउँमा दुई जना आए । मैले चिन्न सकिनँ, उनीहरूको मुखमा मास्क थियो । आउनासाथ के गर्ने अब ? जेलमै राख्ने कि मिलाएर निकाल्ने भन्दै नगद र जग्गाको प्रलोभन देखाए । मैले अस्वीकार गरेपछि उनीहरू फर्किए ।’

त्यसपछि पनि आफ्ना आफन्त पर्ने रामसागर भन्ने व्यक्तिलाई घरमै पठाएर पुनः लेनदेनबाटै मेलमिलाप गर्न दबाब दिइएको उनको भनाइ छ । प्रलोभनसँगै धम्कीसमेत आउन थालेपछि हाटबजार जान डर लाग्न थालेको उनले सुनाइन् । यसअघि पनि उनलाई आरोपित सचिवकै भतिजा राहुल यादवले १०–१५ लाख रुपैयाँ लिएर घटना गाउँमै मिलाउन प्रस्ताव राखेका थिए ।

बलात्कार आरोपमा वडा सचिव पक्राउ

घरमा श्रीमान्ले बनाएको टोकरी बेचेर हरिणमरी बजारबाट बुधबार घर फर्किंदै गर्दा ३५ वर्षीया महिलालाई वडासचिव यादवले बलात्कार गरेको आरोप छ । घटनालगत्तै प्रहरीले आरोपित वडासचिव यादवलाई पक्राउ गरेको थियो । पीडित पक्षको जाहेरीअनुसार जबर्जस्ती करणी महलअर्न्तगत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको महोत्तरी प्रहरीका एसपी टीकाबहादुर केसीले बताए । पीडित महिलालाई प्रलोभन देखाइएको बारे कुनै जानकारी नभएको उनले बताए । ‘महिलालाई प्रलोभन देखाएको बारे केही थाहा भएन । हामी घटनाको अनुसन्धानमै छौं,’ उनले भने ।

घटनालगत्तै आरोपित वडासचिव यादवले गाउँकै एक नेताको घरमा गई मेलमिलाप गराइदिन अनुनय गरेका थिए । यादव पक्राउ परेपछि अबेर रातिसम्म गाउँमा पञ्चायतीसमेत बसेको थियो । पीडित महिला विपन्न परिवारकी भएकाले आर्थिक प्रलोभनमा पारेर अदालतमा बयान फेर्न लगाउन आरोपित पक्षले चलखेल गरिरहेका पीडित पक्षको आरोप छ ।

आरोपित पक्राउ गर्न दबाब

बलात्कार आरोपितलाई पक्राउ गर्न माग गर्दै अधिकारकर्मीले सोमबार जनकपुरमा प्रदर्शन गरेका छन् । मानसिक अवस्था बिग्रिएकी किशोरीलाई बलात्कार गर्नेलाई पक्राउ गर्न धनुषा प्रहरीलाई ज्ञापनपत्रसमेत बुझाइएको छ ।

धनुषाधाम नगरपालिका–३ का ३० वर्षीय राममान श्रेष्ठ र २८ वर्षीय भरतमान श्रेष्ठले छिमेकी १७ वर्षीया किशोरीलाई दुई वर्षदेखि डरधम्की देखाएर बलात्कार गरेको अधिकारकर्मी गुञ्जा रायले बताइन् ।

धनुषा प्रहरीले बलात्कारको मुद्दा दर्ता भएको र अनुसन्धान जारी रहेको जनाएको छ । बलात्कृत भएको दाबी गरिएको युवतीको मानसिक अवस्था ठीक नरहेको र चार वर्षदेखि धरानमा उपचार चलिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन २०, २०७७ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?