कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फर्जी परीक्षा चलाएर लाखौं असुल्ने नक्कली इन्सपेक्टर !

‘प्रहरी नायब निरीक्षक (सई) इन्चार्ज हुने प्रहरी चौकीमा उनले ‘स्यालुट’ पनि खान्थे,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत भन्छन्, ‘प्रहरीकै सईहरुले समेत उनी नक्कली इन्सपेक्टर हुन् भन्ने चाल पाएनछन् ।’
भूषण यादव

वीरगन्ज — प्रहरी निरीक्षक(इन्सपेक्टर) को बर्दी लगाएर लोक सेवा आयोगबाट हुने प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको लिखित परीक्षा लिइरहेका एक व्यक्तिलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

फर्जी परीक्षा चलाएर लाखौं असुल्ने नक्कली इन्सपेक्टर !

विशेष सूचनाको आधारमा वीरगन्ज महानगरपालिका–१६ स्थित देव पार्टी प्यालेसमा प्रहरीले बुधबार मध्यान्ह छापा मारी इन्सपेक्टरको बर्दी लगाएका बारा जितपुर सिमरा उपमहानगरपालिका–७ चौधरी टोल निवासी २९ वर्षीय अजयकुमार रायलाई नियन्त्रणमा लिएको डीएसपी मनोजित कुँवरले जनाए ।

‘पार्टी प्यालेसमा प्रहरी पुग्दा रायले बर्दी लगाएर परीक्षा सञ्चालन गरिरहेका थिए,’ पर्सा प्रहरीका प्रवक्ता समेत रहेका डीएसपी कुँवरले भने, ‘प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धानको सहायक सूचक र खरिदार पदका लागि २१ जनाले परीक्षा दिइरहेका थिए ।’

पर्सा, बारा र सर्लाहीका परीक्षार्थीसँग रायले फर्म र परीक्षाका लागि भन्दै कूल तीन लाख ६१ हजार रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । नक्कली प्रहरी सहायक निरीक्षकको प्रवेश पत्र दुई थान, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको प्रवेश पत्र २१ थान, खरिदारको प्रवेश पत्र एक थान र २६ थान प्रश्न पत्रसहित इन्सपेक्टरको पोसाकमा रायलाई पक्राउ गरिएको डीएसपी कुँवरले जनाए ।

राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको नक्कली प्रवेश पत्र

परीक्षा हलबाट जितपुर सिमरा उपमहानगरपालिका– ५ निवासी हिरालाल महतो, बसन्त चौधरी, वीरगन्ज– १६ का २१ वर्षीय रविकुमार चौरसिया, पकाहामैनपुर गाउँपालिका– ५ सबैठवाका शिव नारायण चौरसिया, वीरगन्ज– ११ रानीघाट निवासी २५ वर्षीय रामजी चौरसियालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुको भूमिकाबारे थप अनुसन्धान भइरहेको डीएसपी कुँवरले बताए ।

राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदका लागि भन्दै अजयले बनाएको प्रश्नपत्र

वीरगन्ज महानगरपालिका– ३१ निवासी २६ वर्षीय सुनिल चौरसियाले राष्ट्रिय अनुसन्धानको सहायक सूचक पदका लागि रायलाई दुई महिना अगाडि २६ हजार रुपैयाँ बुझाएका थिए । ‘जितपुरकै एउटा साइबर क्याफेमा अजय रायसँग चिनजान भएको थियो,’ चौरसिया भन्छन्, ‘पास भएपछि थप एक लाख दिने कुरा थियो, बुधबार परीक्षा दिने क्रममा प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएपछि ठगिएको थाहा पाए ।’

अजयले तयार पारेको प्रहरी सहायक निरीक्षकको नक्कली प्रवेश पत्र

यसैगरी पर्साको पकाहामैनपुर गाउँपालिका लहावरथकरी निवासी राकेश चौरसियाले एक महिना अगाडि देव पार्टी प्यालेसमा आएर एक लाख ५० हजार रुपैयाँ दिएका थिए । परीक्षार्थीहरुलाई वीरगन्जको घण्टाघरमा बुधबार साढे ९ बजे भेला गराएर पार्टी प्यालेस लगेका थिए ।

‘जितपुर सिमरामा रायलाई सबैले इन्सपेक्टर नै भनेर चिन्नथे,’ रायकी छिमेकी एक पीडित युवती भन्छिन्, ‘कतिपटक उनी प्रहरीकै गाडी चढेर घर आउँथे ।’ ती युवतीलाई पनि रायले परीक्षामा सहभागी गराएका थिए । जितपुर सिमरामा मात्र नभई रायले पर्साका विभिन्न प्रहरी चौकीहरुमा आफू इन्सपेक्टर भएको परिचय दिने गरेका थिए ।

‘प्रहरी नायब निरीक्षक (सई) इन्चार्ज हुने प्रहरी चौकीमा उनले ‘स्यालुट’ पनि खान्थे,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत भन्छन्, ‘प्रहरीकै सईहरुले समेत उनी नक्कली इन्सपेक्टर हुन् भन्ने चाल पाएनछन् ।’ यसअघि सरकारी छाप दस्तखत किर्ते मुद्दामा अजय राय पुर्पक्षका लागि तीन महिना २० दिन वीरगन्ज कारागारमा कैद सजाय भुक्तान गरेका थिए । रायमाथि ठगी मुद्दा चलाइने डीएसपी कुँवरले बताए ।

प्रकाशित : आश्विन १५, २०७७ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?