कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छोरी खोजिदेऊ भन्दै आमा धर्नामा

कान्तिपुर संवाददाता

नेपालगन्ज — हातमा छोरीको फोटो लिएर जिल्ला प्रशासन कार्यालय बाँकेको परिसरमा बुधबार ४५ वर्षीया ताहिरा दर्जी निराश मुद्रामा भेटिइन् । नेपालगन्ज–१७ नन्नदई गाउँकी ताहिरा भदौ २५ देखि हराइरहेकी छोरी प्रहरीले खोजी नगरिदिएपछि प्रशासनमा धर्ना दिन पुगेकी हुन् ।

२० वर्षीया छोरी हराउँदा शंका लागेको व्यक्तिको नामसमेत किटान गरी जाहेरी दिँदासमेत प्रहरीले दर्ता गर्न आनाकानी गरेको उनले सुनाइन् । ‘प्रहरीले जाहेरी दर्ता गरेन,’ उनले भनिन्, ‘छोरी कहाँ कुन अवस्थामा छ, अहिलेसम्म अत्तोपत्तो छैन ।’

ताहिराले गाउँका दुई युवकविरुद्ध प्रहरीमा मानव बेचबिखन तथा ओसारपसार एवं जबरजस्ती करणीमा जाहेरी दिएकी हुन् । यस्तै, नेपालगन्ज–१९ सुर्जीगाउँकी विद्या वारीले आफ्नी ७ वर्षीया छोरीलाई २ महिनासम्म छिमेकी रामकुमार कल्वारले दुर्व्यवहार गरेको थाहा पाइन् । सुरुमा छोरी अनि परिवारको इज्जत जाने डरले कसैलाई भन्ने आँट गरिनन् । तर, त्यो क्रम रोकिएन ।

भदौ २ मा फेरि रामकुमार कल्वारका छोरा नन्द कल्वारले छोरीलाई दुर्व्यवहार गर्न खोज्दा छोरी कराएपछि गाउँलेले उनलाई बचाए । रामकुमारलाई कारबाहीको माग गर्दै वारी भदौ ८ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा पुगिन् । जाहेरी प्रहरीले जाहेरी दर्ता नगरेको उनको पनि गुनासो छ । ‘प्रहरीले उल्टै झूटा आरोप लगाउने भन्दै थानामा राखिदिन्छु भन्दै हप्काउँछन्,’ उनले भनिन्, ‘कलवारका बाबुछोरा घरमै आएर हामीलाई धम्क्याउँछन् । हामी गरिबलाई पनि न्याय चाहियो ।’

यसरी प्रहरीबाट न्याय नपाएका मधेसी र मुस्लिम महिला मिलेर बुधबार हातमा ब्यानर बोकेर धर्ना दिन प्रशासन पुगेका हुन् ।

प्रकाशित : आश्विन १५, २०७७ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?