कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामाजिक सुरक्षा भत्ता अनियमितताबारे छानबिन गर्न विभागको निर्देशन

डम्बरसिं राई

खोटाङ — गृह मन्त्रालय राष्ट्रिय परिचय पत्र तथा पन्जीकरण विभागले सामाजिक सुरक्षा भत्तामा अनियमितता छानबिन अघि बढाउन साकेला गाउँपालिकालाई निर्देशन दिएको छ । 

सामाजिक सुरक्षा भत्ता अनियमितताबारे छानबिन गर्न विभागको निर्देशन

पालिकामा सामाजिक सुरक्षा भत्तामा अनियमितताबारे खुलासा भएपछि विभागले छानबिन गरी ७ दिनभित्र प्रतिवेदन दिनेगरी बुधबार पत्राचार गरेको हो । यसबारे छानबिन गरी प्रतिवेदन बुझाउन गाउँपालिका उपाध्यक्ष सरिता खड्कालाई जिम्मेवारी दिइएको गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्काले जानकारी दिए । उक्त विषयमा वडा नं ४ का वडाअध्यक्ष कृष्णप्रसाद भट्टराई, वडामा काम गरेका वडा सचिवहरुको नाम मुछिएको स्थानीयले गुनासो गरेका छन् ।

सामाजिक सुरक्षा भत्तामा पछिल्लो समय मात्र नभएर २०७० सालदेखि नै पारदर्शी नदेखिएकाले छानबिन गरिने गाउँपालिका अध्यक्ष खड्काले सुनाए । उक्त पालिकामा सामाजिक सुरक्षा ऐन २०९५, तथा सामाजिक सुरक्षा नियमावली २०७६, को अधिनमा रही अनुगमन गर्ने क्रममा सामाजिक सुरक्षामा अनियमितता भएको खुलासा भएको गाउँपालिका अध्यक्ष खड्काले बताए । उनका अनुसार पालिकाको वडा नं २ रतन्छा र वडा नं ३ खिदिमाबाहेकका वडामा सामाजिक सुरक्षा भत्तामा अनियमितता देखिएको छ । वडा नं १ बाँझेच्यानडाडाँ, वडा नं ४ मात्तिम (माथिल्लो) र वडा नं ५ मात्तिम (तल्लो) मा पनि अनियमितता देखिएको खडकाको भनाइ छ ।

साकेला गाउँपालिका–४ मात्तिमका दलबहादुर कार्कीका अनुसार २०७४ माघ २३ गते मृत्यु भएका आफ्ना बुवा गङ्गाबहादुर कार्कीको बृद्धभत्ता अझै निकासा भइरहेको छ । उनका अनुसार बुवाको मृत्यु हुनासाथ वडाध्यक्ष कृष्णप्रसाद भट्टराईलाई बुवाको बृद्धभत्ता पट्टा बुझाएका थिए । तर मृत्यु दर्ता गरे पनि अझै बृद्धभत्ता कर्मचारीले निकासा गरेर खाइरहेको भन्दै कार्कीले गुनासो गरे । ‘बुवाको मृत्यु हुनासाथ वडाध्यक्षलाई सामाजिक सुरक्षाभत्ता थाप्ने पट्टा बुझाएको थिए,’ कार्कीले भने–‘तर कर्मचारीले अझै निकासा गरिरहेको रहेछ ।’

त्यस्तै २०७१ सालमा मृत्यु भएका उक्त वडाकै सङ्ग्रामध्वज राईको वृद्धभत्ता पनि निकासा भइरहेको थाह पाएपछि आफूलाई आश्चर्य लागेको छोरा वीरेन्द्र राईले बताए । बुवाको मृत्युपछि मृत्यु दर्ता प्रमाणपत्र आफूसँग भएको राईले सुनाए । २०७५ पुस १५ मृत्यु भएको मनमाया खड्काको वृद्धभत्ता पनि अझै निकासा भइरहेको खुलासा भएको छ ।

२०७२ वैशाख ९ गते मृत्यु भएको पदमबहादुर खड्काको पनि वृद्धभत्ता निकासा भइरहेको पाएपछि आफूलाई अचम्म लागेको छोरा मदनबहादुर खड्काले सुनाए । मृत्यु भइसकेकाहरुको किर्ते औंठा छाप लगाएर प्रतिव्यक्ति एक चौमासिक १२ हजारका दरले रकम निकासा भइरहेको गुनासो आएको गाउँपालिका अध्यक्ष खड्काले बताए ।

अनियमितता भएको विषयमा वडा नं ४ का वडाअध्यक्ष भट्टराईले भने आफू संलग्न नरहेको दाबी गरेका छन् । सामाजिक सुरक्षा लगायतका रकम निकासा गर्ने दायित्व पन्जीका अधिकारीको हुने भएकाले यसमा संलग्न नरहेको वडाअध्यक्ष भट्टराईको भनाइ छ ।

सामाजिक सुरक्षाभत्तामा अनियमितता भएको थाहा भएपछि गाउँपालिकाले लाभग्राहीको नामावली सार्वजनिक गरेको अध्यक्ष खड्काको भनाइ छ । मृत्यु भएका, बसाइँ सरेका, दोहोरो सुविधा लिएका वा अन्य व्यक्तिको नाममा गलत कागजात तयार गरेर सामाजिक सुरक्षाभत्ता दुरुपयोग भएपछि नामावली सार्वजनिक गरिएको अध्यक्ष खड्काले सुनाए ।

उक्त गाउँपालिकाले आफ्नो वेबसाइटमार्फत पाँच वटै वडाका सामाजिक सुरक्षाभत्ता पाउने १ हजार २ सय १४ जनाको नामावली सार्वजनिक गरेको छ । दाबी/विरोधका लागि वडा नम्बर–१ बाँझेच्यानडाँडाका ३ सय ५५ जना, वडा नम्बर–२ रतन्छाका २ सय ९८ जना, वडा नम्बर–३ खिदिमाका १ सय २७ जना, वडा नम्बर–४ मात्तिमका २ सय ५९ जना र वडा नम्बर–५ मात्तिमका १ सय ७५ जनाको नामावली सार्वजनिक गरिएको छ ।

अघिल्लो चौमासिकमा १ करोड ६५ लाख निकासा भएकोमा नक्कली व्यक्तिको नाम कटाउँदा १ करोड १९ लाख ३६ हजार रुपैयाँमा झारिएको अध्यक्ष खड्काले सुनाए । यसमध्ये वडा नं १ बाँझेच्यानडाडाँमा ४४ लाखबाट ३६ लाख ५७ हजार, वडा नं ४ मात्तिम (माथिल्लो)मा ४२ लाखबाट २१ लाख २० हजार र वडा नं ५ मात्तिम (तल्लो)मा ३७ लाखबाट १९ लाख रुपैयाँमा झारिएको अध्यक्ष खड्काले सुनाए ।

प्रकाशित : आश्विन १५, २०७७ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?