कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डा. केसीको स्वास्थ्य नाजुक हुँदा पनि सरकार उदासीन देखियो : साझा पार्टी

डा. केसीको ज्यान जोखिममा परे त्यसको मूल्य सरकारलाई भारी पर्ने साझाको चेतावनी
कान्तिपुर संवाददाता

काठमाडौँ — चिकित्सा क्षेत्रको सुधारका विभिन्न माग राखी २२ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको अवस्था र त्यसप्रति सरकारले उदासीनता देखाएको भन्दै साझा पार्टीले चिन्ता व्यक्त गरेको छ ।

डा. केसीको स्वास्थ्य नाजुक हुँदा पनि सरकार उदासीन देखियो : साझा पार्टी

डा. केसीले १९औँ अनशनमा राखेका कुनै पनि माग नाजायज नभएको भन्दै सरकारले विश्वमै विरलै भेटिने डा. केसी जस्ता गरिब र निमुखा नागरिकका लागि ज्यानै अर्पण गर्न तयार सत्याग्रहीको माग पूरा गर्नुपर्ने पार्टीका प्रवक्ता शरदराज पाठकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

डा. केसीले २०६९ सालमा पहिलो अनशन सुरु गरेयताका सबैजसो मागहरू सत्तापक्ष र प्रतिपक्षले तथा देशको संविधानले अख्तियार गरेको समाजवादी सोचसँग मिल्दाजुल्दा भए पनि यिनै दलले पटक-पटक सरकारको नेतृत्व गर्दा पनि उस्तै माग राखेर पटक-पटक अनशनमा बस्नुपर्ने स्थिति रहिरहनु विडम्बनाको विषय भएको साझा पार्टीले बताएको छ ।

वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वमा भएको बेलामा मात्र डा. केसी ६ पटक अनशन बसिसकेको उल्लेख गर्दै साझा पार्टीले यस पटक अक्सिजन लिनुपर्ने अवस्थामा पुगिसक्दा समेत सरकारले क्रुर असंवेदनशीलता प्रकट गरिरहेको र वार्ता टोलीसम्म गठन नगर्नु दु:खद भएको बताएको छ । 'के सरकारले डा. केसीलाई मार्नै खोजेको हो?' भनेर पनि सरकारसँग प्रश्न गरेको छ ।

'पछिल्लो पटक २०७५ साउन १० गते केसीसँग अहिलेकै सरकारले गरेको सम्झौता कार्यान्वयन गराउने सार्वजनिक प्रतिबद्धता जाहेर गरेका प्रधानमन्त्रीलाई डा. केसी तिनै मागहरूसहित पुन: अनशन बस्दा किन लज्जाबोध भइरहेको छैन? किन उल्टै जिम्मेवार मन्त्री खटाएर सरकार उनलाई गलत देखाउने चेष्टा गर्दैछ?,' साझा पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सरकारी बेवास्ताले डा. केसीको ज्यान जोखिममा परे त्यसको मूल्य सरकारलाई भारी पर्ने पनि साझाले जनाएको छ ।

प्रकाशित : आश्विन १९, २०७७ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?