कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आईसीयू पाउनै मुस्किल

गम्भीर संक्रमित भेटिने क्रम बढेसँगै उपत्यकाका आईसीयू भरिएका छन् । कतिपय अस्पतालले बिरामीको स्थिति जटिल भए पनि जनरल र इमर्जेन्सी वार्डमा राखेर उपचार गरिरहेका छन् ।
मकर श्रेष्ठ

काठमाडौँ — भक्तपुर बालकोटका एक कोरोना संक्रमित घरमै आइसोलेसन बसेका थिए । सास फेर्न गाह्रो भएपछि शुक्रबार उनी नजिकैको नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल पुगे । उनलाई आईसीयू चाहिने देखियो । अस्पतालले कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाका सरकारी र निजी अस्पतालमा आईसीयू बेड खोज्न थाल्यो ।

आईसीयू पाउनै मुस्किल

स्वास्थ्य मन्त्रालयमा समेत जानकारी गरायो । कतै आईसीयू शय्या खाली भेटिएन । ‘संक्रमितलाई हाइफ्लो अक्सिजन दिएर राख्यौं । आइतबार बल्ल बलम्बुको सशस्त्र प्रहरी अस्पतालमा आईसीयू बेड पायौं,’ अस्पतालका मेडिकल डाइरेक्टर डा. दीपेन्द्रकुमार रोशनले भने, ‘काठमाडौं उपत्यकामा कोरोना संक्रमितलाई आईसीयू पाउन गाह्रो हुन थाल्यो ।’

ती संक्रमितलाई भर्ना गरिएको सशस्त्र प्रहरी अस्पतालमा २० शय्याको आईसीयू छ । सबै गम्भीर खालका बिरामी छन् । दुई जना भेन्टिलेटरमा छन् । ‘पछिल्लो समय आईसीयू खाली छ कि भन्दै सोध्ने फोन बढी आउँछ,’ अस्पतालका कोभिड कोर्डिनेटर डा. प्रवीन नेपालले भने, ‘दिनमा मुस्किलले १/२ बेडमात्रै खाली हुन्छ । यहाँको आईसीयूमा आउन बिरामी सरकारी र निजी अस्पतालमा कुरेर बसेका छन् ।’

निजी अस्पतालको आईसीयूमा खर्च बढी लाग्ने भएकाले धेरै बिरामी सरकारी अस्पतालमै जान चाहन्छन् । अस्पताल चहार्दै हिँड्दा पनि हतपती भेट्दैनन् । ‘मन्त्रालयमा नाम टिपाए पनि हामीले सरकारी अस्पतालमा कतै पनि आईसीयू पाएनौं,’ काठमाडौं बूढानीलकण्ठका एक संक्रमितका आफन्तले भने, ‘केही दिनमा आईसीयू मिलाइदिने सर्तमा बिरामीलाई निजी अस्पतालमा राखेका छौं ।’

पाटन अस्पतालका मेडिकल अफिसर विष्णु पटेलले मन्त्रालयले संक्रमित हुनेको संख्या सुनाउनुभन्दा कुन अस्पतालमा कति आईसीयू र भेन्टिलेटर खाली छन् भनेर जानकारी दिने गरे सर्वसाधारणलाई सहज हुने भनेर फेसबुकमा स्टाटस लेखेका छन् । मन्त्रालयले काठमाडौं उपत्यकाको कुन अस्पतालका आईसीयू र भेन्टिलेटरमा कति संक्रमितको उपचार भइरहेको छ भनेर हरेक दिन जानकारी सार्वजनिक गर्थ्यो तर असोज ९ पछि यस्तो विवरण सार्वजनिक गर्न छाडिएको छ ।

‘बेड नपाएर अस्पतालको कोभिड इमर्जेन्सीमा थुप्रिन र मर्न थालिसके बिरामी । ११३३ मा फोन उठ्दैन । बिरामीका आफन्तले संक्रमितलाई अस्पतालको गेटमा छोडेर जान्छु भन्छन्,’ डा. पटेलले फेसबुकमा लेखेका छन् ।

पाटनकै डा.यज्ञ पोखरेलले तीन दिनअघि नै फेसबुकमा अस्पतालमा आईसीयू अभाव भएको धेरै भइसकेको लेखेका छन् । ‘पाँच जना सिकिस्त बिरामी इमर्जेन्सीमा हुनुहुन्छ, सबैलाई आर्ईसीयू चाहिएको छ,’ उनले स्टाटस लेखेका छन्, ‘६ बेडको कोभिड इमर्जेन्सीमा ५ बेड उहाँहरूले नै लिएपछि अब अर्को बिरामी कहाँ राख्ने ? सरकारले गर्न सक्ने गरिसक्यो । योभन्दा बढी सरकारबाट आशा छैन, विश्वास छैन । अस्पतालमा अब त जनरल बेड नि अभाव हुन थाल्यो ।’

पाटन अस्पताल प्रशासनका अनुसार आइतबार १८ जना आईसीयूमा र १४ जना भेन्टिलेटरमा उपचाररत छन् । कोरोना संक्रमितका लागि १५ वटा आईसीयू र ७ वटा भेन्टिलेटर छुट्याइएको शिक्षण अस्पताल महाराजगन्जमा पनि खाली छैन । ‘आईसीयूका लागि आइतबार १४ वटा फोन आएको थियो । दुई जनालाई मात्रै व्यवस्थापन गर्न सक्यौं,’ अस्पतालका कोभिड कोर्डिनेटर डा. सन्तकुमार दासले भने । सातवटा भेन्टिलेटरमध्ये ३ वटामा बिरामी रहेको उनले जानकारी दिए ।

कोरोना संक्रमितको मात्रै उपचार हुने टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्रमण रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले आईसीयूका २० शय्या सबैमा गम्भीर खालका संक्रमित भर्ना भएको बताए । ‘गम्भीर खालका संक्रमित बढ्न थालेका छन् । उनीहरूलाई आईसीयूको जरुरी पर्छ । तर व्यवस्थापन गर्न गाह्रो भएको छ,’ उनले भने, ‘केही बिरामी बेड खाली हुने प्रतीक्षामा छन् ।’ सरकारले लक्षण भएकालाई मात्रै अस्पताल भर्ना गर्न पाइने व्यवस्था गरेको छ ।

सरकारी अस्पतालमा शय्या अभाव भएपछि संक्रमितहरू निजी अस्पतालमा समेत भर्ना भएका छन् । नर्भिक, स्टार, ग्रान्डी, ह्याम्स, अल्का, बीएन्डबी, जनमैत्री, मेघा, बयोधा लगायतका निजी अस्पतालमा संक्रमितको उपचार भइरहेको हो । ह्याम्स अस्पतालमा संक्रमितलाई छुट्याइएको १७ बेडको आईसीयू नै भरिएको निर्देशक डा.ज्योतिन्द्र शर्माले बताए । ‘सास फेर्न गाह्रो भएका बिरामी आउँछन् । बेड खाली नभए फर्काउनुपर्दा दुःख लाग्छ,’ उनले भने, ‘केही त पीडा खपेर आईसीयू खाली हुने दिन पर्खेर बसेका छन् ।’ नर्भिक अस्पतालका कोभिड कोअर्डिनेटर डा. अजय खड्काले १५ वटै आईसीयू भरिएकाले हरेक दिन ५/६ जना गम्भीर खालका बिरामी फर्काउनुपरेको बताए । ‘आईसीयूको बेर्ड खाली हुनेबित्तिकै मलाई राख्नुपर्‍यो भन्छन्,’ उनले भने, ‘केही हाम्रै अस्पतालको वार्डमा छन्, कोही अन्य अस्पतालमा उपचाररत छन् ।’ आइतबार पनि भैरहवा, वीरगन्ज र बुटबलबाट समेत आईसीयूका लागि फोन आएको उनले बताए ।

देशैभरि २ सय २६ जना आईसीयूमा र ३४ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । आईसीयूमा उपचाररतमध्ये सबैभन्दा बढी वाग्मतीमा १ सय १२ जना छन् । प्रदेश १ मा २८, प्रदेश २ मा १७, गण्डकीमा ६, प्रदेश ५ मा ४४, कर्णालीमा १५ र सुदूरपश्चिममा ४ जना आईसीयूमा छन् । भेन्टिलेटरतर्फ वाग्मतीमा २७, प्रदेश १ मा १ जना, प्रदेश ५ मा ६ जना छन् । आईसीयू र भेन्टिलेटर चाहिने बिरामीको संख्या बढ्दै गएको छ । मुलुकभरमा २२ हजार २ सय १९ सक्रिय संक्रमति छन् । यसमध्ये अस्पताल र विभिन्न आइसोलेसन सेन्टरमा १० हजार ३ सय २६ जना छन् ।

मन्त्रालयले भदौ ५ मा सार्वजनिक गरेको विवरणअनुसार मुलुकभर ९ सय ८४ आईसीयू शय्या छन् । भेन्टिलेटरको संख्या ४ सय ९० छ ।

६ हजार ‘हाई डिपेन्डेन्सी युनिट’ थपिँदै

स्वास्थ्य मन्त्रालयमा आइतबार भएको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले मुलुकभर ६ हजार ‘हाई डिपेन्डेन्सी युनिट’ थप गर्ने निर्णय गरेको छ । ‘यो युनिट आईसीयू होइन । जनरल वार्डभन्दा सुविधा सम्पन्न हुन्छ । क्रिटिकल नभएका बिरामीलाई यो युनिटमा राखेर उपचार गर्न सकिन्छ,’ प्रवक्ता डा. गौतमले भने, ‘यो युनिटमा मुटुको धड्कन र रगतमा अक्सिजनको मात्रा हेर्न मिल्ने कार्डियो मोनिटर जडान गरिएको हुन्छ ।’

जनरल वार्डमा राख्न नहुने र आईसीयू नचाहिने तर चिकित्सकको २४ सै घण्टा निगरानी चाहिने संक्रमितलाई हाई डिपेन्डेन्सी युनिटमा राखेर उपचार गर्न लागिएको उनले बताए । आईसीयूबाट जनरल वार्डमा सिधै सार्न नमिल्ने बिरामीलाई पनि यही युनिटमा राखेर उपचार गर्न खोजिएको उनले जानकारी दिए ।

एउटा प्रदेशमा ५ सयका दरले ३ हजार ५ सय र काठमाडौं उपत्यकामा २ हजार ५ सय यस्ता युनिट बिस्तार गरिने डा. गौतमले बताए । ‘बजेट व्यवस्था भइसकेको छ । ढिलाइ नगरी खरिद प्रक्रिया अघि बढाउँछौं,’ उनले भने ।

प्रकाशित : आश्विन १९, २०७७ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?